Logo

नयाँ श्रमशक्तिको झन्डै ७५ प्रतिशत वैदेशिक रोजगारीमा



काठमाडौं ९ साउन । नेपालको श्रम बजारमा उत्पादन भएको नयाँ श्रमशक्तिको झन्डै ७५ प्रतिशत वैदेशिक रोजगारीमा बाहिरिएका छन् । अर्थ मन्त्रालयको आर्थिक सर्वेक्षणअनुसार प्रत्येक बर्ष ५ लाख नयाँ श्रमशक्ति उत्पादन हुने गरेको छ । आर्थिक बर्ष ०७३/७४ मा न्यून आम्दानीका लागि नयाँ श्रम स्वीकृति लिएर तीन लाख ७३ हजार नेपाली वैदेशिक रोजगारीमा गएका छन्, जसमा १७ हजार ९ सय ७० महिला छन् । बिदामा आएर फर्केकाको समेत संख्या जोडदा गत आर्थिक वर्षमा वैदेशिक रोजगारीमा जानेको संख्या ६ लाख ५८ हजार देखिन्छ ।

प्रमुख गन्तब्य मुलुकमा आर्थिक संकट देखिदा समेत नेपाली कामदारको माग घटेको छैन । श्रम अधिकारीहरुका अनुसार सीपयुक्त जनशक्ति नहुदा अदक्ष कामदारका रुपमा खाडी तथा मलेसियामा यति ठूलो श्रमशक्ति बाहिरिएका हुन् ।

वैदेशिक रोजगार विभागका अनुसार गतबर्ष म्यानपावर (संस्थागत) मार्फत ३ लाख ६४ हजार (महिला १६ हजार) र व्यक्तिगत पहुँचतर्फ ८ हजार ५ सय (१ हजार एक सय ६६ महिला) वैदेशिक रोजगारीमा गएका छन् । बिदामा आएका मध्ये २ लाख ८४ हजार कामदार पुन: श्रम स्वीकृति लिई पहिलेकै कम्पनीमा फर्केका हुन् । पहिले श्रमस्वीकृति नलिई अवैध ढंगले गएर फर्केकामध्ये २४ हजारले फर्कंदा वैधानिक बाटो अपनाएका छन् ।

सवैभन्दा बढी कतारमा १ लाख १८ हजार (२१ सय महिला) कामदार गएका छन् । ९७ हजार (महिला ११ सय) कामदार मलेसिया, ७४ हजार (महिला ११ सय) साउदी अरब, ४९ हजार (महिला ६ हजार) यूएई र ११ हजार (महिला ४ सय) कामदार कुवेत गएका छन् । यस्तै, बहराइनमा ३३ सय (महिला २ सय), ओमनमा २३ सय (महिला ३ सय) र साइप्रसमा १५ सय (महिला ११ सय) गएका छन् । गत वर्ष तेलको मूल्यमा भारी गिरावट आएर आर्थिक संकट देखिएको साउदी अरबमा रोजगारीमा जाने कामदारको संख्यामा अनुमान गरिएजस्तो गिरावट नआएको साउदीस्थित नेपाली दूतावासले जनाएको छ । धेरै आयोजना बन्द भई हजारभन्दा बढी नेपाली अलपत्र परेपछि दूतावासले नयाँ कामदार नपठाउन सरकारलाई सिफारिस नै गर्नुपरेको थियो ।

विगतका वर्षभन्दा मलेसियामा नेपाली कामदारको माग पुन: बढेको देखिएको छ । मलेसिया जाने कामदारको लागत खर्च उच्च भए पनि झन्डै १ लाख कामदार गएका छन् । अहिले मलेसिया जाने कामदारको कागजी र छनोट प्रक्रियामै १७ हजार रुपैयाँ बुझाउनुपर्छ । ‘हामीसँग मलेसियाको माग छ तर उच्च लागतका कारण जाने कामदार भेटिँदैन,’ एक व्यवसायीले कान्तिपुरसँग भने, ‘कागजी प्रक्रियाको १७ हजार रुपैयाँ लगानी गर्न उनीहरू डराउँछन्, म्यानपावरले लगानी गर्न सक्तैन ।’

कान्तिपुरबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot