Logo

प्रारम्भिक मतगणनामा : प्रमुख दुई दल एमाले र कांग्रेसबीच टक्क



काठमाडौं १६ असार ।
स्थानीय तहको दोस्रो चरण निर्वाचनको प्रारम्भिक मतगणनामा पनि प्रमुख दुई दल एमाले र कांग्रेसबीच टक्कर देखिएको छ । दुवै दलले बझाङका एक/एक गाउँपालिका प्रमुखमा जितेर विजयी खाता खोलेका छन् । बझाङको काँडा गाउँपालिकामा कांग्रेसका राजेन्द्र बोहोरा र मस्टा गाउँपालिका प्रमुखमा एमालेका कर्णबहादुर कठायत विजयी भएका हुन् । माओवादी केन्द्रले भने सोलुखुम्बुबाट जीत सुरुवात गरेको छ ।

निर्वाचन आयोगका अनुसार बिहीबार साँझसम्म ३ सय ७ भन्दा बढी स्थानको मतगणना भइरहेको छ । उक्त गणनाको पछिल्लो परिणामअनुसार एमालेले अग्रता लिएको छ । कांग्रेसले पनि उसलाई टक्कर दिइरहेको छ । राति १० बजेसम्मको मतगणना परिणामअनुसार एमालेले ८६ स्थानमा अग्रता हासिल गरिरहेको छ भने कांग्रेस ८१ स्थानमा अगाडि छ । माओवादी केन्द्र भने दुई दलको तुलनामा निकै पछाडि छ । २५ स्थानमा मात्रै अगाडि देखिएको छ । १२ स्थानमा भने संघीय समाजवादी फोरम, फोरम लोकतान्त्रिकलगायतका दलको अग्रता छ । प्रदेश नं १, ५ र ७ का ३ सय ३२ स्थानमा बुधबार दोस्रो चरणको निर्वाचन भएको हो । दुई स्थानमा भने मतदान स्थगित भएको छ ।कान्तिपुरबाट

प्रादेशिक हिसाबले १ र ५ नम्बर प्रदेशमा एमाले अगाडि छ भने प्रदेश ७ मा कांग्रेस । दोस्रो चरणमा भएको निर्वाचनमा १ महानगर र ७ उपमहानगरपालिका छन् । ती सबैमा मतगणना भइरहेको छ । ढिलो गरी मतगणना सुरु भएको विराटनगर महानगरमा कांग्रेसले अग्रता लिएको छ । उपमहानगरहरूको पनि मतपरिणाम आउने क्रम जारी छ । घोराही, तुलसीपुर, नेपालगन्ज उपमहानगरमा एमालेको अग्रता छ भने बुटवल, धनगढी, इटहरी र धरान उपमहानगरमा कांग्रेसको अग्रता छ । झिनो मतको अन्तरमा अग्रता भएकाले कांग्रेस र एमालेका उम्मेदवारको मत छिनछिनमा तलमाथि भइरहेको छ । धनगढी उपमहानगरमा स्वतन्त्र उम्मेदवार गोपाल हमालले टक्कर दिइरहेका छन् ।

७ नम्बर प्रदेशको कैलाली र १ नम्बर प्रदेशको सुनसरीमा विजयकुमार गच्छदार नेतृत्वको फोरम लोकतान्त्रिकका उम्मेदवारले ठूला दलका उम्मेदवारलाई उछिनिरहेका छन् । त्यहाँका केही गाउँपालिका र नगरपालिकामा लोकतान्त्रिकले अग्रता कायम गरेको छ भने केहीमा टक्कर दिइरहेको छ । ५ नम्बर प्रदेशका रोल्पा, रुकुम तथा १ नम्बरको ओलढुंगा, भोजपुरलगायतमा माओवादी केन्द्रका उम्मेदवारले अग्रता र टक्कर दिइरहेका छन् । मतगणनामा भएको सुस्तताका कारण अन्तिम मत परिणाम आउन भने केही दिन लाग्नेछ । पहिलो चरणको चुनावमा मतगणना ढिलाइ भएका कारण आयोगले यसपटक सुधार्ने प्रतिबद्धता जनाए पनि मतगणनाले गति लिन सकेको छैन ।

प्रारम्भिक परिणाम हेर्दा पहिलो चरणको निर्वाचनमा एमालेसँगको अन्तरलाई कांग्रेसले घटाउन सक्ने छनक देखिएको छ किनभने पहिलो चरणको निर्वाचनमा पनि प्रारम्भिक अग्रता जसरी सुरुवात भएको थियो, परिणाम पनि त्यही शैलीमा निस्किएको थियो । यसपटक दुई दलको अग्रतामा झिनो मात्रै अन्तर छ । पहिलो चरणको निर्वाचनमा एमालेले १ सय २५ स्थान, कांग्रेसले १ सय ४, माओवादी केन्द्रले ४६, राप्रपाले १ र अन्य दल र स्वतन्त्रले ६ वटा स्थानीय तहमा प्रमुख जितेका थिए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot