Logo

दोस्रो चरणका हाइप्रोफाइल मतदाता



काठमाडौं १५ असार । प्रधानमन्त्री शेरबहादुर देउवाले डडेल्धुराको गन्यापधुरा गाउँपालिका–१ स्थित असीग्राम उच्च माविको मतदान केन्द्रमा मतदान गर्नुभएको छ । चुनावका लागि प्रधानमन्त्री छ दिनअघि नै गृहजिल्ला पुग्नुभएको थियो । प्रधानमन्त्री पत्नी आरजु राणाले पनि सोही मतदान केन्द्रमा मत दिनुभएको छ ।
सभामुख ओनसरी घर्तीले रोल्पाको लिवाङ नगरपालिका–७ मा रहेको बालउदय मावि मतदान केन्द्रबाट मतदान गर्नुभएको छ । उहाँका पछि माओवादी केन्द्रका नेता वर्षमान पुनले पनि सोही मतदान केन्द्रमा मत खसाल्नुभएको छ ।

उपप्रधानमन्त्री कृष्णबहादुर महराले रोल्पा नगरपालिका–१, दामरुकको तारा माध्यमिक विद्यालय केन्द्रबाट मतदान गर्नुभएको छ । अर्का उपप्रधानमन्त्री विजयकुमार गच्छदारले सुनसरीको दुहबी नगरपालिका–२ स्थित नवीन शिक्षा निकेतन आधारभूत विद्यालय केन्द्रबाट मतदान गर्नुभएको छ ।
पूर्वप्रधानमन्त्री एवं एमाले वरिष्ठ नेता झलनाथ खनालले इलामको सूर्योदय नगरपालिका–९ स्थित राष्ट्रिय आधारभूत माध्यमिक विद्यालय केन्द्रमा मतदान गर्नुभएको छ । एमाले उपाध्यक्ष वामदेव गौतमले बर्दियाको बाँसगढी–८ स्थित त्रिभुवन उच्च मावि मतदान केन्द्रबाट मतदान गर्नुभएको छ ।

एमालेकै अर्का उपाध्यक्ष भीम रावलले अछामको साँफेबगर नगरपालिका–६, स्थित चन्द्रोदय आधारभूत विद्यालय केन्द्रबाट मतदान गर्नुभएको छ । पूर्वसभामुख सुवासचन्द्र नेम्बाङले इलाम नगरपालिका–७ सुन्तलाबारीस्थित बालमन्दिर आधारभूत विद्यालय केन्द्रबाट मतदान गनुभएको छ ।
सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले विराटनगरको डिग्री क्याम्पसबाट मतदान गर्नुभएको हो । काँग्रेस नेता कृष्णप्रसाद सिटौलाले झापाको भद्रपुर नगरपालिका–१०, कलवलगुडी केन्द्रबाट मतदान गर्नुभएको छ । दोस्रो चरणको निर्वाचनको एकमात्र महानगर विराटनगरमा दलका वरिष्ठ नेता र पूर्वमन्त्रीले मतदान गर्नुभएको छ । काँग्रेस नेता शेखर कोइराला, सुजाता कोइरालाले विराटनगर महानगरपालिका–७ मा रहेको आदर्श स्कुल केन्द्रबाट मतदान गर्नुभएको छ । महानगरका मतदातामा पूर्वमन्त्रीहरू महेश आचार्य, मीनेन्द्र रिजाल, लालबाबु पण्डित लगायतका नेताहरू हुनुहुन्छ ।

राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको अनुपस्थितिमा छिटफुट घटनाबाहेक शान्तिपूर्ण रूपमा प्रदेश १, ५ र ७ मा बुधबार निर्वाचन सम्पन्न भयो । बाँकी रहेको प्रदेश नम्बर २ का आठ जिल्लामा रहेका स्थानीय तहमा आउँदो असोज २ गते निर्वाचन हुनेछ । दुई दशकपछि वैशाख ३१ गते ३४ जिल्लाका २८३ स्थानीय तहमा निर्वाचन सम्पन्न भएको थियो । भरतपुर महानगरपालिकाबाहेक मतदान भएका सम्पूर्ण स्थानीय तहका जनप्रतिनिधिले दैनिक प्रशासन सुरु गरिसकेका छन् ।

बीस वर्षपछिको प्रतीक्षामा भएको निर्वाचनमा झरीको बेवास्ता गर्दै मतदाता छाता ओढेर मतदान केन्द्र पुगेका थिए । दोस्रो चरणको स्थानीय निर्वाचनले दलीय संयन्त्र र कर्मचारीतन्त्रको हातमा रहेको स्थानीय सत्ता जनप्रतिनिधिको हातमा पु¥याउने मार्गचित्रलाई थप बलियो बनाएको छ । संविधानले परिकल्पना गरेको राज्यको तीन तहमध्ये आधारभूत लोकतन्त्रको आधार मानिएको स्थानीय तहले मूर्त रूप लिँदा जनता खुसी देखिएका छन् । निर्वाचनमार्फत मौलिक रूपमा आफ्ना प्रतिनिधि छान्ने प्रक्रियालाई दोस्रो चरणको निर्वाचनबाट उनीहरूले थप संस्थागत गरेका छन् ।
जनप्रतिनिधि नभई कर्मचारी र दलीय संयन्त्रको भरमा १५ वर्षदेखि चलेको स्थानीय निकाय नयाँ संरचनामा शक्तिशाली रूपमा उदाएका छन् । स्थानीय लोकतन्त्रसँगै जनताका आधारभूत सेवा प्राप्तिका दृष्टिले स्थानीय तहको निर्वाचन ऐतिहासिक बनेको छ । पहिलो चरणको निर्वाचनबाट सुरु भएको जनताको सत्ता जनप्रतिनिधिमा फर्काउने अभ्यासले थप सफलता पाएको छ ।
बीस वर्षपछिको स्थानीय लोकतन्त्रको अभ्यास राजनीतिक र रणनीतिक दुवै हिसाबले पृथक् छ । सङ्घीय संरचनामा पहिलोपटक भएको निर्वाचनले स्थानीय कार्यपालिका, व्यवस्थापिका र न्यायालय (न्यायिक समिति)को खाका कोरेको छ । जनताका आधारभूत सेवा र अधिकार प्राप्तिका हिसाबले सङ्घीय संरचनामा भएको निर्वाचन कोशेढुङ्गा छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot