काठमाडौं २१ श्रावण । मिर्मिरे युवा समाजको आयोजनामा सरसफाई अभियान सम्पन्न भएको छ । काठमाडौं महानगरपालिकाको सहयोगमा काठमाडौं क्षेत्र नम्बर २ तथा काठमाडौं महानगरपालिका वडा नं ९ क्षेत्रभित्र सरसफाई अभियान सम्पन्न गरिएको हो ।
विगत २ दशकदेखि शिक्षा, स्वास्थ्य, खेलकुद र विभिन्न समाज सुधारका कार्य गर्दै आएको मिर्मिरे युवा समाजले आयोजना गरेको सफाई अभियानको उद्घाटन उपमेयर हरिप्रभा खड्गीले गरेकी थिईन ।
सफाई अभियानको उद्घाटन गर्दै उपमेयर खड्गीले आजैको मितिबाट पानीको फोहोरालगायत विभिन्न उपकरणहरुबाट हरेक महिना सिनामङ्गल क्षेत्रलाई सफा र हराभरा बनाउने प्रतिवद्धता व्यक्त गरिन् ।गाउँ, वडा र सहर सफा राख्न स्थानीय नेता, समाजसेवी, युवा विद्यार्थीहरुको महत्वपूर्ण भूमिका रहने भन्दै समाज सुधारका लागि सबैको मन सफा हुनुपर्ने बताईन् ।
महानगरपालिकाको उद्देश्य काठमाडौंलाई सुन्दर सहर, हरियाली सहर बनाउने रहेको हुँदा हरेक युवालाईहरुलाई साथ दिन आव्हान गरिन् ।
क्लबका अध्यक्ष राजीव थापाले विगत १५ वर्षदेखि संस्थाले सञ्चलन गर्दै आएको मिर्मिरे शिक्षा कोष अन्तर्गत २४ जना विपन्न विद्यार्थीहरु विभिन्न स्कुल, क्याम्पसहरुमा निःशुल्क अध्ययन गराईरहेको जानकारी दिए ।
उनले भने, बाटो बनाउनेदेखि ढल राख्ने, नाला सफाई गर्ने काम क्लबका पदाधिकारीहरु, स्थानीय समाजसेवी, युवा वर्गहरु अग्रपङ्तीमा लागिपर्नुभएको कारण केही समयभित्र सिनामङ्गल क्षेत्र काठमाडौंकै नमूना वडा बन्ने छ । सफाई अभियानमा स्थानीय सामाजिक संघ संस्था, जनपथ तथा सशस्त्र प्रहरी र स्काउटका विद्यार्थीहरुको उल्लेख्य सहभागीता रहेको थियो । सफाई अभियानको नेतृत्व दिनेश विक्रम शाहले गरेका थिए ।