Logo

अझै १२० नगरपालिका निमित्तको भरमा



काठमाडौँ, २५ साउन । अझै १२० नगरपालिका निमित्त कार्यकारी अधिकृतको भरमा चलिरहेका छन् । नयाँ बनेका नगरपालिकामा उपसचिव नहुँदा निमित्त कार्यकारी अधिकृतको भरमा सञ्चालन भएका हुन् ।

सामान्य प्रशासन मन्त्रालयले कर्मचारी नपठाउँदा ती नगरपालिका निमित्तका भरमा सञ्चालन भएको संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय कर्मचारी शाखाका प्रमुख भरतकुमार शर्माले जानकारी दिनुभयो । उहाँले सामान्यसँग पटक–पटक माग्दा पनि कर्मचारी नपठाएको गुनासो गर्नुभयो । “हामीले स्थानीय तहको निर्वाचन भएपछि कर्मचारी माग गरेका हौँ”, उहाँले भन्नुभयो, “अहिलेसम्म दुईपटक चिठी पठायौँ । तर सामान्यले अझै कर्मचारी पठाएको छैन ।”

स्थानीय विकास मन्त्रालयले जेठ १२ र साउन १९ गते दुईपटक १२० नगरपालिकाको कार्यकारी अधिकृतका लागि उपसचिव माग गरेको थियो । यता सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता शिवराम न्यौपानेले अपुग कर्मचारी पठाउने तयारी भइरहेको बताउनुभयो ।

यसैगरी महानगरपालिकामा सहसचिव कार्यकारी अधिकृत हुने व्यवस्था भए पनि वीरगञ्ज र विराटनगरमा उपसचिवस्तरका कर्मचारी कार्यकारी अधिकृत रहेका छन् । उपसचिव शर्माले ती महानगर ढिलो घोषणा गरिएको हुनाले उपसचिव नै कार्यकारी अधिकृत भएको बताउनुभयो । उहाँले चाँडै नै ती दुई महानगरमा सहसचिव पठाउने तयारी भइरहेको बताउनुभयो । रासस



प्रतिक्रिया दिनुहोस्