Logo

अन्तर्घातले २५ स्थानमा हार्नुपरेको एमाले निष्कर्ष



काठमाडौं २७ असार । दोस्रो चरणको निर्वाचनमा कम्तीमा २५ स्थानीय तहमा अन्तर्घातका कारण हार व्यहोर्नुपरेको निष्कर्ष एमालेले निकालेको छ । सोमबार बसेको स्थायी समिति बैठकले चुनावी सफलता र अनपेक्षित परिणामको समग्र समीक्षासहितको प्रतिवेदन १५ दिनभित्र केन्द्रमा पठाउन जिल्ला कमिटीहरूलाई निर्देशन दिएको छ ।

दोस्रो चरणको निर्वाचनमा कम्तीमा एक सय ७० तहमा जित हात पर्ने अनुमान गरेको एमालेले एक सय ५१ स्थानमा प्रमुख पद जितेको छ । मोरङको सुन्दर हरैँचा, रतुवामाई, केराबारी, लेटाङसहित चार स्थान, झापाको गौरादह, हल्दिबारी, बुद्धशान्ति, गौरीगन्ज र मेची नगरपालिका, भोजपुरको भोजपुर र षडानन्द नगरपालिका, कपिलवस्तुको वाणगंगा र बुद्धभूमि, पाँचथरको फिदिममा अन्तर्घातका कारण हार व्यहोर्नुपरेको एमालेको निष्कर्ष छ ।

त्यस्तै, पाल्पाको रामपुर, ओखलढुंगाको लिसंखु, सुनसरीको इनरुवा नगरपालिका, नवलपरासीको सुनवल, रूपन्देहीको देवदह, बाजुराको मार्तडी, अछामको मेल्लेख, बान्नीगढी जयगढ र विनायक नगरपालिका, बर्दियाको गुलरिया र राप्ती सोनालीलगायतका २५ भन्दा बढी तहमा पनि जित्ने निश्चित हुँदाहुँदै अन्तर्घातकै कारण गुमाउनुपरेको एमालेको निष्कर्ष छ ।

सत्ता गठबन्धनद्वारा भएको राज्यशक्तिको चरम दुरुपयोग, चौतर्फी घेराबन्दी र अनेकौँ प्रतिकूलताका बाबजुद दोस्रो चरणको निर्वाचनमा पहिलो पार्टी बन्न सफल भएको एमालेको निष्कर्ष छ । ‘चुनाव प्रभावित पार्न सरकारले अन्तिम घडीमा कैयौँ ठाउँमा रकमान्तर गरेर पैसा बाँड्ने काम ग¥यो,’ स्थायी समिति सदस्य सुरेन्द्र पाण्डेले भने ।

१५ दिनभित्र समीक्षा प्रतिवेदन पठाउन निर्देशन

स्थानीय तहको निर्वाचन परिणामको सफलता र अनपेक्षित परिणामको समग्र समीक्षासहितको प्रतिवेदन १५ दिनभित्र पठाउन एमालेले जिल्ला कमिटीहरूलाई निर्देशन दिएको छ ।
स्थायी समितिको सोमबारको बैठकले दोस्रो चरणको निर्वाचन सम्पन्न भएका ३५ जिल्लालाई समीक्षा प्रतिवेदन पठाउन निर्देशन दिएको हो । –नयाँ पत्रिका दैनिकबाट



प्रतिक्रिया दिनुहोस्