Logo

चुनाव समीक्षा गर्न माओवादीले बैठक डाक्यो



काठमाडौं २५ असार । माओवादी केन्द्रले स्थानीय तह चुनावमा पार्टीको समग्र अवस्थाबारे समीक्षा गर्न बैठक गर्ने भएको छ । साउन २ गते पेरिसडाँडा मुख्यालयमा डाकिएको पार्टी सचिवालयको विस्तारित बैठकमा पहिलो र दोस्रो दुवै चरणको चुनाव समीक्षा गरिनेछ । नेता देव गुरुङले प्रदेश २ बाहेकका सबै जिल्ला इन्चार्जलाई समेत डाकेर जिल्लागत ब्रिफिङ लिने तयारी भएको बताए । प्रदेश २ मा भने असोज २ का लागि चुनाव स्थगित भएको छ । दुवै चरणका स्थानीय तह चुनावमा ३८ तहको जितसहित माओवादी केन्द्र तेस्रो हैसियतमा देखिएको छ ।

माओवादी सचिवालयमा ८२ सदस्य छन् । नेता अग्निप्रसाद सापकोटाले सचिवालयको विस्तारित बैठकमा संगठन सुदृढीकरण र आगामी चुनावका लागि रणनीति अख्तियार गर्ने जानकारी दिए । ‘हामीले दुवै चरणका चुनावमा अपेक्षा गरेको र हासिल गरेको मतका बीचमा कस्तो सन्तुलन देखियो या देखिएन भन्ने समग्र समीक्षाको विषय बनाउने भएका छौं,’ उनले भने, ‘आगामी चुनावका लागि हाम्रो रणनीति त्यही बन्नेछ ।’ दोस्रो चरणको चुनाव सकिएपछि माओवादीले हालसम्म केन्द्रीय कार्यालय बैठकसमेत राख्न बाँकी छ ।

यसैबीच माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले राज्यले अझै पनि दलितमाथि उपेक्षा जारी राखेको बताएका छन् । संविधानमा दलितका लागि प्रगतिशील व्यवस्थाहरू थुप्रै भए पनि कार्यान्वयन पक्ष धिमा रहेको उनले आरोप लगाए । स्थानीय तहको चुनावमा निर्वाचित हुने दलितहरूको संख्या ठूलो रहेको भन्दै प्रतिनिधित्व अझै बढाउँदै लैजान आफूले काम गर्ने उनको भनाइ थियो ।

‘माओवादीले युद्ध नलडेको भए महिला, दलित, जनजाति, मधेसीलगायतका समुदायले अझै पनि अपमानित भइरहनुपर्ने स्थिति आउने थियो,’ परियार सेवा समाजले राजधानीमा शनिबार आयोजना गरेको अभिनन्दन कार्यक्रममा दाहालले भने, ‘पुरानो समाज र राजनीतिक दलहरू दलित, महिला, जनजाति, मधेसीलगायतका उत्पीडितहरूलाई मान्छे नै मान्दैनथे । समाजमा यति ठूलो परिवर्तन आइसक्दा पनि अझै राज्य र राज्य संयन्त्र दलितहरूप्रति सकारात्मक हुन सकेको छैन ।’ माओवादीले उत्पीडितहरूको अधिकारको कुरा गर्दा निकै ठूलो विरोध हुन गए पनि लडाइँमा उपलब्धि हासिल गर्न सफल भएको दाहालले बताए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot