Logo

बाह्य जिल्लाबाट पनि मतदाता नामावली दर्ता गराउन पाउने



काठमाडौं ४ साउन । राजनीतिक दलहरुले दबाब बढाएपछि निर्वाचन आयोगले मतदाता नामावली संकलनको कार्यलाई थप सहज बनाउने निर्णय लिएको छ । आयोगले फोटोसहितको नामावली संकलनका लागि गाउँपालिका र नगरपालिकाको केन्द्रमा आफ्नो टोली पठाउने भएको हो । साथै बाह्य जिल्लाबाट पनि नामावली दर्ताको व्यवस्था मिलाएको छ ।

आयोगले प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै साउन १ गतेबाट १५ गतेसम्म मतदाता नामावली संकलन गर्ने भनेकोमा उक्त अवधिलाई साउन ३२ गतेसम्मलाई बढाएको छ । सदरमुकामस्थित जिल्ला तथा क्षेत्रीय निर्वाचन कार्यालयबाट मात्रै मतदाता नामावली संकलनको व्यवस्था मिलाइएपछि सत्तारुढ र विपक्षी दलहरुले विरोध गर्दै मतदतालाई सहज हुने व्यवस्था मिलाउन माग गरेका थिए । नाम दर्ताका लागि आफ्नो स्थायी ठेगाना भएको जिल्ला सदरमुकाममै पुग्नुपर्ने बाध्यताको पनि दलहरुले विरोध गरेका थिए ।

आयोगको मंगलबार बसेको बैठकले साउन १६ गतेदेखि साउन ३२ गतेसम्म गाउँपालिका तथा नगरपालिकाको कार्यालयबाटै नामावली दर्ता/संकलन गरी नाम दर्ता कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको हो । आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले सदरमुकामस्थित निर्वाचन कार्यालयबाट जारी मतदाता नामावली संकलनको काम भने निर्वाचनको मिति घोषणा नभएसम्मका लागि निरन्तर सञ्चालन रहने छ । कानुनले निर्वाचनको मिति घोषणा भएपछि मतदाता नामावली संकलनमा रोक लगाएको छ ।



प्रतिक्रिया दिनुहोस्