Logo

माओवादीमा चिह्न फेर्ने बहस



काठमाडौं ४ साउन ।
सत्तारुढ माओवादी केन्द्रभित्र चुनाव चिह्न परिवर्तन गर्ने बहसले प्रवेश पाएको छ । नेकपा मालेको चुनाव चिह्न हँसिया तारासित उस्तै देखिने गरी आफ्नो दलको गोलाकारभित्र हसिया हथौडा चिह्न छापिदा मतदाताले मत चिह्नमा अल्मलिएको भन्दै जिल्ला इन्चार्जहरुले यस्तो माग गरेका हुन् । उनीहरुले मतदाता शिक्षाका क्रममा चुनाव चिह्नबारे प्रभावकारी रुपमा बताउन नसकेको भन्दै चिह्न नै बदल्नुपर्ने माग गरे ।

‘कम्युनिस्ट पार्टीको चिह्न भएकाले हामीले हसिया हथौडा छाड्न त नमिल्ने हो, तर मत परिणामको अन्तर हेर्दा २५–३० स्थानीय तह चिह्नकै कारण हारेको देखिन आयो,’ माओवादी केन्द्रका सचिवालयको विस्तारित बैठकको दोस्रो दिन जिल्ला इन्चार्जहरुको भनाइ उद्धृत गर्दै बैठक स्रोतले भन्यो, ‘नेकपा मालेले सायद आफ्नो चिह्न छाड्न नमान्ला, त्यसैले हाम्रोबारेमा सोच्ने हो कि भन्ने बहस आज उठेको छ ।’

नेता मणि थापाका अनुसार केही जिल्ला इन्चार्जले भने कम्युनिस्टहरुको अन्तर्राष्ट्रिय चिह्न बदल्दा समर्थकहरुमा झन् नकारात्मक सन्देश जान सक्ने भन्दै बरु पर्याप्त मतदाता शिक्षा दिलाउन पार्टी पंक्ति परिचालित हुनुपर्ने फरक मत पेश गरे । बैठकका सहभागीले सीपी मैनाली नेतृत्वको माले पार्टीको संगठन, उम्मेदवार हुँदै नभएका ठाउमा समेत हसिया तारामा भोट झर्नुले ती भोट माओवादीकै भएको दाबी गर्दै यसबारे संवेदनशील हुन नेतृत्वलाई आग्रह गरेका थिए । पार्टी अध्यक्ष पुष्पकमल दाहालले भने यसबारे कुनै प्रतिक्रिया दिएका छैनन् ।

मंगलबार २५ जिल्ला इन्चार्जले मात्रै बोल्ने क्रम सकिएकाले सबैको पालो सकिएपछि दाहालले जवाफ दिने पार्टी नेताहरुले जानकारी दिए ।

‘चुनावमा हारको कारण खोजीमै बैठक केन्द्रित भएको छ, जिल्ला र गाउसम्मै विस्तार भएको गुटबन्दीका कारणले पार्टीले अनपेक्षित पराजय बेहोरेको सबैतिरको रिपोर्टिङमा आएको छ,’ बैठकका सहभागी अर्का नेताले भने, ‘जनसम्बन्ध सुध्रिएको देखिएन । असमझदारी भएका ठाउमा केन्द्रीय हस्तक्षेप पुगेको देखिएन । जित्न सक्ने ठानिएका ठाउमा समेत केन्द्रीय नेताहरुको परिचालन ढिलोगरी भयो । साधन स्रोत परिचालन राम्रो नहुदा पराजय भएको समीक्षा छ ।’

जहा धेरै नेता, त्यही हार ?
जिल्ला इन्चार्जहरुले माओवादी केन्द्रको सरकार छ भन्ने अनुभूति आफ्ना मन्त्रीहरुले दिलाउन नसकेको आरोप लगाए । उनीहरुले झन्डै ५ हजार सदस्यीय केन्द्रीय समिति र त्यसै अनुरुप मातहतका भद्दा संगठनलाई जनताले विश्वास नगरेको भन्दै तुरुन्तै चुस्त संगठन बनाउन माग गरे । ‘जहा बढी केन्द्रीय सदस्य छन्, त्यहा नै शर्मनाक हार भएको छ, यो विषयको समीक्षा गर्ने कि नगर्ने ?’ एक जिल्ला इन्चार्जले भने, ‘प्रशासनिक धाँधली रोक्न पार्टी कडाइका साथ परिचालित हुनुपर्छ । प्रशासनले दलविशेषको पक्ष लिएर काम गरेका प्रमाण हामीसित छन् । हेलचेक्र्याई गर्दै गए आगामी चुनावमा पनि यस्तै हार दोहोरिन सक्छ ।’

इन्चार्जहरुले पार्टीको प्रचार कार्य युद्धकालमा जस्तै व्यवस्थित बनाउनुपर्ने धारणा पेश गरेका छन् । गुटका उम्मेदवार नभई जित्ने प्रत्याशी उठाउन उनीहरुको माग छ । मतदाता नामावली संकलनदेखि नै होसियारी अपनाउन नसक्दा पार्टी पछि परेको समीक्षाका क्रममा उठेको छ ।

केही इन्चार्जहरुले पार्टीको कार्यदिशामा अलमल रहेको भन्दै संविधान कार्यान्वयनसगै अबको कार्यदिशाबारे स्पष्ट धारणा आउनुपर्ने विचार राखेका छन् । कार्यदिशा र कार्यभार किटान नहुदा माओवदी केन्द्र पनि कांग्रेस र एमालेजस्तै हुने बाटोमा रहेको भन्दै उनीहरुले चिन्ता जाहेर गरे । नया जनवादी बाटो हुदै समाजवादमा जाने कि यसै व्यवस्थामा रमाएर बस्ने भन्ने विषयमा नेतृत्व अब प्रवेश गर्नुपर्ने केही इन्चार्जहरुको मत छ ।

सहभागी जिल्ला इन्चार्जले बोलिसकेपछि गृहमन्त्री तथा पार्टी नेता जनार्दन शर्माले आगामी संघ र प्रदेश चुनावका लागि निर्वाचन क्षेत्र निर्धारण आयोग गठनलगायत प्राविधिक काममा सरकारले तत्कालै कदम चाल्ने आश्वासन दिए । उनले सरकारले गरेका राम्रा कामलाई पार्टी पंक्तिले गौरव गर्नुपर्ने भन्दै भत्र्सनाले मात्रै कसैलाई फाइदा नहुने टिप्पणी समेत गरे । नेतृ उर्मिला अर्यालले प्रदेश २ को स्थानीय चुनावबारे पार्टीले स्पष्ट रणनीति लिएर नेतृत्वलाई तराईमा केन्द्रित गर्नुपर्ने बताइन् । कान्तिपुरबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot