Logo

यसरी रोकियो बाहिरी चक्रपथको ६ किलोमिटरको निर्माण प्रक्रिया



 

काठमडौं ३० असार । राष्ट्रिय महत्ववको आयोजनाका रूपमा रहेको बाहिरी चक्रपथ निर्माणमा अवरोध उत्पन्न भएको छ । ६ अर्ब रुपैयाँ लागतमा निर्माण हुने भनिएको बाहिरी चक्रपथको चोभार-सतुंगल ६ किमि खण्डको निर्माण प्रक्रिया अगाडि बढाउने काम सहरी विकास मन्त्रालयमै गएर अड्किएको छ आजको अन्नपूर्ण पोस्टमा खबर छ । चक्रपथ निर्माणको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) स्वीकृत भई राजपत्रमा सूचनासमेत प्रकाशन भइसकेको आयोजनाको पहिलो खण्डको काम अगाडि बढाउन जग्गा रोक्का राख्ने सूचना प्रकाशनमा जिल्ला प्रशासन कार्यालयले मन्त्रालयको सहमति खोजेपछि मन्त्रालयले राय दिन आलटाल गरेको हो ।

सहरी विकास सचिव दीपेन्द्रनाथ शर्माका अनुसार काम रोकिएको छैन, आवश्यक प्रक्रिया अगाडि बढाइएको मात्र हो । कानुनी राय मागिएकाले यसलाई प्रक्रियामा राखिएको सचिव शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार सचिवस्तरीय निर्णयबाट बाहिरी चक्रपथ विकास आयोजना अगाडि बढाउन आयोजनाका अधिकृत ध्रुव सापकोटालाई प्रारम्भिक अधिकारी तोकिएको थियो । जग्गा रोक्का गर्न नेपाल सरकारको निर्णय हुनुपर्ने माग जिल्ला प्रशासन कार्यालयले गरेपछि मन्त्रिस्तरीय वा मन्त्रिपरिषद् कुन तहबाट गराउँदा उपयुक्त हुन्छ भनेर आवश्यक राय मागिएको उहाँले उल्लेख गर्नुभयो । कानुनको रायपछि यो योजना अगाडि बढ्छ, आयोजना रोकिएको छैन, प्रक्रियामा नै रहेको सचिव शर्माले बताउनुभयो ।

सहरी विकास मन्त्रालयका सहसचिव इन्जिनियर सम्भु केसीले भने आवश्यक प्रक्रिया पूरा नभएर फाइल रोकेको स्वीकार गर्नुभयो । केसीले भन्नुभयो, ‘बाहिरी चक्रपथको फाइल आइपुगेको छ । यसमा कानुन अनुसार उपभोक्ता समितिमार्फत काम गर्ने भनिए पनि समिति गठन नगरेको र प्राधिकरणको निर्णयसमेत नआएकाले रोकिएको हो’ । आठ हजार नागरिकलाई प्रत्यक्ष असर पर्ने योजनामा पीडितको सहमति नदेखाई जग्गा रोक्का गर्न खोजिएको, के कसरी उपभोक्ता समितिले काम गर्ने भन्ने टुंगो नभई फाइल अगाडि बढाउन अनुमति मागेकाले आफूले रोकेको केसीले बताउनुभयो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot