काठमाडौं २० साउन ।
रुकुमको कोल गाउपालिकाकी धनमाया (नाम परिवर्तन) को फेसबुकमार्फत कञ्चनपुरका एक युवकसँग परिचय भयो । कुराकानीसँगै मोवाइल नम्बर पनि साटासाट भयो । घण्टौं फेसबुकमै झुण्डिएर ति युवकसँग उनी गफिन्थिन् । धनमाया ति युवकसँग प्रेममा फस्न थालिन् ।
फेसबुकमा युवक र युवतीले आफ्नो तस्विर राखेका थिएनन् । अचानक एकदिन धनमायाको फेसबुक ब्लक भएपछि फोनमा कुराकानी हुन थाल्यो । फेसबुक र मोवाइलमा लामो समय कुराकानीपछि उनीहरु दुवै नजिक भए । ति युवकले धनमायालाई घुम्ने बहानामा बोलाउन थाले । धेरै कर गरेपछि धनमाया आफ्नी दिदिसँगै महेन्द्रनगर पुगिन् ।
युवकले उनलाई बनबसा पुलमा बोलाएका थिए । गड्डाचौकी नाका हुँदै जान लागेका दिदीबहिनीलाई माईती नेपालका कर्मचारीले रोकेर सोधपुछ गरे । त्यसपछि माईती नेपालका कर्मचारी युवतीहरुलाई गड्डामै राखेर युवक खोज्न हिंडे । नेपाली र भारतीय प्रहरीको सहयोगमा ति युवक पक्राउ पनि परे । उनी पक्राउ परेपछि धनमाया र उनकी दिदिलाई भारततिर पठाउन खोजेको रहस्य बाहिर आयो ।
‘धन्न हामी जोगियौं’ गत साता माईती नेपालले उद्धार गरेर फिर्ता ल्याएपछि घर जाने क्रममा भेटिएकी धनमायाले भनिन्, ‘फेसबुक र मोवाइलकै भरमा झण्डै बेचिएका थियौं ।’ युवकले झोलुंगे पुल, शुक्लाफाँटा र बनबसा पुल घुमाइदिने भन्दै बोलाएको उनले बताइन् ।
माईती नेपालले भारतीय प्रहरीको एण्टी ह्युमन ट्राफिकिंङ सेलको सहयोगमा महाकाली नगरपालिकाका मोहन पाललाई नियन्त्रणमा लिएको हो । उनीसँग ५ किलोग्राम अफिमसमेत भेटिएपछि भारतीय प्रहरीले नै हिरासतमा राखेको छ । ‘उनले आफूलाई अर्कै युवकले युवतीहरु ल्याउन पठाएको बयान दिएका छन्’ माईती नेपाल कञ्चनपुरकी संयोजक महेश्वरी भट्टले भनिन्, ‘अफिम मेटिएपछि भारतीय प्रहरीले ति युवकको पनि खोजी गरिरहेको छ ।’ मोहनले धनमायासँग फोन र फेसबुकमा कुरा गर्ने पनि आफू नभएको बताएको उनले बताइन् ।
मोवाईल र फेसबुकको बढो प्रयोगले केहि वर्षयता त्यसकै माध्यमबाट मायाप्रेमको जालमा फसेर कयौं युवतीहरु भारत पुगेको हुन सक्ने रोकथाममा लागेकाहरु बताउछन् । सिमामा रोकथाम गरिएकाहरु पनि अधिकांस मोवाइलबाटै सम्पर्क भएका छन् । ‘दुई/चार महिना सम्म कुराकानी हुन्छ, मोवाइलकै भरमा घर छाडेर हिड्छन्’ माईती नेपालकि संयोजक भट्टले भनिन्, ‘दलालको फन्दामा परेर भारत पुगेपछि पछुताउछन् ।’ उनका अनुसार यतिबेला गड्डाचौकी नाकामा हरेक दिन भारत भएर तेस्रो मुलुक जाने तथा दलालहरुकै फन्दामा परेर भारत जाने ३/४ जना युवती भेटिने गरेका छन् ।कान्तिपुरबाट