Logo

दिनहुँ घरेलु हिंसाका ३१ उजुरी



काठमाडौं १९ साउन ।
सिरहाकी मीना (नाम परिवर्तन) लाई प्रशस्त दाइजो नल्याएको निहुँमा श्रीमानले घरबाट निकाले । परिवारको मानसिक यातना खप्न नसकेपछि ६ महिनादेखि उनी घरबारविहीन भएकी छन् । प्रमाणपत्र तहसम्म अध्ययन गरेकी मीना माइतीले पनि बेवास्ता गरेपछि न्यायको खोजीमा भौंतारिएकी छन् ।

रामेछापकी बिना (नाम परिवर्तन) लाई पनि कम पढेको निहुँमा उनका श्रीमानले घरबाट निकाले । मानसिक यातना सहन नसकेपछि उनी दुई वर्षदेखि माइती बस्दै आएकी छन् ।

प्रत्येक वर्ष प्रहरी, महिला आयोग र स्थानीय निकायमा घरेलु हिंसाविरुद्ध उजुरी दिने क्रम बढदै जान थालेको छ । परिवारद्वारा परिवारकै सदस्यविरुद्ध गरिने आर्थिक, मानसिक, शारीरिक, सामाजिक र यौनजन्य हिंसालाई घरेलु हिंसा मानिन्छ । घरेलु हिंसा महिला, बालबालिका, पुरुष एवं तेस्रो लिंगी जोकोहीमाथि हुन सक्छ । प्रहरीको महिला तथा बालबालिका सेवा निर्देशनालयका अनुसार आर्थिक वर्ष २०७३/७४ मा घरेलु हिंसाका ११ हजार ६ सय ५२ उजुरी परेका छन् । यो संख्याका आधारमा प्रत्येक दिन ३१ वटा घरेलु हिंसाका उजुरी दर्ता हुने गरेको देखिन्छ ।

प्रहरी प्रवक्ता पुष्कर कार्कीले सञ्चारमाध्यमको पहुँच र चेतनासँगै घरेलु हिंसाविरुद्ध उजुरी दर्ता गर्नेको संख्या बढेको बताए । ‘घरेलु हिंसा पहिले पनि थिए तर मानिसको पहुँच सञ्चारमाध्यम र सामाजिक सञ्जालसम्म थिएन, गाउँघरमै त्यस्ता घटनालाई पीडित र पीडकबीच मेलमिलापमै टुंग्याइन्थ्यो,’ उनले भने, ‘अब त्यस्तो रहेन, प्रविधिको विकासले सामान्य घटनासमेत सामाजिक सञ्जालमा एकैछिनमा भाइरल हुन्छन् ।’ त्यसका साथै मुलुकका कुनाकाप्चामा प्रहरीको उपस्थिति रहेको भन्दै उनले प्रहरीसमक्ष पीडितले सजिलै उजुरी दिने बताए । ‘सञ्चारमाध्यमले पीडितका आवाज बाहिर ल्याइदिन्छ,’ उनले थपे, ‘धम्की या दबाबमा कोही बस्दैनन् ।’

घरेलु हिंसाबाट महिला नै बढी पीडित हुने गरेको कार्कीले बताए । पितृसत्तात्मक समाजमा महिलामाथि बढीजसो घरेलु हिंसा हुने गरेको उनको भनाइ छ । बालविवाह, वेश्यावृत्ति तथा बेचबिखन, कुटपिट, दुव्र्यवहार, गर्भावस्थामा लिंग पहिचान र भू्रण हत्या, शिक्षामा विभेद, यातना, शारीरिक, मानसिक, आर्थिक तथा यौन दुव्र्यवहार, दाइजो, अपांग र विधवामाथिको दुव्र्यवहारलाई महिलामाथि हुने हिंसा मानिने उनले बताए । पुरुषहरू पनि घरेलु हिंसाको सिकार हुने गरेको उनले बताए । ‘हाम्रो समाजमा महिला खुल्छन्, पुरुष अलि खुल्दैनन्, फरक यतिमात्र तर हिंसा पुरुषमाथि पनि भइरहेको छ,’ उनले भने, ‘अहिले त्यस्ता उजुरी पनि आउन थालेका छन् ।’ कान्तिपुरबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot