Logo

किन पुगे राजदूत पुरी बालकोट ?



काठमाडौं १९ साउन । ‘पहिलाजस्तो भारत नरहेको’ सन्देशसहित भारतीय राजदूत मञ्जिभ सिंह पुरीले एमाले अध्यक्ष केपी ओलीलाई भारतको स्वतन्त्रता दिवसका अवसरमा आयोजना हुने एक महत्वपूर्ण कार्यक्रममा निम्ता दिएका छन्। भारतको ७० औं स्वतन्त्रता दिवसका अवसरमा काठमाडौंस्थित दूतावासमा भारतीय विदेशमन्त्री सुष्मा स्वराज उपस्थित हुने कार्यक्रममा ओलीलाई उपस्थित भइदिन राजदूत पुरीले विशेष आग्रह गरेका थिए। किड्नी प्रत्यारोपणपछि विदेशमन्त्री स्वराज नेपाल आउन लागेकी हुन् भने एमाले अध्यक्ष ओलीको पनि किड्नी प्रत्यारोपण गरिएको छ। यो खबर नरेन्द्र साउदले आजको अन्नपूर्णमा लेखेका छन्।

स्वराज उपस्थित हुने कार्यक्रममा ओलीलाई जोड गर्नुले भारत एमालेसँग सम्बन्ध सुधारमा लागेको हुन सक्ने जानकारहरूको बुझाइ छ।’पोखरामा भएको सार्क विदेशमन्त्रीस्तरीय बैठक, त्यसअघि दिल्लीमा ओली र स्वराजबीच लामो छलफल भएको थियो’, एमालेका एक नेताले भने, ‘ओलीलाई बुझ्ने भएकाले भारतले स्वराजलाई काठमाडौं पठाएको हो कि भन्ने पनि देखिन्छ।’

संविधानसभाबाट संविधान जारी गर्न ‘केही दिन पर्खिदिन’ आफ्ना दूतमार्फत पठाएको सन्देश एमाले अध्यक्ष ओलीले स्वीकार नगरेको भन्दै भारतको सत्तापक्ष (प्रधानमन्त्री नरेन्द्र मोदी) ओलीसँग रिसाएको छ। संविधान जारीपछि भारतले ६ महिनासम्म नाकाबन्दी लगाएको थियो भने ओली सरकारलाई ‘अपदस्थ गर्न’ भारतले भूमिका खेलेको भन्दै ओली पनि रिसाएका थिए। ‘एमालेलाई घेराबन्दी गरेर कमजोर पार्न सकिन्छ भनेर गरेको प्रयास नेपाली जनताले चुनावबाट परास्त गरिदिएपछि राष्ट्रिय स्वार्थका लागि पनि भारतले एमालेसँग मिलेर अघि बढ्न खोजेजस्तो देखिन्छ’, एमाले नेताले भने।

भारतका लागि पूर्वराजदूत प्राध्यापक लोकराज बरालले ओलीलाई ‘स्पेसल’ निम्ता दिएर भारतले एमालेसँग सम्बन्ध सुधार गर्न खोजेको बताए। ‘सबै पक्षको सहयोग लिएर अघि बढ्ने र ओलीजीलाई केही लागेको छ भने त्यो कुरा पनि सुन्ने पक्षमा भारत देखिन्छ,’ बरालले भने।

निम्ता दिन गएका राजदूत पुरीसँग ओलीले झन्डै २ घन्टा कुराकानी गरेको उनको निजी सचिवालयले जनाएको छ। नेपाल-भारत सम्बन्ध जनस्तर र नेतृत्व तहमा राम्रो भए पनि बिचौलिया र आफ्नो स्वार्थअनुसार काम गर्ने एक÷डेढ दर्जन मान्छेका कारण बिग्रेको कुरा ओलीले राजदूत पुरीलाई बताएका थिए।

ओलीका स्वकीय सचिव अनिष दाहालका अनुसार राजदूत पुरीले पनि नेपाल र भारतको सम्बन्ध चीन र नेपालको जस्तो नभएको बताएका थिए। ‘पहिलाजस्तो भारत नरहेको भन्दै सम्बन्ध सुधार गर्न तयार रहेको’ राजदूत पुरीले ओलीलाई बताएको दाहालले जानकारी दिए। त्यस क्रममा ओलीले विगतमा राजाले अक्षम भनी घोषणा गरेका देउवाले अहिले पनि अक्षम काम गरिरहेको बताएका थिए। विगतमा कांग्रेससँग एमालेले सहकार्य गरे पनि स्थानीय चुनावमा साधन स्रोतको दुरुपयोग गरी एमालेलाई घेराबन्दी गर्ने काम गरेको ओलीले बताएका थिए। जवाफमा पुरीले नेपालको राजनीतिमा आफ्नो कुनै भूमिका नहुने भन्दै यहाँकै दलहरूले समस्या समाधान गर्नुपर्ने बताएका थिए।

ओलीले ७ माघभित्र प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचन गर्नुपर्ने संवैधानिक बाध्यता रहे पनि चुनाव गराउनेतिर सरकार पटक्कै नलागेको कुरा राजदूत पुरीलाई बताएका थिए। ओलीले प्रदेशको चुनाव हुन सक्ने अवस्था नरहे संवैधानिक संकट आउन नदिन प्रतिनिधिसभाको निर्वाचन गर्नुपर्ने आफ्नो मान्यता रहेको कुरा राजदूत पुरीलाई बताएको स्वकीय सचिव दाहालले जानकारी दिए। स्वराज उपस्थित हुने कार्यक्रममा ओलीलाई जोड गर्नुले भारत एमालेसँग सम्बन्ध सुधारमा लागेको हुन सक्ने जानकारहरूको बुझाइ।



प्रतिक्रिया दिनुहोस्

Screenshot