Logo

राजधानीबाट नौ केजी नक्कली सुन बरामद



काठमाडौं २९ असार । सस्तोमा पाएँ भन्दैमा सुुन किन्दै हुनुहुन्छ भने होसियार हुनुस्, सुन नक्कली पनि पर्न सक्छ । राजधानीमा सुनजस्तै बनाएर सुन भन्दै बेच्ने गिरोह सक्रिय रहेको खुलेको छ । महानगरीय प्रहरी बृत्त स्वयम्भूले मंगलबार राति एकै ठाउँबाट नौ केजी नक्कली सुन बरामद गरेको छ ।

स्वयम्भू बृत्त र अपराध महाशाखाको संयुक्त टोलीले सीतापाइला–रामकोट क्षेत्रबाट काभ्रे बेथानचोकका २४ वर्षीय साइमन सुनामलाई मंगलबार साँझ नौ केजी नक्कली सुनसहित पक्राउ गरेको हो । प्रहरीले सुनामसँग सक्कली सुन भएको सूचना पाए पनि बरामदपछि परीक्षण गर्दा सुुन नक्कली भएको पुष्टि भएको थियो ।

सुनका नौ वटा बिस्कुटजस्ता देखिने सामग्रीलाई वरिपरिबाट सुनले लेपन गरिएको थियो । तर बिस्कुटको आकार र तौल अस्वाभाविक देखिएपछि प्रहरीले त्यसलाई शंकास्पद मानेको थियो ।

ठगले सुनको जलप लगाएर सुन भन्दै बेच्ने गरेको प्रहरी बताउँछन् । ‘सुन भएको पुष्टि गर्न बिस्कुटको एक छेउमा अलिक बढी सुनको जलप लगाउने र त्यसैबाट पुष्टि गर्न खोज्छन्,’ एक अनुसन्धान अधिकृत भन्छन् । –अन्नपूर्ण पोस्ट दैनिकबाट



प्रतिक्रिया दिनुहोस्