Logo

राजपाले ब्युँतायो ‘बहुराष्ट्रिय राज्य’



काठमाडौं २६ असार । मधेसी मोर्चाले सरकारसँग वार्ताका क्रममा स्थगित गरेको बहुराष्ट्रिय राज्यको माग राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले फेरि औपचारिक रूपमा ब्युँताएको छ । निर्वाचन आयोगमा दल दर्ताका लागि आवेदनका क्रममा राजपाले बुझाएको अन्तरिम विधानमा बहुराष्ट्रिय राज्यको माग राखिएको छ ।

अध्यक्षमण्डलबाट पारित विधानको पहिलो वाक्यमै ‘नेपाल एक विविधतायुक्त, बहुराष्ट्रिय, बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक पहिचान भएको मुलुक’ भनिएको छ । विधानकै अर्को खण्डमा लेखिएको छ, ‘एकताबद्ध भएका ६ पार्टीको एकतालाई मूर्त रूप दिन, तिनको स्वामित्वलाई ग्रहण गर्दै एकताको मूल मर्म(भावना एकीकृत रूपमा विकसित गर्ने र देशको सार्वभौमिकता, एकता, बहुराष्ट्रियता जोगाउन सधैं प्रयत्नशील रहने उद्देश्य राखी राजपा स्थापना गर्नुपर्ने आवश्यकता महसुस गरिएको छ ।’

राजपाले आर्यखस, जनजाति र मधेसी गरी तीनवटा राष्ट्रियता रहेको तर्क गरेको छ । तर ठूला दलले बहुराष्ट्रियताको नाराले मुलुक विखण्डनमा लैजाने उल्लेख गर्दै त्यो अवधारणा घातक रहेको दाबी गरेका छन् । उनीहरूले राष्ट्रियताको पश्चिमा परिभाषा र नेपालको राष्ट्र निर्माण एकै किसिमको नरहेको भन्दै यो माग छाड्नुपर्ने वकालत गर्दै आएका छन् ।

१५ कात्तिक २०७२ मा ठूला तीन दललाई बुझाएको ११ बुँदे मागपत्रको अन्तिम बुँदामा तत्कालीन मधेसी मोर्चाले यो माग अघि सारेको थियो । तत्कालीन उपप्रधानमन्त्री तथा सरकारी वार्ता टोली संयोजक कमल थापा, कांग्रेस नेता रामचन्द्र पौडेल र एमाले उपाध्यक्ष भीम रावललाई बुझाइएको उक्त मागपत्रमा भनिएको थियो, ‘नेपाललाई एकल राष्ट्रिय राज्यका रूपमा नभई बहुराष्ट्रिय राज्यका रूपमा परिभाषित गर्नुपर्ने ।’ यो ११ बुँदे माग नै मधेसकेन्द्रित दलहरूले सरकारसमक्ष पेस गरेको र हालसम्म विचाराधीन रहेको औपचारिक डकुमेन्ट हो । त्यही वर्ष माघ पहिलो साता चलेको तीन दल(मोर्चा कार्यदलस्तरीय वार्तामा सहमतिको मिलनविन्दु खोज्ने क्रममा मोर्चाले यो माग छाडेको थियो । कान्तिपुरबाट

‘त्यसबेला यो माग स्थगित गरे पनि छाडेका थिएनौं, सहमतिका लागि दुवै पक्षले केही न केही गिभ एन्ड टेक गर्नैपर्ने अवस्थामा हामीले त्यस्तो गरेको हो,’ राजपाका एक नेताले भने, ‘तर सरकार सहमतिमा आउन तयार नभएपछि राजनीतिक अडानका रूपमा यो उठाउनु हाम्रो कर्तव्य र अधिकार दुवै हो ।’

राजपा नेता महन्थ ठाकुरले मधेस आफ्नै जनसंख्या, भूगोल, भाषा आदिका कारण छुट्टै राष्ट्र बन्ने ‘क्राइटेरिया’ पुगिसकेको भनी बताउने गरेका छन् । अघिल्लो असार ६ गते नवलपरासीको रामग्राममा आयोजित तत्कालीन तमलोपाको पहिलो महाधिवेशनमा आमन्त्रित कांग्रेस सभापति शेरबहादुर देउवालाई लक्षित गर्दै उनले भनेका थिए, ‘मधेसलाई हेप्ने र जिस्काउने काम बन्द गर्नुहोस्, हामीले अलग राष्ट्र बन्ने क्राइटेरिया पुर्‍याइसकेका छौं ।’ तर ठाकुरले यसलाई अलग राष्ट्र निर्माणको विखण्डनवादी माग भनी बुझ्न नहुने प्रस्टीकरण दिँदै आएका छन् ।

राजपाले आफ्नो घोषणापत्रमा केन्द्रमा सहशासन र प्रदेशमा स्वशासनको नारा दिएको छ । ‘राष्ट्रिय जनता पार्टी नेपाल संघीय शासनलाई सहशासन र प्रादेशिक शासनलाई स्वशासनका रूपमा पारिभाषित गरेको छ । सबै प्रदेशलाई आ(आफ्नो प्रदेशको मामिलामा स्वायत्तता प्राप्त हुने अधिकार हुनुपर्छ,’ शुक्रबार आयोगलाई बुझाइएको घोषणापत्रमा भनिएको छ, ‘मुद्रा, प्रतिरक्षा र विदेश मामिलाको अतिरिक्त सम्पूर्ण अधिकार प्रदेशको अधिकारको सूचीमा पर्नुपर्छ । यो पार्टी स्वायत्ततालाई एकीकृत देशभित्र प्रादेशिक शासनलाई सबल, सक्षम, आत्मनिर्भर बनाउने अधिकारका रूपमा पारिभाषित गर्न चाहन्छ ।’



प्रतिक्रिया दिनुहोस्