Logo

बढ्यो स्वाइन फ्लु संक्रमण, सरकारी तथ्यांकमा १० को मृत्यु



काठमाडौं २६ साउन ।
सरकारले स्वाइन फ्लुको प्रयोगशाला प्रमाणित संक्रमणबाट दस जनाको मृत्यु भएको जनाएको छ । इपिडिमियोलजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार कास्कीमा तीन जनाको मृत्यु भएको छ भने काठमाडौं, ललितपुर, बुटवल, झापा, पाल्पा र स्याङ्जामा एक–एक जनाको ज्यान गएको छ । उक्त रोगको वैज्ञानिक नाम ‘इन्फ्लुएन्जा ए (एच१एन१) पीडिएम ०९’ हो ।

‘स्वाइन फलुले मृत्यु भएको सरकारी तथ्यांक, टिप अफ द आइसवर्ग मात्र हो,’ त्रिवि शिक्षण अस्पताल, पल्मोनोलजी एन्ड क्रिटिकल केयर मेडिसिन विभागका प्रमुख प्रा.डा. करवीरनाथ योगीले भने, ‘स्वाइन फ्लु प्रभावित भए पनि रोग पहिचान नभएर निमोनियाँ भनी उपचार गरेका वा उपचारै नगरेका सयौं बिरामी हुन सक्छन् । मृतकको संख्या पनि सयौं हुन सक्छ ।’

सरकारको एक मात्र केन्द्रीयस्तरको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, नेसनल इन्फ्लुएन्जा सेन्टर शाखाका प्रमुख एवं कन्सलटेन्ट माइक्रोबाइलोजिस्ट विष्णु उपाध्यायका अनुसार हाल त्यहाँ दिनहँु ५० देखि सयवटासम्म एन१एच१ (स्वाइन फ्लु) को नमुना परीक्षणका लागि ल्याइने गरेको छ । तीमध्ये ४० प्रतिशतसम्ममा स्वाइन फ्लुको संक्रमण देखिएको छ ।

शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालमा दिनहँु प्रयोगशाला प्रमाणित १० देखि १५ जना स्वाइन फ्लु संक्रमित उपचारका लागि आउने गरेका छन् । अस्पतालका डा. शेरबहादुर पुन भन्छन्, ‘मुलुकका विभिन्न ठाउँका साथै भारतबाट भर्खरै फर्केकाहरू पनि समस्या लिएर आउने गरेका छन् ।’ परिवारमा एकभन्दा बढी सदस्य स्वाइन संक्रमण लिएर उपचारका लागि पुग्ने गरेका छन् । समयमै उपचार प्रक्रियामा नआएर केही स्वाइन प्रभावितलाई आईसीयूमा भर्ना गर्नुपर्ने स्थिति आएको डा.पुन औंल्याउँछन् ।

मुलुकमा सन् २००९ देखि फैलिइरहेको स्वाइन फ्लुको भाइरसबारे कुनै अध्ययन अनुसन्धान नभएको जानकारी उनले दिए । ‘मुलुकमा कुन स्ट्रेन (प्रजाति) को स्वाइन फ्लु छ र यसले के गराउँछ भन्नेसमेत कुनै अध्ययन नभएको स्थितिमा नेपालीका लागि कुन खोप उपयुक्त छ, अन्योलै छ ।’

हाल मुलुकमा रुघाखोकीबाट बच्न मिसिगन स्ट्रेनको खोप लगाउने गरिए पनि उक्त खोप लगाउनु हुने वा नहुने भन्ने प्राविधिक रूपमा भन्न नसकिने स्थिति रहेको डा. पुन दाबी गर्छन् । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले सन् २०१० देखि स्वाइन फ्लुलाई मौसमी रुघाखोकीकै श्रेणीमा राखेको छ । मौसमी रुघाखोकी मुख्य रूपमा राइनो भाइरस, इन्फ्लुुएन्जाको ‘ए’, ‘बी’ र ‘सी’ प्रकारका भाइरसबाट हुने जनाउँदै इपिडिमियोलजीका डा. गुणनिधि शर्मा भन्छन्, ‘सयाैं किसिमका भाइरसले रुघाखोकी हुने गरे पनि हाल मुलुकमा मौसमी रुघाखोकी फैलाइरहेको भाइरस इन्फ्लुएन्जा टाइप ए अन्तर्गत एच१एन१ (स्वाइन फ्लु), एच३एन२ (हङकङ फ्लु) र टाइप बी भाइरसले गर्दा हो ।’

तर एच१एन१ (स्वाइन फ्लु) ले फैलिएको मौसमी रुघाखोकीमा केही सतर्कता आवश्यक रहेको उल्लेख गर्दै डा. शर्मा भन्छन्, ‘हाल देखिएको एच१एन१ (स्वाइन फ्लु) ले भएको मौसमी रुघाखोकी जटिलतामा जान सक्छ भने मृत्युसमेत हुन सक्छ तर अन्य भाइरसले हुने मौसमी रुघाखोकीमा खास जटिलता देखिँदैन, मृत्युदर पनि अत्यन्त न्यून छ ।’

स्वाइन फ्लुले जटिलता आउने जोखिम ६५ वर्षमाथि र ५ वर्षमुनिका, दम, क्षयरोगी, क्यान्सर, मधुमेह, मृगौला र कलेजो रोग भएका, एचआईभी/एड्स, पक्षघात भएका, मूत्रसम्बन्धी समस्या भएका, दीर्घ रोगी, नियमित औषधि खानुपर्ने जटिल रोगी, धूमपान/मद्यपान गर्ने र धेरै मोटोपनाका सिकार भएकाहरूलाई बढी हुन्छ । कान्तिपुरबाट



प्रतिक्रिया दिनुहोस्