Logo

फोहर फाल्ने ठाउँ नहुँदा पोखरा–बागलुङ राजमार्ग दुर्गन्धित



फलेवास पर्वत, २६ साउन । सदरमुकाम कुश्माबजारमा झण्डै ४० हप्ताभन्दा बढी सरसफाइ अभियान गरिएपनि बजारबाट उठाइएको फोहर व्यवस्थापन गर्ने ठाउँ नहुँदा पोखरा–बागलुङ सडक भने दुर्गन्धित बन्न थालेको छ ।

कुश्मा नगरपालिकाको कुश्माबजारबाट दैनिक निस्किने फोहरले पोखरा–बाग्लुङ राजमार्गमा दुर्गन्ध फैलिएको हो । नगरपालिकाले फोहर व्यवस्थापनको उचित विकल्प नखोज्दा एकातिर राजमार्ग भत्किने खतरा बढेको छ भने अर्कोतिर फोहर सिधै कालीगण्डकीमा खस्दा नदीमा प्रदूषण बढेको छ ।

सदरमुकाम कुश्मास्थित जिरो किमीदेखि करिब एक किमीको दूरीमा रहेको छमर्केमा एक दशकदेखि निरन्तर सदरमुकामको फोहर फालिदै आएको छ ।

सदरमुकाम कुश्मामा मात्रै दैनिक १० टन फोहर संकलन हुन्छ । सदरमुकामको सबै फोहर राजमार्गमा फालिंँदा दुर्गन्धले स्थानीय, सवारी चालक र तिनमा यात्रारत यात्रीहरु बढी समस्यामा पर्ने गरेका छन् ।

“फोहरले यहाँ बसिसाध्य छैन”, स्थानीय राधेश्याम आचार्यले भन्नुभयो, “यहाँ फोहर नफाल्न हामीले सम्बन्धित निकायलाई धेरै आग्रह ग¥यौँ, कतैबाट सुनुवाइ भएन ।”

सदरमुकामको फोहर व्यवस्थापनको जिम्मा स्थानीय ‘सफा कुश्माका लागि सामूहिक अभियान’ संस्थाले लिँदै आइरहेको थियो । फोहर व्यवस्थापनका लागि कुश्मा नगरपालिकाले उक्त संस्थालाई एक ट्र्याक्टर र एक कन्टेनरसमेत दिएको छ ।

जिम्मा पाएका कर्मचारीहरुले संस्थाले भने बमोजिम आफूहरुले राजमार्गमा फोहर विसर्जन गरेको जनाएका छन् । “हामीलाई जहाँ भन्यो त्यही फाल्ने हो”, फोहर व्यवस्थापनका कर्मचारी कुमार नेपालीले भन्नुभयो, “हामी त कर्मचारी हो, जे भन्छन्, त्यही काम गर्नैप¥यो ।”

“बसभित्रै नाक थुन्नुपर्छ, यात्रु गोपाल पराजुलीले भन्नुभयो, पैदल हिँड्दा त नाक थुनेर पनि वारपार गर्न कठिन हुन्छ ।” गर्मीयाम बढेसँगै आसपासका बस्तीमा चौबीसै घण्टा दुर्गन्धले बस्नै नसकिने स्थानीयवासीले बताएका छन् । दैनिकको फोहरले कुश्मा–बागलुङखण्डको छमर्के क्षेत्रको भाग पहिरोको जोखिममा छ ।

फोहर फाल्ने ठाउँ नहुँदा निर्माणका लागि वर्षेनी कुश्मा नगरपालिकाबाट बजेट विनियोजन गरे पनि अझै ठाउँ तयार हुन सकेको छैन ।
नगरपालिका अहिले पनि व्यवस्थित स्थानको खोजीमा रहेको र अब छिट्टै उपयुक्त स्थानमा कुश्माबजारको फोहर व्यवस्थापन गरिने नगरप्रमुख रामचन्द्र जोशीले जानकारी दिनुभयो । उहाँले चालू आवमै फोहर फाल्ने ठाउँ निर्माणका लागि काम शुरु गरिने बताउनुभयो ।

राजमार्गमा फालिने फोहर सिधै कालीगण्डकी किनारमा जान्छ । यसले नदी दुर्गन्धित भएको भन्दै केही सरोकारवालाले फोहर विसर्जनप्रति आपत्ति जनाएका छन् ।

“कालीगण्डकीलाई पवित्र नदी र विशेषगरी विदेशीले फेमिली रिभरका रुपमा लिने गर्छन्”, पर्वत पर्यटन प्रवद्र्धन केन्द्रका अध्यक्ष शिव शर्मा पौडेलले भन्नुभयो,“त्यही नदीमा फोहर विसर्जन गर्दा एकातिर पर्यटकको आकर्षण घट्छ, अर्कातिर पवित्र मानिएको कालीगण्डकी प्रदूशित बनेको छ ।”

सदरमुकामका बासिन्दामा चेनताको अभावका कारण पनि सदरमुकामको फोहर व्यवस्थापनमा बेथिति बढेको स्थानीयवासीको भनाइ छ । रासस



प्रतिक्रिया दिनुहोस्