Logo

प्रचण्डलाई बाबुरामको धक्का



काठमाडौं २५ असार । डा. बाबुराम भट्टराईको बहिर्गमनका कारण माओवादी केन्द्रले दुई दर्जनभन्दा बढी स्थानीय तह गुमाउनुपरेको छ । गोरखा, रसुवा, धादिङ, लमजुङ, सिन्धुली र पूर्वका केही पहाडी जिल्लामा नयाँ शक्तिकै उम्मेदवारीका कारण माओवादी पराजित हुन पुग्यो ।पहिलो चरण निर्वाचन भएका गोरखाका आठ, रसुवाका तीन, धादिङका दुई तथा लमजुङ र सिन्धुलीका एक एक तहमा बाबुराम भट्टराईको पार्टीका कारण हार्नुपरेको निष्कर्ष माओवादी केन्द्रले निकालेको छ । त्यस्तै, दोस्रो चरणमा पनि मोरङ, धनकुटा, ताप्लेजुङलगायत पूर्वीपहाडी जिल्लाका १० भन्दा बढी स्थानीय तह नयाँशक्तिकै कारण गुमाउनुपरेको माओवादी नेताले बताएका छन् ।
‘बाबुरामजीको पार्टी त्याग र उहाँको पार्टीका कारण माओवादीले स्थानीय चुनावमा घाटा व्यहोरेको छ,’ माओवादी केन्द्रका नेता हितराज पाण्डेले अन्नपूर्णसँग भन्नुभयो, ‘बाबुरामजीले पार्टी नछाडेको भए गोरखा, रसुवालगायत जिल्लाका प्रायः स्थानमा हामी सजिलै जित्न सक्थ्यौं ।’

माओवादीलाई बाबुरामको धक्का
स्थानीय निर्वाचनको समीक्षाका लागि माओवादी केन्द्रले २ साउनमा पार्टी सचिवालयको विस्तारित बैठक बोलाएको छ । जित-हारको कारण माओवादीले त्यही बैठकबाट खोजी गर्ने प्रवक्ता पम्फा भुसालले बताउनुभयो । ‘कतिपय स्थानमा आन्तरिक कारणले पनि पार्टीको परिणाममा धक्का लागेको देखिन्छ,’ भुसालले भन्नुभयो, ‘समग्र पक्षको समीक्षा बैठकमै खोजी गर्छौं ।’
जित्ने आकलन गरिएका गोरखाका पालुङटार नगरपालिका, गोरखा नगरपालिका, धार्चे गाउँपालिका, गण्डकी गाउँपालिका, सिरानचोक गाउँपालिका, भीमसेन गाउँपालिका, रसुवाको कालिका गाउँपालिकालगायत स्थानीय तह माओवादी केन्द्रले गुमाएको छ । यी स्थानमा माओवादी केन्द्र र बाबुराम भट्टराईको पार्टी नयाँ शक्तिका उम्मेदवारले प्राप्त गरेको मत जोड्ने हो भने विजेताको भन्दा बढी हुन्छ ।
त्यस्तै, गोरखाकै चुमनुव्री र अजिरकोट, धादिङको नेत्रावती, गजुरी, रसुवाकै नौकुण्डलगायत स्थानीय तह पनि माओवादीले गुमाएको छ । माओवादी केन्द्र र नयाँ शक्तिका उम्मेदवारले प्राप्त गरेको मतको योगफलभन्दा थोरै मतान्तरमा यी क्षेत्रमा अन्य दल कांग्रेस र एमालेले निर्वाचन जितेका छन् । ‘हामी विभाजनलाई जनताले रुचाएनन् भन्ने कुरा स्थानीय तहको चुनावी परिणामले देखाएको छ, हामी कतिपय स्थानमा दुई पार्टीका उम्मेदवारको मत जोड्ने हो भने विजेता उम्मेदवारको भन्दा बढी देखिन्छ, कहीँ थोरै मतान्तरमा मात्र पछि परेका छौं,’ चुनावी परिणामको समीक्षा सुनाउँदै नेता पाण्डेले भन्नुभयो, ‘थोरै कम देखिएका स्थान पार्टी एक भएको भए जितिन्थ्यो । यस हिसाबले हेर्दा हामीले कतिपय स्थान जित्दाजित्दै पनि गुमाएका छौं ।’



प्रतिक्रिया दिनुहोस्