Logo

बाजुरामा कांग्रेसको वर्चस्व



काठमाडौं १९ असार ।
एमाले मात्रको हैन, स्वमं कांग्रेसको समेत आश विपरित बाजुराका ९ वटा स्थानीय तहमध्ये चारवटा नगरपालिकासहति ६ वटा स्थानीय तहमा कांग्रेस विजयी भएको छ ।

बुढीगंगा, त्रिवेणी, बडिमालिका र बुढीनन्दा गरी चारवटैमा कांग्रेसले जितेको हो । बुढीनन्दामा उपमेयर पद गुमाए पनि अन्य तीनवटै नगरमा भने मेयर–उपमेयर पदमा कांग्रेसले जितेको छ । बडिमालिकामा पदम बडुवाल र कविता बिष्ट, त्रिवेणीमा रामसिंह रावल र राधिका सुनार, बुढीगंगामा दिपक बिक्रम शाह र तारा थापा खाती विजयी भएका छन् । बुढीनन्दा नगरपालिकामा भने उपमेयर पदमा एमाले उम्मेदवार सृष्टी रेग्मीले जितेकी छिन् । रेग्मीले कांग्रेस उम्मेदवार रिता शाहीलाई पराजित गरेकी हुन् ।

गाउँपालिकामा विजयीहरुमा हिमालीमा एमाले उम्मेदवार अजबहादुर मल्ललाई पराजित गर्दै कांग्रेस उम्मेदवार गोविन्द मल्लले जितेका छन् । उपाध्यक्ष पदमा कांग्रेसकै चन्द्रकला बुढाले एमालेकी राजकला सार्कीलाई पराजित गरिन् । यस्तै, छेडेदहमा कांग्रेस उम्मेदवार नरबहादुर रावतले एमाले उम्मेदवार लालबहादुर ओलीलाई पराजित गरेका छन् भने उपाध्यक्षमा कुन्ती बुढाले एमाले उम्मेदवार पबित्रा शाहीलाई पराजित गरिन् ।

पाण्डवगुफा, स्वामीकार्तिक र गौमुलमा एमालेले जितेको छ । पाण्डवगुफामा पार्टी अध्यक्ष समेत रहेका एमाले उम्मेदवार कालीबहादुर शाहीले कांग्रेस उम्मेदवार सुन्दर बिष्टलाई पराजित गरेका छन् । उपाध्यक्षमा यैना गिरीले कांग्रेस उम्मेदवार तारा डडाललाई पराजित गरिन् । स्वामीकार्तिकमा चिरञ्जीवी शाहीले कांग्रेसका भरत रोकायालाई पराजित गरेका छन् भने उपाध्यक्षमा नेका उम्मेदवार नैना जैशीले एमालेकै उम्मेदवार मिमा बुढासंग हारिन् । गौमुलमा हरिबहादुर रोकायाले कांग्रेस उम्मेदवार देबबहादुर रोकायालाई पराजित गरेका छन् । उपाध्यक्षमा सिता रोकायाले कांग्रेस उम्मेदवार उमा रोकायालाई पराजित गरिन् ।

स्थानीय तहको निर्वाचनले दलहरुको हैसियतलाई फेरवदल गरिदिएको छ । एमालेबाट तीनवटा सांसद सहित एकजना वैकल्पिक पोलिटब्यूरो सदस्य र दुईजना केन्द्रिय सदस्य रहेको बाजुरामा पार्टीले एउटै नगरपालिका समेतमा जित्न नसकेपछि उसले नराम्रो धक्का व्यहोर्नु परेका छ ।

दशकौंदेखि गढ मान्दै आएको बडिमालिका क्षेत्र समेत कांग्रेसको कब्जामा गएपछि एमाले कार्यकर्ताहरु निरास देखिएका छन् । कर्ण थापा, लालबहादुर थापा र प्रकाश शाह एमालेको केन्द्रिय तहमा छन् । संसदमा भने थापा, बसुन्धरा रोकाया र पेम्बा भोटे गुरुङको प्रतिनिधित्व रहेको छ । कांग्रेस कार्यकर्ताहरु भने सोच्दै नसोचेको नतिजा प्राप्त भएकोमा दङ्ग छन् । ‘सर्वसाधारणलाई पार्टी तथा नेताहरुले खल्तीका भन्ठान्नु नै भूल हो,’ एक व्यवसायीले भने ।
कान्तिपुरबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot