Logo

आगामी हिउँद पनि उज्यालै हुने



काठमाडौं ११ साउन ।
विद्युत् प्राधिकरणले आगामी हिउँदमा भारतबाट थप सय मेगावाट बिजुलीको बन्दोबस्ती गरी मुलुकभर लोडसेडिङ हुन नदिने तयारी गरेको छ । भारत सरकारको अनुदानमा निर्मित १३२ केभीका दुई छुट्टाछुट्टै प्रसारण लाइनबाट ५०-५० मेगावाट बिजुली ल्याई गार्हस्थ लोडसेडिङ हुन नदिन दुवै देशका अधिकारी निकट भविष्यमा जुट्दै छन् ।
भारतले पुसमा निर्माण सम्पन्न गरेको कुसाहा-कटैया र रक्सौल-परवानीपुर प्रसारण लाइनबाट नेपालले आयात गर्ने थप बिजुलीको भाउ तय गर्न लागेको प्राधिकरणको विद्युत् व्यापार विभाग प्रमुख प्रवल अधिकारीले बताए । यी दुई प्रसारण लाइनबाट आउने बिजुलीको भाउ तय भएपछि आगामी हिउँदमा सय मेगावाट बिजुली आयात हुने अधिकारीले जानकारी दिए । ‘निर्माण सम्पन्न भएर पनि भाउ तय नभएका कारण यी लाइन (कुसाहा र रक्सौल) बाट थप बिजुली आयात भएको छैन’, अधिकारीले मंगलबार अन्नपूर्णसित भने, ‘व्यापारिक तवरमा आयात हुने भाउ छिनोफानो भएपछि नेपालमा बिजुली आयात गर्न सहज हुनेछ ।’

भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्यायले भारतीय विद्युत्मन्त्री पीयूष गोयललाई भेटी नेपाल-भारत विद्युत् आदानप्रदान समिति (पीईसी) को बैठक राखी थप आयात हुने बिजुलीको भाउ तय गर्न आग्रह गरेका थिए । उपाध्यायको आग्रह स्वीकार गर्दै भारतीय विद्युत्मन्त्री गोयलले सम्बद्ध भारतीय अधिकारीलाई निर्देशन दिएपछि बैठक बस्न लागेको हो । नयाँदिल्लीस्थित नेपाली दूतावासले यही साउन ४ गते परराष्ट्र मन्त्रालयलाई पत्र पठाई बैठक बस्न लागेको अवगत गराएको छ ।
‘भारतीय विद्युत्मन्त्री गोयलले एक साताभित्र पीईसीको बैठक बसी खरिद-बिक्री मूल्य पुनरवलोकन गर्न निर्देशन दिएको जानकारी नेपाली दूतावासमार्फत परराष्ट्र मन्त्रालयबाट पाइयो’, अधिकारीले भने, ‘नेपाली पक्षले पनि सोहीअनुसार भारतीय पक्षसँग बैठकका लागि समन्वय गरिरहेको छ।’
यसअघि १४ फेब्रुअरी २०१७ मा काठमाडौंमा भएको ऊर्जा सचिवस्तरीय संयुक्त स्थायी समिति (जेएसटी) को बैठकले कुसाहा-कटैया र रक्सौल-परावानीपुर १३२ केभी प्रसारण लाइनबाट कारोबार हुने बिजुलीको व्यापारिक सर्त तय गर्न निर्देशन दिएको थियो । तीन महिनाअघि प्राधिकरण र भारतीय अधिकारबीच नयाँदिल्लीमा यस सम्बन्धमा छलफल भए पनि सहमति हुन सकेको थिएन ।
अधिकारीका अनुसार पीईसीको बैठक यसै साता बस्ने अपेक्षा गरिए पनि भारतीय पक्षसित छलफल गर्दा उसले चाँडो मिति तय गरिने जानकारी दिएको छ । हाल नेपालले विभिन्न नाकाबाट भारतीय बिजुली आयात गरिरहेको छ ।
अन्नपूर्णपोष्टबाट

 



प्रतिक्रिया दिनुहोस्

Screenshot