Logo

प्रदेश नम्बर २ मा कांग्रेस एमाले रणनीति



काठमाडौं १५ साउन । कांग्रेसले आफ्नो नीति, नेतृत्व, संगठन र कार्यकर्ताको ‘अस्तित्वको लडाइँ’का रूपमा आगामी असोज २ गते हुने तेस्रो चरणको स्थानीय तह निर्वाचनलाई लिने भएको खबर आजकोअन्नपूर्ण पोस्टमा छ ।

पहिलो र दोस्रो चरणको निर्वाचनमा एमालेभन्दा ५० स्थानीय तह कम जितेको कांग्रेसले तेस्रो चरणमा कम्तीमा एक सिट भए पनि बढी जित्नै पर्ने रणनीति अपनाउने स्रोतले जनाएको छ ।

आगामी असोज २ गते प्रदेश नम्बर २ का १२७ स्थानीय तहमा तेस्रो चरणको निर्वाचन हुँदै छ । अघिल्लो शनिबारदेखि तीन दिन बसेको केन्द्रीय कार्यसमिति बैठकमा पहिलो र दोस्रो चरणको निर्वाचनको समीक्षाका साथै तेस्रो चरणको निर्वाचनका लागि रणनीति तय गर्ने सम्बन्धमा छलफल भएको थियो ।

एमालेको योजना
तेस्रो चरणको स्थानीय तह निर्वाचनबाट पनि पहिलो पार्टी बन्ने आकांक्षा राखेको एमालेले मुख्य प्रतिस्पर्धी कांग्रेसबाहेक बाँकी सबै पार्टीसँग २ नम्बर प्रदेशमा चुनावी तालमेल गर्ने नीति लिएको छ । कांग्रेसले २ नम्बर प्रदेशमा पहिलो पार्टी बन्ने दाबी गरेपछि कांग्रेसलाई उछिन्न र पहिलो नम्बरमा यथावत रहन एमाले चुनावमा आक्रामक रुपमा प्रस्तुत हुने तयारीमा छ । एमाले नेताहरूले २ नम्बर प्रदेशमा पनि एमाले नै पहिलो पार्टी बन्ने दाबी गरिरहेका छन् ।

पहिलो र दोस्रो चरणको निर्वाचनबाट कांग्रेसभन्दा ५० सिटले अघि रहेको एमाले कुनै पनि स्थितिमा एक नम्बरको स्थान गुमाउन नहुने निष्कर्षमा छ । पहिलो र दोस्रो चरणबाट एमालेले २ सय ७६ स्थानमा प्रमुख÷अध्यक्ष जितेको छ भने कांग्रेस २ सय २६ स्थानमा विजयी भएको छ । भरतपुर महानगरपालिकाको मतपरिणाम आउन बाँकी छ ।

‘कांग्रेस पहिलो हुनलाई २ नम्बरमा १ सय सिट जित्नुपर्छ भने एमाले शून्य हुनुपर्छ,’ एमाले सचिव प्रदीप ज्ञवालीले भने, ‘यस्तो हुनु असम्भव छ । एमालेलाई पहिलो हुनबाट कसैले पनि रोक्न सक्दैन ।’



प्रतिक्रिया दिनुहोस्

Screenshot