Logo

प्रदेश २ मा कुन दलको कस्तो दावी ?



कांग्रेस  शीर्ष नेताहरुको दाबी

काठमाडौं ६ साउन ।  कांग्रेसका शीर्ष नेताहरूले २ नम्बर प्रदेशको निर्वाचनबाट पार्टीलाई पहिलो दल बनाउने दाबी गरेका छन् । आगामी २ असोजमा प्रदेश नम्बर २ मा हुने निर्वाचितलाई लक्षित गर्दै आयोजित प्रदेश भेलालाई सम्बोधन गर्दै कांग्रेस शीर्ष नेताहरूले उम्मेदवार चयनलाई प्रभावकारी बनाउँदा कांग्रेसलाई पहिलो पार्टी बनाउन सकिने बताएका हुन् । प्रधानमन्त्री शेरबहादुर देउवा, नेता रामचन्द्र पौडेल, महामन्त्री डा.शशांक कोइराला, कोषाध्यक्ष सीतादेवी यादवसहितका नेताहरूले समयमा उम्मेदवार चयन गर्न सक्दा कांग्रेस २ नम्बरमा झन्डै दुई तिहाइ तहमा विजयी हुने दाबी गरेका हुन् ।

कांग्रेसले पहिलो चरणमा १०४ र दोस्रोमा १२२ गरी २२६ तहमा जितेको छ । कांग्रेस एमालेभन्दा ५० तहले पछि छ । एमालेले २७६ तहमा जित हात पारेको छ । अब २ नम्बर प्रदेशका १२७ वटा स्थानीय तहमा हुने निर्वाचनमा कांग्रेसलाई पहिलो पार्टी बन्न एमालेभन्दा धेरै मत जितेर मात्र हुँदैन, झन्डै दुई तिहाइ तहमा जित्नुपर्नेछ

रातिसम्मै छलफल
आठवटै जिल्लामा छुट्टाछुट्टै समूह बनाएर गरिने छलफलको निचोड निकालेपछि शुक्रबार कार्यक्रम सकिनेछ । बिहीबार रातिसम्मै आठवटै जिल्लाबाट प्रतिनिधित्व गर्ने नेताहरू छलपलमा छुटेका थिए । कार्यक्रममा २ नम्बर प्रदेशका आठ जिल्लाका केन्द्रीय सदस्य, सांसद, क्षेत्रीय सभापति र २०७० सालको संविधानसभा निर्वाचनमा उम्मेदवार बनेर पराजित भएका उम्मेदवारसमेत सहभागी छन् । शुक्रबार आठ जिल्लाको छुट्टाछुट्टै समूह बनाएर छलफल गर्ने र सुझाव दिने तालिका छ ।नयाँपत्रिकामा खबर छ ।

एमाले

एमालेले प्रदेश नम्बर २ को स्थानीय तहको निर्वाचनमा पनि पहिलो दल बन्ने गरी रणनीति बनाएको छ । कांग्रेस र माओवादीले संविधान संशोधनलाई प्रमुख मुद्दा बनाएर विरोधी दलका रूपमा चित्रित गर्न सक्ने आँकलनसहित एमालेले त्यसलाई चिर्ने रणनीति बनाएको हो । १२७ तहमध्ये कम्तीमा ५० प्रतिशतमाथि ६५ देखि ७० स्थानमा प्रमुख जित्ने एमालेको लक्ष्य छ ।

महासचिवको नेतृत्वमा पदाधिकारी खटिने
चुनावी अभियानमा महासचिव ईश्वर पोखरेलसहित सचिवालयका सबै सदस्य खटिने भएका छन् । प्रारम्भिक तयारीमा महासचिवसहित उपमहासचिव विष्णु पौडेल र घनश्याम भुसाल, सचिवहरू प्रदीप ज्ञवाली, योगेश भट्टराई, भीम आचार्य, पृथ्वी सुब्बा गुरुङ र गोकर्ण विष्ट तराईमा खटिन लागेका हुन् ।

४४ स्थानीय तह जित्ने माओवादी दाबी

माओवादी केन्द्रले प्रदेश नम्बर २ मा ४४ स्थानीय तह जित्ने दाबी गरेको छ । सोमबारदेखि सुरु भएको केन्द्रीय सचिवालय बैठकमा प्रदेश नम्बर २ इन्चार्ज मातृका यादवले ४४ तह जित्न सकिने रिपोर्ट सार्वजनिक गरेका छन् । निर्वाचनमा योजनाअनुसार काम भएमा मधेसमा पहिलो वा दोस्रो शक्ति हुन सक्ने माओवादी अपेक्षा छ । माओवादी केन्द्रका सचिवालय सदस्य गोपाल ठाकुरले पार्टीको जनाधार बलियो भएकाले ४४ तह जित्न सक्ने सम्भावना रहेको बताए ।

यस्तो छ मधेसमा माओवादीको आस
तराई मधेसका हरेक मुद्दामा माओवादीको सद्भाव भएकाले मधेसी जनता आफ्नो पक्षमा आउने प्रदेश नम्बर २ का इन्चार्ज मातृका यादव बताउँछन् । संविधान संशोधन गर्न माओवादीले कांग्रेस, एमालेभन्दा धेरै भूमिका खेलेकाले निर्वाचन जित्ने बलियो आधार उसले देखेको छ । ‘हामी अहिले पनि संविधान संशोधन पास गराउने पक्षमा लागिरहेका छौँ,’ यादवले भने, ‘संविधान संशोधन पास वा फेल जे–जस्तो भए पनि अगाडि बढाएरै छाड्ने योजना छौँ ।’



प्रतिक्रिया दिनुहोस्

Screenshot