Logo

अनेरास्ववियुको विस्तारित बैठक चितवनमा हुने



काठमाडौँ, ६ साउन । नेकपा एमाले निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन अनेरास्ववियुको केन्द्रीय कमिटीको दोस्रो विस्तारित बैठक यही साउन २२ देखि २६ गतेसम्म चितवनमा बस्ने भएको छ ।

करिब छ महिनाअगाडि बस्नुपर्ने सो बैठक लामो समयसम्म प्राविधिक कारणले बस्न नसकेकाले अहिले बस्न लागेको बैठकलाई महत्वका साथ हेरिएको छ । पार्टीका अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्ने बैठकमा मुलुकको सङ्घीय राज्य प्रणालीअनुसार संगठनलाई समायोजन गरी नयाँ संरचनाअनुरुप कसरी शैक्षिक क्षेत्रको विकास गर्न सकिन्छ भनेर छलफल गरिने बताइएको छ ।

संगठनको भावी कार्ययोजनाका लागि आवश्यक रणनीति तयार पारिने उक्त बैठकमा अबको विद्यार्थी आन्दोलनको मार्गचित्र प्रस्ट पारिने युनियनका सचिव आरसी लामिछानेले जानकारी दिनुभयो ।

मुलुकमा विद्यार्थी आन्दोलनलाई सशक्त बनाउन भूमिका निर्वाह गर्दै आएको सो संगठनले लोकतन्त्र स्थापनाका लागि विभिन्न समयमा भएका राजनीतिक आन्दोलनमा सहभागी भई परिवर्तनका लागि सहयोग गर्दै आएको छ । देशका विभिन्न स्थानमा दैवी प्रकोप, बाढीपहिरो तथा विपद्मा परेका पीडितलाई संगठनले सहयोग उपलब्ध गराउँदै आएको छ । रासस



प्रतिक्रिया दिनुहोस्

Screenshot