Logo

गोविन्द केसीका माग पूरा गर्न संसदीय समितिको निर्देशन



काठमाडौ, २६ साउन । व्यवस्थापिका संसदको सामाजिक न्याय तथा मानव अधिकार समितिले वरिष्ठ चिकित्सक गोविन्द केसीको जायज माग अविलम्ब पूरा गर्न सरकारलाई निर्देशन दिएको छ ।
समितिको बिहीबार बसेको बैठकले वरिष्ठ चिकित्सक केसीको आमरण अनसन तत्काल तोडाउन पनि सरकारलाई सचेत गराएको छ ।
चिकित्सक केसीको जीवन रक्षाका लागि समेत सरकारलाई सचेत गराउनु परेको समितिका सभापति सुशीलकुमार श्रष्ठले जानकारी दिए । समितिले यस अघि पनि वरिष्ठ चिकित्सक केसीको जायज माग सम्बोधन गर्न सरकारलाई निर्देशन दिँदै आएको छ ।
बैठकमा स्वास्थ्य मन्त्री गिरीराजमणि पोखरेलले सरकार चिकित्सा क्षेत्रको विसंगति हटाउन लागि परेको दावी गरे । उनले शक्तिशाली आयोग बनाएर चिकित्सा क्षेत्रको सुधार हुने गरी ऐन, कानुन सरकार प्रतिवद्ध रहेको पनि बताए ।
चिकित्सा शिक्षा र शक्तिशाली आयोग बनाएर काउन्सिल, प्रतिष्ठान र विश्वविद्यालयलाई सही दिशामा लैजान भूमिका खेल्नेगरी चिकित्सा शिक्षा विधेयक ल्याउने तयारी सरकारले गरेको उनले बताए । चिकित्सा क्षेत्रको समग्र सुधारको माग गर्दै वरिष्ठ चिकित्सक गोविन्द केसीले ११ औं पटक आमरण अनसन बसेका हुन् ।



प्रतिक्रिया दिनुहोस्