Logo

एनएमए निर्वाचनमा राजनीतिक भिडन्तएनएमए निर्वाचनमा राजनीतिक भिडन्त



काठमाडौँ, १७ साउन । पर्वतीय पर्यटनको छाता संस्था नेपाल पर्वतारोहण संघ एनएमएको यही साउन २१ गते हुने निर्वाचनमा प्रमुख राजनीतिक दल निकट व्यवसायीबीच चर्को प्रतिस्पर्धा हुने भएको छ ।

एनएमएको नेतृत्व हत्याउनका लागि मुख्य प्रतिस्पर्धीका रुपमा जिम्बा जाङ्बु शेर्पा र सन्तवीर लामाको समूहले प्यानलसहित उम्मेदवारी घोषणा गरेको छ ।

शेर्पालाई नेपाली काँगे्रसनिकट नेपाल पर्यटन व्यवसायी संघ, नयाँ शक्ति निकट तथा स्वतन्त्र पर्यटन व्यवसायीको समर्थन छ, भने लामालाई नेकपा एमाले निकट राष्ट्रिय नेपाल पर्यटन व्यवसायी संगठन र नेकपा माओवादी केन्द्र निकट नेपाल पर्यटन व्यवसायी संगठनले साथ दिएको छ । अध्यक्षका आकांक्षी दुवै एनएमएका उपाध्यक्ष हुन् ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा समेत प्रतिष्ठित संघको नेतृत्व हत्याउन आकांक्षी उम्मेदवारले एक महिनाअघिदेखि नै दौडधुप र प्रचारबाजी तीव्र पारेका छन् । दुवै पक्षका व्यवसायीले दलगत र गुटगत रुपमा भेला, छलफल गरी निर्वाचनमा आफूलाई अब्बल दाबी गरिरहेका छन् ।

पर्यटनलाई राजनीतिमुक्त बनाउनुपर्छ भनेर व्यवसायीलाई ‘अर्ती’ दिने नेताहरु नै अहिले एनएमए निर्वाचनलाई लिएर राजनीतिक रुपमा भेला र छलफलमा जुटिरहेका छन् । ठूला पार्टीका पर्यटन विभाग हेर्ने नेताहरु निर्वाचनमा खुलेर व्यवसायीको भेला र भाषणबाजीमा सक्रिय छन् ।

एक साताअघि उल्लेख्य पर्यटन व्यवसायी भेला भएको एक कार्यक्रममा एमाले पर्यटन विभाग प्रमुख सूर्य थापाले ‘पर्यटनलाई राजनीतिबाट मुक्त गरौँ’ भनेर भाषण गर्नुभयो तर, दुई दिनअघि अध्यक्षका उम्मेदवार लामाको पक्षमा रणनीति बनाउन राजनीतिक भेलामा सहभागी बन्नुभयो । पर्यटनलाई राजनीतिमुक्त नभई राजनीतिकरण मुक्त गरिनुपर्ने उहाँको भनाइ थियो ।

थपाजस्तै माओवादी केन्द्रका पर्यटन विभाग हेर्ने नेता लोकेन्द्र विष्टमगरले पनि निर्वाचनको पक्षमा माहोल सिर्जना गर्न व्यवसायी भेला गर्नुभयो । दुवै नेता सहभागी भई व्यवसायीसँग छलफल भेला गर्दै आएका छन् ।

यता नेपाली काँग्रेस निकट पर्यटन व्यवसायीले पनि प्रत्यक्ष रुपमा राजनीतिक रङ दिएर एनएमए निर्वाचनको प्रचारप्रसार भेला र गुटगत छलफललाई तीव्रता दिएको छ । यद्यपि, ठूला नेता भने छलफलमा सहभागी भएको देखिदैन ।

यसअघिका ट्रकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल ९टान० र नेपाल एसोसिएसन अफ ट्राभल एन्ड टूर एजेन्ट ९नाटा०, ठमेल पर्यटन विकास परिषद्, गाउँ पर्यटन प्रवद्र्धन मञ्च भिटोभ लगायत निर्वाचनमा पनि तीव्र राजनीतिकरण भएको थियो । अहिले पर्यटन व्यवसायसँग सम्बन्धित ४० भन्दा बढी संस्था सक्रिय छन् ।

संस्थाको व्यावसायिक छवि जोगाउन निर्वाचनमा सर्वसम्मत नेतृत्वका लागि वार्ता र छलफल भए पनि त्यस्तो सहमतिको सम्भावना नदेखिएको एनएमएका अध्यक्ष आङछिरिङ शेर्पाले बताउनुभयो ।

उहाँले एनएमएको छवि र गरिमालाई उँचो बनाउन राजनीतिक प्रचारबाजी र विवादभन्दा पनि निश्पक्ष प्रतिस्पर्धा हुुनुपर्नेमा जोड दिनुभयो ।
व्यवसायीका आ–आफ्नै दाबी

अध्यक्षका दुवै प्रत्यासीले निर्वाचनमा व्यवसायीको मत आफ्नो पक्षमा आउने दाबी गरेका छन् । प्रत्यासी जिम्बा जाङबु शेर्पाले सबै राजनीतिक पार्टीका साहसिक पर्यटन व्यवसायी लागेकाले आफ्नो समूहले सर्वसम्मत जित्ने बताउनुभयो । विपक्षी समूह एनएमएलाई कमजोर पार्ने गरी विगतमा लागेकाले उसको पक्षमा मत नजाने शेर्पाको दाबी छ ।

अर्का प्रत्यासी सन्तवीर लामाले आफ्नो समूह व्यावसायिक आरोहीको भएकाले निर्वाचनमा जित पक्का रहेको बताउनुभयो ।  निर्वाचनबाट एनएमएको आठौँ अध्यक्षसहित पदाधिकारी, सदस्य गरी २५ सदस्यीय नयाँ कार्यसमिति चयन हुनेछ । निर्वाचनका लागि एक हजार ३९ मतदाता रहेका छन् ।

विश्वको सर्वोच्च शिखर सगरमाथासहितका हिमाल आरोहणसँग जोडिएको एनएमएको छवि अन्तर्राष्ट्रिय जगतमा चर्चित छ । एनएमएका हिमाली क्षेत्रमा १३ च्याप्टर छन् ।  नयाँ नेतृत्वका लागि मनोनयन एनएमएको निर्वाचनका लागि प्रत्यासी शेर्पा र लामा समूहले प्यानलसहित आज मनोनयन दर्ता गराएका छन् । दुवै समूहका प्रत्यासी उम्मेदवारले एनएमएमा मनोनयन दर्ता गराएका हुन् ।

दुवै समूहले आ–आफ्नो प्यानल घोषणा गरिसकेका छन् । निर्वाचनको संघारमा दुवै समूहले पत्रकार सम्मेलन गरी प्यानल सार्वजनिक गरेका छन् । अध्यक्षका प्रत्यासी लामाले केहिबेर अघि पत्रकार सम्मेलन गरी आफ्नो प्यानल सार्वजनिक गर्नुभयो भने शेर्पा समूहले सोमबार नै प्यानल सार्वजनिक गरिसकेको छ ।

शेर्पा प्यानलको प्रथम उपाध्यक्षमा भूमी लामा, द्वितीय उपाध्यक्षमा ङिमी शेर्पा, महासचिवमा कुलबहादुर गुरुङ, सचिवमा पी छेवाङ शेर्पा र कोषाध्यक्षमा बिमलकुमार नहर्की रहेका छन् । त्यस्तै सदस्यमा डा हरि श्रेष्ठ, आङछेवाङ शेर्पा, तुलसी गुरुङ, पेम्बा दोर्जे शेर्पा, दुर्गानाथ बलराम न्यौपाने, मुकुन्द पोखरेल, दा गेल्जे शेर्पा, ल्हाक्पा तेन्जी शेर्पा र देवी पन्त रहेका छन् ।

त्यसैगरी लामा प्यानलको प्रथम उपाध्यक्षमा दिवशविक्रम शाह, द्वितीय उपाध्यक्षमा माया शेर्पा, महासचिवमा बोधराज भण्डारी, सचिवमा टीकाराम गुरुङ र कोषाध्यक्षमा सुदर्शन न्यौपाने छन् । त्यस्तै सदस्यमा शिवबहादुर सापकोटा, सुमनप्रसाद न्यौपाने, सिङ्गे लामा, सञ्जीव गुरुङ, विनय शाक्य, पासाङ टेण्डी शेर्पा, ठाकुरप्रसाद सापकोटा, सञ्जिव गुरुङ र मिङमार शेर्पा छन् ।

निर्वाचनबाट जुन समूह विजयी भएपनि राजनीतिक आवरणबाट मुक्त रही एनएमएलाई व्यावसायिक बनाउनुको साथै अन्तर्राष्ट्रिय जगतमा नेपालको पर्वतारोहणको पहिचानलाई अझ उचाइमा पु¥याउन महत्वपूर्ण भूमिका खेल्नेछ । त्यस्तै, पराजयलाई प्रतिशोधको रुपमा नहेरी संस्था र पर्यटन व्यवसायलाई मर्यादित र संगठित बनाउने कार्यमा लाग्नुमा नै सबैको जीत हुनसक्दछ । रासस



प्रतिक्रिया दिनुहोस्