Logo

विराटनगर महानगर र ७ उपमहानगरमा कस्को पल्ला भारी ?



काठमाडौं १९ असार । स्थानीय तहको दोस्रो चरण निर्वाचनको मतपरिणाम आउने क्रम जारी छ । प्रदेश नम्बर १, ५ र ७ का मतपरिणाम सार्वजनिक भइरहँदा धेरैको ध्यान विराटनगर महानगरपालिकासहित अन्य सात उपमहानगरपालिकामा कसले बाजी मार्ला भन्नेमा छ ।
यो समाचार तयार पार्दै गर्दा बिहान सवा २ बजेको ताजा अवस्थाअनुसार विराटनगर महानगरपालिकाको मेयरमा कांग्रेसको अग्रता कायमै छ । कांग्रेसका भीम पराजुलीले ५ हजार १ सय ९७ मत प्राप्त गरेका छन् । उनलाई पछ्याइरहेका एमालेका उम्मेदवार विनोद ढकालको३ हजार ७ सय मत छ । तेस्रो स्थानमा रहेका संघीय समाजवादी फोरमका उमेश यादवले ३ हजार ४६ मत ल्याएका छन् । मेयरमा कांग्रेसले अग्रता बढाउँदै लगेको देखिन्छ ।

यता सात उपमहानगरपालिकामा भने एमालेको पल्ला भारी छ । दाङका तुल्सीपुर र घोराही दुवै उपमहानगरपालिकामा एमालेका उम्मेदवार क्रमशः घनश्याम पाण्डे र नरुलाल चौधरी बलियो अवस्थामा देखिन्छन् ।
सुनसरीको इटहरी र धरान नगरपालिकामा पनि एमालेकै अग्रता कायम छ । इटहरीमा द्वारिकलाल चौधरी र धरानमा तारा सुब्बा आआफ्ना निकटतम प्रतिस्पर्धीभन्दा केही सय मतले अगाडि छन् ।  रुपन्देहीको बुटवल उपमहानगरपालिकामा पनि एमालेका उम्मेदवार शिवराज सुवेदीको अग्रता कायमै छ । तर, इटहरी, धरान र बुटवलमा काग्रेस उम्मेदवारले लगातार पछ्याइरहेका छन् ।
कैलालीको धनगढी उपमहानगरपालिकाकामा भने कांग्रेसको अग्रता छ ।कांग्रेसका उम्मेदवार नृपबहादुर बड केही मतअन्तरले स्वतन्त्र उम्मेदवार गोपाल हमालभन्दा अगाडि छन् । नृपबहादुरलाई एमालेका दुर्गप्रसाद जोशीले पनि पछ्याइरहेका छन् ।  बाँकेको नेपालगन्ज उपमहानगरपालिकामा भने राप्रपा डा. धवलशम्शेर राणाको अग्रता फराकिलो बन्दै गएको छ । दोस्र्रो र तेस्रो स्थानमा रहेका कांग्रेस र एमालेका उम्मेदवारको मत जोड्दा मात्र राप्रपा उम्मेदवारको मतसँग प्रतिस्पर्धा देखिएको छ ।
मतको ट्रेन्ड यही कायम रहे एक महानगर र एक उपमहानगर कांग्रेसको पाँच उपमहानगर एमालेको र एक उपमहानगर राप्रपाको पोल्टामा जाने देखिन्छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot