Logo

दुई तिहाई नपुगे पनि संविधान संशोधन विधेयक मतदानमा लैजान कांग्रेसमा दबाव



काठमाडौं ९ साउन ।
कांग्रेसका केन्द्रीय सदस्यहरुले प्रदेश नम्बर २ को चुनावअघि नै संविधान संशोधन विधेयकलाई मतदानमा लगेर टुंग्याउन नेतृत्वलाई दबाब दिएका छन् । संविधान संशोधन पारित हुन आवश्यक दुई तिहाई मत नपुगे पनि मतदानमा लैजानुपर्ने उनीहरुको जोड छ । कांग्रेस केन्द्रीय कार्यसमितिको २ दिन चलेको बैठकमा बोल्ने सबैजसो केन्द्रीय सदस्यहरुले संविधान संशोधनलाई थाँती राख्न नहुने धारणा एकमतका साथ उठाएका थिए ।

संविधान संशोधन विधेयक पारित गर्न दुई तिहाई मत सुनिश्चित नभएका कारण राष्ट्रिय जनता पार्टी (राजपा) कै परामर्शमा सरकारले विधेयकलाई मतदानमा नलगी स्थगनमा राख्दै आएको छ । स्थगनमा राख्न नहुने पक्षमा स्यवं कांग्रेसका मधेस केन्द्रित नेताहरु नै अग्रपंङ्ती उभिएका छन् । पार्टीका मधेसबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्य, सांसद र जिल्ला सभापतिहरुको शुक्रबार राजधानीमा सम्पन्न भएको भेलाले समेत संविधान संशोधनलाई मतदानमा लैजानुपर्ने निर्णय गरेको थियो । सोही निर्णय मधेसका केन्द्रीय सदस्यले आईतबारको केन्द्रीय कार्यसमितिको बैठकमा पढेर सुनाउँदै त्यसको कार्यन्वयनमा अघि बढ्न प्रधानमन्त्री एवं पार्टी सभापति देउवासँग आग्रह गरे ।

मधेसमा कांग्रेसले आफ्नो स्थितीलाई सुदृढ बनाउन पनि संशोधन विधेयक अघि बढाउनु पर्ने निष्कर्षमा कांग्रेस नेताहरु पुगेका हुन् । संशोधन विधेयकअघि नबढाएमा राजपा एमाले भन्दा कांग्रेसकै विरुद्ध चुनावी प्रचारमा उत्रने संशय कांग्रेसका मधेस केन्द्रित नेताहरुले व्यक्त गरेका थिए । ‘मधेसमा कांग्रेस बलियो छ । बलियो पार्टीलाई कसरी कमजोर बनाउन सकिन्छ भन्ने ध्येय नै अहिले राजपाको छ,’ कांग्रेसका एक नेताले भने, ‘मुख्य प्रतिस्पर्धी कांग्रेस भएकाले राजपा संविधान संशोधन गर्न कांग्रेस नै तयार नभएको भ्रम मधेसमा फिजाएको छ । यसलाई चिर्न पनि संशोधन विधेयकलाई मतदानमा लैजानुपर्छ ।’ मतदानमा लैजादा असफल भए पनि कांग्रेसलाई असर नगर्ने मत मधेस केन्द्रित नेताहरुले नेतृत्वलाई सुझाएका छन् । ‘पारित भयो भने त्यसको जश लिन सकिन्छ, पारित भएन भने पनि एमालेकै कारण हुन सकेन भनेर त्यसैलाई मुद्दा बनाएर चुनावमा जान सकिन्छ,’ उनीहरुको भनाई छ, ‘त्यसैले चुनावअघि जसरीपनि संविधान संशोधन विधेयकलाई निर्णयमा लैजानुपर्छ ।’

बैठकमा केन्द्रीय सदस्यहरु दिलेन्द्र बडु, गगन थापा, अर्जुन जोशी, एनपी सावद्, किरण यादव, बद्री पाण्डे, पुष्पा भूषाल, वीरवहादुर बलायार, मोहन बस्नेत, इश्वरी न्यौपाने, सीता गुरुङ, जीवनबहादुर शाही, श्यामकुमार घिमिरे लगायत बोल्ने अधिकांशले संशोधन विधेयकलाई अघि बढाउन जोड दिएका थिए । ‘राजपाले के भन्छ त्यसलाई नहेरौ, संविधान संशोधन हाम्रो पनि एजेण्डा हो । मधेसी जनताले उठाएको एजेण्डा हो, राजपाको होइन,’ अधिकांश सदस्यहरुको भनाई थियो, ‘हामी आफै जिम्मेबार भएर यसलाई निर्णयमा पुर्‍याउनु सक्नुपर्छ ।’ पार्टी केन्द्रीय कार्यसमितिको बैठक जारी रहेकाले यसबारे पार्टीको औपचारिक निर्णय भने आउन सकेन ।

आइतबार पनि देउवाको आलोचना
आईतबारको बैठकमा पनि तत्कालीन प्रधानन्यायधीश सुशीला कार्कीविरुद्धको महाअभियोग दर्ता र आईजीपी नियुक्ति प्रकरणमा भएको गलत निर्णयलाई लिएर प्रधानमन्त्री एवं पार्टी सभापति देउवाको आलोचना भएको थियो ।

देउवा निकट नेताहरुले त्यसको प्रतिवाद गर्दै आईजीपी नियुक्ति गर्ने कार्यकारणी अधिकारमाथि न्यायलयको हस्तक्षेप भएको भन्दै तत्कालिन प्रधानान्यायधीश कार्की बिरुद्धको महाअभियोग प्रस्तावको औचित्व सावित गर्न खोजेका थिए । कांग्रेस नेता रमेश लेखकले कार्यकारी अधिकारमाथि हस्तक्षेप गर्ने काम भएकै कारण कार्की बिरुद्ध महाअभियोग प्रस्ताव दर्ता गरिएको बताउदै त्यसले मतदतामा कुनै असर नपारेको दावी गरेका थिए । ‘सरकारलाई मुख्य सचिव, सचिव, महान्यायधिबक्ता नियुक्ति गर्ने अधिकार छ । त्यस्तै आईजीपी कसलाई नियुक्ति गर्ने भन्ने निर्णय गर्ने अधिकार सरकारको हो, न्यायलयको होइन’ लेखकको भनाई थियो, ‘यसमा न्यालयलये कार्यकारी माथि हस्तक्षेप गरेको हो । यसलाई त्यही रुपमा बुझ्न आवश्यक छ ।’

केन्द्रीय सदस्य गगन थापाले भने स्वतन्त्र न्यायलयलाई लोकतन्त्रको प्राण मान्ने कांग्रेसले न्यायलयकै निर्णयविरुद्ध बोल्नु गलत भएको बताए । ‘अदालतबारे पार्टीले बोल्नेबारे मेरो असहमति हो,’ थापाको भनाई थियो । उनले पार्टीले उम्मेदवार छनोटमा गल्ती गर्दा कांग्रेसले आफ्नो पकड क्षेत्र समेत गुमाउन पुगेको बताएका थिए । केन्द्रीय सदस्य नविन्द्रराज जोशीले कांग्रेसका आम कार्यकर्तामा आशा भन्दा निराशा छाउने काम पार्टीबाट भएको बताए । ‘अब निराशा थप्ने काम पार्टी पंक्तिबाट नहोस’ उनको भनाई थियो । कान्तिपुरबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot