Logo

दाहालले भने- ‘संविधान संशोधन पारित हुने अवस्था देखिएन’



काठमाडौं २८ असार ।
माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहालले संविधान संशोधन पारित गराउनका लागि आफूले सक्दो प्रयास गरे पनि सफलता पाउने सम्भावना अब कमजोर हुँदै गएको बताएका छन् । लाजिम्पाट निवासमा आयोजित पार्टी हेडक्वार्टर बैठकमा दाहालले मंगलबार दिनभरिका राजनीतिक दौडधूप र प्रगतिबारे ब्रिफिङ सुनाउँदै यस्तो टिप्पणी गरेका हुन् ।

‘म प्रधानमन्त्री भएका बेला सम्पूर्ण ध्यान संविधानको स्वीकार्यता बढाउनमा र कार्यान्वयन गर्नमा लगाएको थिएँ, मतदान हुने बेलामा भएका खेलकुद तपाईंहरुले देखिहाल्नु भयो,’ दाहालले बैठकमा भने, ‘अहिले पनि पारित हुने अवस्था छैन, किनभने सानातिना दलको संख्या जोड्दा दुई तिहाई पुगेजस्तो देखिए पनि तिनको भरै छैन ।’ दाहालले संविधान संशोधन अब तत्काल हुन कठिन देखिँदै गएको निष्कर्ष बैठकमा राख्दा सहभागी नेताहरुले आफ्नो दलको प्रयास जारी रहनुपर्नेमा जोड दिएका थिए ।

बैठकमा वर्षमान पुन, लेखराज भट्ट, गोपाल किराती लगायतले स्थानीय चुनावमा सम्बन्धित प्रदेशको प्रगति रिपोर्ट सुनाएका थिए । माओवादी केन्द्रले स्थानीय तह चुनावमा पार्टीको समग्र अवस्थाबारे समीक्षा गर्न साउन २ गते पार्टी सचिवालयको विस्तारित बैठक बोलाएको छ । त्यसैको एजेन्डा तयार गर्न हेडक्वार्टर बैठक राखिएको नेता अग्नि सापकोटाले बताए । ‘आज चाँहि ब्रिफिङ मात्रै भएको छ, विहंगम समीक्षा २ गते नै गछौं,’ उनले भने ।

पहिलो र दोस्रो दुवै चरणको चुनाव समीक्षा गर्न प्रदेश २ बाहेकका सबै जिल्ला इन्चार्जलाई पार्टी केन्द्रले काठमाडौं आउन निर्देशन दिइसकेको छ । पहिलो र दोस्रो दुवै चरणका स्थानीय तह चुनावमा माओवादी केन्द्र तेस्रो हैसियतमा छ ।
कान्तिपुरबाट



प्रतिक्रिया दिनुहोस्