Logo

अस्पतालमाबिचौलियाको बिगबिगी



काठमाडौं १८ असार ।
: घटना १ : असार १२ गते झापाको कन्काई अस्पतालमा उपचारक्रममा पाँचमहिने सुवाङ राईको मृत्यु भयो । चिकित्सकको लापरबाहीले मृत्यु भएको भन्दै पीडितले क्षतिपूर्ति मागसहित अस्पताल तोडफोड गरे । बालकको उपचारमा गल्ती भएको थियो/थिएन, त्यसबारे कुनै अनुसन्धान नगरी अस्पतालले आफ्नो साख जोगाउन एक लाख रुपैयाँ मृतक पक्षलाई थमायो ।

घटना २ : जेठ २० गते ललितपुरको मिडाट अस्पतालमा पाठेघरको शल्यक्रिया गर्नेक्रममा आन्द्रा काटिएर पूर्णकुमारी श्रेष्ठको मृत्यु भएपछि अपरिचित समूह अस्पताल तोडफोडमा उत्रियो । वास्तविक पीडित भने शोकमा डुबिरहेका थिए । घटनाको अनुसन्धानबारे कुरै भएन । बरु २५ लाख रुपैयाँ क्षतिपूर्ति दिन अस्पताल सहमत भएपछि केहीबेरमै त्यो समूह शान्त भयो ।
घटना ३ : गत वर्ष भक्तपुरको नागरिक कम्युनिटी टिचिङ अस्पतालमा उपचारक्रममा मीना विश्वकर्माको मृत्यु भयो । आन्दोलनकारीले हुलदंगा गरेपछि अस्पताल मृतक पक्षलाई दुई लाख दिन सहमत भयो । त्यो मृत्युबारे छानबिन भएको भए सायद त्यस्तै घटना यसपालि दोहोरिने थिएन ।

उपचारक्रममा दोलखाकी ३८ वर्षीया उषा बस्नेतको मृत्युपछि लाखौंको क्षति हुने गरी अस्पताल तोडफोड भयो । मृतक पक्षले आफ्नो मान्छे तोडफोडमा संलग्न नरहेको र उल्टै नचिनेका मानिसले क्षतिपूर्ति माग्न आफूहरूलाई उक्साएको दाबी गरे । आक्रोशित आन्दोलनकारीसँग डराएर चिकित्सक र नर्स मात्र होइन, अन्य बिरामी पनि लुक्नुपर्‍यो ।
घटना ४ : केही वर्षपहिले तनहुँको लक्ष्मी अस्पतालमा शल्यक्रिया गरेको केही समयमै स्थानीय निर्मला श्रेष्ठको मृत्यु भयो । त्यसपछि चर्केको विवादलाई पनि पैसासँग मिलाइयो । क्षतिपूर्तिका लागि आन्दोलनकारीले अस्पताल र चिकित्सकमाथि आक्रमण मात्रै गरेनन्, राजमार्ग नै अवरुद्ध पारिदिए । त्यहाँ पनि पीडितले नचिनेका अनुहार धेरै थिए । घटना छानबिन भएन बरु अस्पतालले ५० लाख रुपैयाँ क्षतिपूर्ति दिन उचित ठान्यो ।

यस्ता घटनाबाट हिजोआज कुनै पनि अस्पताल अछुतो छैनन् । काठमाडौंमा नाम चलेका ओम, नर्भिक, बयोधा, न्यूरो, कान्ति, टिचिङ, नेपाल मेडिकल कलेज, काठमाडौं मेडिकल कलेजमा यस्ता घटना दोहोरिइरहेका छन् । नेपाल मेडिलक काउन्सिलमा ओम, नेपाल मेडिकल कलेज र टिचिङविरुद्ध ५० देखि एक करोडसम्म क्षतिपूर्ति माग गर्दै उजुरी परेका छन् । यस्तै उपभोक्ता हित संरक्षण मञ्चमा पनि सयौं बिरामीले क्षतिपूर्ति माग गर्दै उजुरी हालेका छन् ।

बिरामीको मृत्युलगत्तै अस्पतालमा हुलदंगा हुन्छ तर अनुसन्धान नै नगरी क्षतिपूर्ति दिएर घटना सामसुम पारिन्छ ।
बिरामीको मृत्युपछि उत्पन्न हुने असहजतालाई साम्य पार्न कतिपय अस्पतालले सार्वजनिक रूपमै क्षतिपूर्ति दिएको घोषणा गरेका छन् भने कतिपयले गुपचुप लाखौं रुपैयाँ दिएर मिलाउने गरेका छन् । कतिपय अस्पतालले मृतकको उपचार खर्च मिनाह गर्ने, उनीहरूको परिवारलाई निःशुल्क उपचार गराउने वाचासमेत गरेका छन् ।

खासगरी यस्ता घटना ०६२/६३ को जनआन्दोलनपछि अत्यधिक बढेका छन् । शान्ति क्षेत्र घोषित अस्पताल र चिकित्सक बिचौलिया समूहको आक्रमणको तारो बनेका छन् । बुटवलमा उपचारक्रममा बिरामीको मृत्युलाई लिएर डा. श्रीकृष्ण गिरीलाई मोसो लगाएर अर्धनग्न अवस्थामा सडकमा निकालेर ज्यादती गरियो । उक्त घटनाको चर्चा अहिले पनि चिकित्सा क्षेत्रमा हुने गर्छ ।
नेपाल मेडिकल एसोसिएसनका पूर्वअध्यक्ष डा. केदारनरसिंह केसी डाक्टर गिरीलाई आक्रमण गर्ने समूहको छानबिन र कारबाहीमा सरकारले बेवास्ता गर्दा त्यसयता आन्दोलनकारीको मनोबल बढेको बताउनुहुन्छ ।
त्यसपछि काठमाडौंमा डा. सुवोध अधिकारीमाथि भएको आक्रमणलाई दुःखद घटनाका रूपमा लिइन्छ । बानेश्वरस्थित एभरेस्ट नर्सिङहोममा प्यांक्रियाटाइसीबाट ग्रसित एक महिलालाई आर्थिक अवस्थाका कारण वीर अस्पताल लगेर उपचार गर्न खोज्दा मृत्यु भएको घटनालाई लिएर आन्दोलनकारीले अस्पतालबाट लाखौं क्षतिपूर्ति असुलेका थिए । तर, घटना गुपचुप राखियो ।
वीरगन्जको नेसनल मेडिकल कलेजमा एक बच्चाको मृत्युमा चिकित्सकले आफ्नो गल्ती नभएको बताएका थिए । मृतकपक्ष सहमत भएर शव निकाल्दै गर्दा एकाएक बिचौलियाको समूह पुग्यो र बच्चाको शव तेस्र्याएर अस्पताल तोडफोडमा उत्रियो । थप क्षतिबाट बच्न अस्पतालले तत्कालै ६ लाख रुपैयाँ दियो । पीडितले भने पूरै पाएनन् ।
यस्तो बिचौलिया समूहले आफ्नो क्षतिपूर्तिलगायत सर्त पूरा नभएसम्म शव नउठाउने, हुलदंगा मच्चाउने, चिकित्सकलाई कुटपिट गर्ने, अस्पताल तोडफोड गर्ने र उपचार सेवा प्रभावित पार्ने गरेका छन् । क्षतिपूर्तिको रकम पीडितलाई केही मात्र दिएर माटो रकम आफैँ लिने गर्छन् । राजनीतिक कार्यकर्ताको मृत्युमा त अस्पतालले झनै धेरै क्षति व्यहोर्नुपरेको छ । यसले गर्दा बिरामीले चिकित्सकमाथि लगाएको आरोपको पुष्टि हुन पाउँदैन ।
अन्नपूर्णपोष्टबाट



प्रतिक्रिया दिनुहोस्