Logo

दबाबमा बनेको राजपा विवादले फुट्दै



असार २३, काठमाण्डौँ । राष्ट्रिय जनता पार्टी (राजपा) फुटको संघारमा पुगेको छ । निर्वाचन आयोगमा दल दर्ताका लागि विगत केही दिनदेखि छलफलमा जुटेका राजपाका नेताहरु अन्ततः विवादको भुमरीमा फसेका छन् । निर्वाचन आयोगमा दल दर्ता र विधानमा हस्ताक्षरका विषयमा अध्यक्षमण्डलका नेताहरूबीच तीव्र मतभेद देखिएको हो ।

राजपाले प्रदेश नम्बर २ मा असोज २ गतेका लागि तय भएको तेस्रो चरणको स्थानीय तह निर्वाचनमा सहभागी हुन विधानमा संयुक्त हस्ताक्षर गरी आयोगमा दल दर्ताका लागि जाने तयारी गरेको थियो । तर, अध्यक्षमण्डलका नेता अनिलकुमार झाले विधानमा हस्ताक्षर नगरेपछि विधान निर्माण प्रक्रिया नै अवरुद्ध भएको छ । झाले दलको विधानमा पुराना गजेन्द्रनारायण सिंह नाम उल्लेख गर्न जोड दिएका छन् भने अन्यले स्विकार गरेका छैनन् । झाले गजेन्द्रनारायण सिंहका साथै रामजनम तिवारीको नाम पनि विधानमा समावेश गर्नुपर्ने अडान लिएका छन् । तर महन्थ ठाकुरले भने राजपामा मधेसी मात्र होइन, बीपी, पुष्पलालदेखि मार्क्सवादीसम्मको विचार र आस्था राख्ने नेता रहेको भन्दै अहिले विधानको प्रस्तावनामा कुनै नेताको नाम उल्लेख गर्न नहुनेमा जोड दिएका छन् ।

ठाकुरले अध्यक्षमण्डलका सबै सदस्यले विधानमा हस्ताक्षर नगरे पनि दल दर्ताका लागि जति सदस्यको सहमति हुन्छ त्यसालाई नै आधार मान्ने विचार व्यक्त गरेका थिए । सबैको हस्ताक्षर नभए पनि दल दर्ताका लागि विधान तयार पार्ने कुराले पार्टी फुटलाई बल पुगेको हो । यसअघि झाले आफूले विदेशी शक्तिको दबाबमा नेपाल सद्भावना पार्टीलाई राजपामा विलय गरेको बताएका थिए ।

मंगलबार सुरु बैठक दल दर्ता प्रक्रिया अघि बढ्न नसकेपछि केही दिनका लागि भन्दै बुधबार स्थगित भएको छ । बुधबारको बैठकमा ठाकुरले विधानमा हस्ताक्षरका लागि केही दिनको समय दिएका थिए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot