Logo

माओवादीले बुझायो प्रधानमन्त्रीलाई मन्त्रीको सूची



काठमाडौं १९ असार । सत्तारुढ माओवादीले आफ्नोतर्फबाट मन्त्री हुनेको नामावली लगभग टुंग्याएको छ । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पार्टीको प्रतिनिधित्व गर्ने मन्त्रीको नाम प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाइसकेका छन् । मन्त्रीको नामावली टुंग्याउन माओवादीले कृष्णबहादुर महरा, वर्षमान पुन र जनार्दन शर्मा रहेको कार्यदल गठन गरेको थियो । कार्यदलको सिफारिसअनुसार र केन्द्रीय कार्यालयले अन्तिम टुंगो लगाउने जिम्मा पार्टी अध्यक्ष प्रचण्डलाई दिएको थियो ।

माओवादीले प्रदेश नं. १ बाट शिवकुमार मण्डलको नाम टुंग्याएको छ । उनलाई आपूर्ति मन्त्रालयको जिम्मेवारी दिने तयारी छ । उनी मोरङ–४ बाट निर्वाचित सांसद हुन् । त्यस्तै प्रदेश नं. २ बाट प्रभु साहले सहरी विकास मन्त्रालयको जिम्मेवारी पाइसकेका छन् । सोही प्रदेशका गिरिराजमणि पोखरेललाई स्वास्थ्यमन्त्रीको जिम्मेवारी दिने तय भएको स्रोतको दाबी छ । माओवादीले प्रदेश नं. ३ बाट रामेछाप–२ का सांसद श्यामकुमार श्रेष्ठलाई सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी दिने भएको छ । प्रदेश नं. ४ का हितराज पाण्डेलाई दोहोर्‍याउने की तनहुँकी आशा खनाललाई मन्त्री बनाउने भन्नेबारे छलफलमै छ । अहिलेसम्म सो प्रदेशका कसैको पनि नाम नपठाइएको स्रोतको भनाइ छ ।नयाँपत्रिकामा खबर छ।

प्रचण्ड नेतृतवको सरकारमा स्थानीय विकास मन्त्री रहेका पाण्डेलाई पछि पशुपंक्षी विकास मन्त्रालय पठाउन खोजिएको थियो । तर उनले अस्वीकार गरेका थिए । राप्रपा अध्यक्ष कमल थापालाई स्थानीय विकास मन्त्रालय दिन पाण्डेलाई अचानक उनलाई हटाइएकोले यसपालि पाण्डेलाइै दोहोर्याउने विषयमा पार्टीमा छलफल छ । तर, पार्टीको तर्फबाट महिलालाई पनि पठाउनुपर्ने भएकोले तनहुँकी खनालको नाम पनि प्रस्ताव भएको छ । आशाले अवसर पाए महिला तथा बालबालिका मन्त्रालयको जिम्मेवारी पाउने कार्यदलका एक सदस्यले बताए ।

प्रदेश नं. ५ का कृष्णबहादुर महरा उपप्रधानसहित परराष्ट मन्त्रालयको जिम्मेवारीमा छन् । त्यस्तै प्रदेश ६ का जनार्दन शर्मा प्रभाकर गृहमा छन् । माओवादीले प्रदेश नं ६ का अर्का सांसद महेन्द्रबहादुर शाहीलाई पनि अवसर दिदैंछ । कालिकोटका सांसद शाहीले उर्जा मन्त्रालयको जिम्मेवारी पाउनेछन् ।

प्रवक्ता पम्फा भुसालले प्रत्यक्ष निर्वाचन जितेका, यसअघि मन्त्री नभएकाहरुलाई समावेशी आधारमा मन्त्री छनौट गर्ने पार्टीको नीति रहेको बताइन् । तर को–को मन्त्री बने भन्ने आफुलाई जानकारी नभएको बताइन् ।

१० मन्त्रालयमा माओवादी दाबी
माओवादी केन्द्रले गृह, परराष्ट्र र सहरी विकास मन्त्रालय पाइसकेको छ । उसले थप सात मन्त्रालय दाबी गरेको छ । त्यसमध्ये सामान्य प्रशासन मन्त्रालय, आपूर्ति व्यवस्था मन्त्रालय, स्वास्थ्य मन्त्रालय र कृषि मन्त्रालय पनि माओवादीलाई दिन कांग्रेस सहमत भइसकेको छ । तर, भौतिक योजना तथा यातायात मन्त्रालय र वन तथा भू–संरक्षण मन्त्रालय पाउनुपर्ने माओवादी दाबीमा कांग्रेस सहमत भइसकेको छैन । माओवादी प्रवक्ता पम्फा भुसालले राप्रपा, संघीय समाजवादी पार्टी पनि सरकारमा सहभागी हुने स्थितिमा भने पार्टीको दाबी घट्न सक्ने बताइन् ।

राप्रपा र फोरमलाई ल्याउन पहल गर्ने

सत्तारुढ दल कांग्रेस र माओवादी राप्रपा र संघीय समाजवादी फोरमलाई पनि सरकारमा सहभागी गराउन पहल गर्ने तयारीमा छन् । देउवा प्रधानमन्त्री बन्दा भोट हालेका यी दुई दललाई सरकारमा पनि सहभागी गराउँदा संविधान संशोधन, तेस्रो चरणको निर्वाचन, प्रदेश र केन्द्रीय संसद्को निर्वाचन सहज हुने बुझाइ सत्तारुढ दलको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot