Logo

धनकुटामा बीस वर्षपछि एमालेको साख उस्तै



काठमाडौं १९ असार ।
स्थानीय तहको दोस्रो चरणको निर्वाचन अन्तिम नजितासँगै जिल्लामा एमालेले एक छत्र कब्जा जमाएको छ । जिल्लाका सात तहमा नै उसले जीत हात पारेको छ । तीन नगरपालिका र चार गाउँपालिकामा उक्त पार्टीले मुख्य नेतृत्वसँगै कम्तिमा ९८ प्रतिशत आफ्नो पक्षमा जीत हात पारेको हो ।

विशेषत पञ्चायती शासनकालमा नै वामपन्थी राजनीतिको चलखेल हुने यस जिल्लामा बहुदलीय व्यवस्थापछि त्यसको प्रत्यक्ष प्रभाव देखिदै आएको छ । २०३६ सालको छिन्ताङ हत्याकाण्ड उतिबेलाको भूमिगत वामपन्थीलाई सखाप पार्ने रणनीतिको उदाहारणको रुपमा लिन सकिन्छ ।

पूर्व प्रधानमन्त्री सूर्यबहादुर थापा भर्सेज अन्य दलको अवस्थाले पनि जिल्लाको माहोल बेलाबेलामा तताइरह्यो । २०४६ सालपछिको प्रारम्भिक चरणको राजनीतिमा वामपन्थी शक्तिले प्रभाव जमाउ‘दै आएको छ । २०४८ को पहिलो संसदीय निर्वाचनमा वर्षौ जिल्लाको राजनीतिमा प्रभाव जमाउ‘दै आएका थापालाई पराजित गर्दै दुवै निर्वाचन क्षेत्रमा एमालेले जित हात पारेको थियो ।

यस्तै, २०४९ को स्थानीय निकायको निर्वाचनमा पनि अधिकांश स्थानमा उक्त पार्टी विजयी भयो । तर धनकुटा नगरपालिका भने कांग्रेसको नेतृत्वमा पुगेको थियो । २०५४ को स्थानीय निकायको निर्वाचनमा उक्त नगरसँगै जिल्लाका कम्तिमा ९५ प्रतिशत स्थानमा एमाले विजयी भएको थियो । दुई दशकपछि भएको स्थानीय तहको निर्वाचनमा पुन: एमाले पुरानो स्थान भन्दा अझ दह्रिलो सावित भएको छ ।

गत १४ गतेको स्थानीय तह निर्वाचनको मत परिणाम आइतवार राति अबेरसम्म आइसकेको छ । जसमध्ये धनकुटा, महालक्ष्मी र पाख्रिबास नगरपालिका तथा सॉगुरीगढी, छथर जोरपाटी, चौबिसे र खाल्सा छिन्ताङ सहिदभुमि गाउँपालिकाको मुख्य नेतृत्वसँगै एमालेले जीत हात पारेको छ ।

वर्षौपछिको रिक्ततामा पनि उसले स्थान सुरक्षित राख्न सक्नुमा सांगठनिक पक्ष सुदृढ रहेको सहज अनुमान गर्न सकिन्छ । कतिपय स्थानमा मुख्य राजनैतिक गठबन्धन शक्ति समेत चुनावी मैदानमा उत्रिएपनि मत परिणाम हेर्दा निरिह सावित भएको देखिन्छ । कांग्रेस, संघीय समाजवादी तथा कांग्रेस राप्रपा लगायत गठबन्धन शक्ति प्रतिस्पर्दामा पनि एकल रुपमा उभिएको एमालेले सहज रुपमै जित हात पाऱ्यो । सबै स्थानमा एमाले एकल रुपमा उभिएको थियो ।

२०६४ सालको संविधानसभाको निर्वाचनमा जिल्लाका दुवै स्थानमा विजयी भएको माओवादी केन्द्र समेत प्रतिस्पर्दामा निकै पछाडि धकेलिएको अवस्था छ । यसैगरी २०७० को दोस्रो संविधानसभा निर्वाचनमा क्षेत्र नं.२ मा निर्वाचित राष्ट्रिय प्रजातन्त्र पार्टीको अवस्था अझ निरिह सावित भएको छ । यो सबै अवस्था नियाल्दा एमालेले आफुलाई जिल्लामा बलियो शक्तिका रुपमा स्थापित गरेको छ ।

सबैजसो पार्टीमा हुने गुट उपगुटले एमाले पनि अछुतो छैन । तर चुनावी माहोलमा भने अन्तर्घातको खासै शिकार हुनु परेन । छिटपुट वडास्तरमा त्यसको असर देखा परेपनि मुख्य पदमा असर परेन । पार्टी भित्र विशेषत निर्वाचनमा उमेद्वारका आकांक्षिको भीडले केहि समय आन्तरिक शीत युद्ध चलेपनि अन्तत: नेतृत्वको चयनलाई स्वीकार गरिएको कारण एमालेको यो नतिजा हात लागेको हुनसक्छ । वर्षौदेखि संगठन सवल राख्ने रणनीतिबाट आफुहरुले यो उपलब्धी हात पारेको एमाले नेतृत्वको दावी छ । केहि वडामा कांग्रेस, माओवादी केन्द्र, नयॉ शक्ति पार्टीले जीत हात पारेपनि अन्य सबैमा मुख्य नेतृत्व सहित प्यानल नै एमाले विजयी भएको छ । कान्तिपुरबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot