Logo

तराइका जिल्लाहरुमा रहेका सरकारी अस्पतालको अनुगमन सुरु



काठमाडौ, २५ साउन । सरकार मातहत रहेका अस्पतालहरु सुधार गर्न स्वास्थ्य मन्त्रालयले अनुगमनलाई तिब्रता दिएको छ । स्वास्थ्य मन्त्री गिरीराजमणि पोखरेलको पहलमा उपत्यकाको ३ जिल्लापछी तराइका जिल्लाहरुमा रहेका सरकारी अस्पतालको अनुगमन सुरु गरिएको हो ।

मन्त्रालयले सर्लाही, महोत्तरी, धनुषा, बारा, पर्सा, रौतहट, सप्तरी, सुनसरी, सर्लाही लगायतका जिल्लाहरुमा रहेका सरकारी अस्पताल तथा जिल्ला स्वास्थ्य कार्यालयमा अनुगमन गरेको छ ।

स्वास्थ्य मन्त्रालयका प्रमुख बिषेशज्ञ डा. पुष्पा चौंधरीको नेतृत्वको अनुगमनमा टोलीमा डा. दिपेन्द्र रमण सिंह, नरेशप्रताप केसी, तरुण पौंडेल लगायतको टोलीले २ नम्बर प्रदेश अन्र्तगतका जिल्लाहरुमा रहेका सरकारी स्वास्थ्य सस्थामा अनुगमन गरेको हो ।

स्वास्थ्य मन्त्री गिरीराजमणि पोखरेलले सरकारी अस्पतालहरुको सेवा प्रभावकारी बनाउनका लागि स्वास्थ्य सस्थामा अनुगमन थालिएको बताउनुभयो । अनुगमन टोलीले स्वास्थ्य सस्थामा पुगेर सकारात्मक-नकारात्मक रिपोर्ट ल्याउँछ, मन्त्री पोखरेलले भन्नुभयोः “हामी त्यहि आधारमा स्वास्थ्य सस्था सुधार गर्न एक्सन प्लानमा जानेछौ ।”

मन्त्री पोखरेलले सरकारी अस्पतालहरुमा तत्काल गर्न सकिने सुधारहरु, केही समयपछि गर्न सकिने र दिर्घकालमा गरिने सुधारहरुको ठोस योजना ल्याएर अघि बढ्दा सरकारी अस्पतालहरु सुधार गर्न सकिने बताउनुभयो । जस्तोसुकै जटिल अवस्था भएपनि सरकारी स्वास्थ्य सस्था सुधार गरेर अघि बढ्नुपर्ने मन्त्री पोखरेलको भनाई रहेको छ ।

नीति योजना तथा अन्र्तराष्ट्रिय महाशाखा प्रमुख डा. श्रीकृष्ण गिरीले सरकारी सस्था सुधार गर्न मन्त्रालयले अनुगमन पश्चात ठोस योजना अघि बढाउने जानकारी दिनुभयो ।

डा. गिरीले सरकारी स्वास्थ्य सस्थालाई राम्रो बनाउन अस्पतालमा कार्यरत चिकित्सकहरु मात्र लागे पनि पुग्ने भन्दै अनुगमनसंगै सरकारी अस्पताल सुधारको काम गरिने बताउनुभयो ।

अनुगमनमा सहभागि चिकित्सक डा. दिपेन्द्ररमण सिंहले अनुगमनका क्रममा सुधार गर्न सके सरकारी अस्पतालहरुलाई सेवा र पूर्वाधारको हिसाबले अब्बल बनाउन सकिने बताउनुभयो ।

कुनै अस्पतालमा दरबन्दी अनुसार जनशक्ति छैन, कुनैमा भौतिक संरचना प्रशस्त छ, जनशक्ति छैन, कहि जनशक्ति छ पूर्वाधार छैन, सिंहले भन्नुभयोः “नेतृत्व दिनसक्ने प्रमुख भएको खण्डमा सरकारी स्वास्थ्य संस्थालाई राम्रो बनाउन सकिन्छ ।”

डा. नरेशप्रताप केसीले कतिपय अस्पताल तथा स्वास्थ्य सस्थाहरुको अवस्था भने दयनिय रहेको बताउनुभयो । सामान्य परिवर्तन गर्न सकेपनि सेवाग्राहिले धेरै परिवर्तन गरेको महशुस गराउन सकिन्छ, केसीले भन्नुभयोः “कतिपय अस्पतालहरु सरकारी मानसिकताका कारण सुधार हुन सकेका छैनन ।” प्रमुख विशेषज्ञ डा. पुष्पा चौधरीले सरकारी अस्पतालहरु सुधार गर्न सकिने अवस्थामा रहेको जानकारी दिनुभयो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot