Logo

मानिसको जीवन परिवर्तन गर्नेखालका पुस्तक ल्याउनु पर्छः नेता नेपाल



काठमाडौँ, २६ साउन । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले मानिसको जीवन परिवर्तन गर्नेखालको पुस्तक प्रकाशन गर्नुपर्नेमा जोड दिनुभएको छ ।

नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघको आयोजनामा आजदेखि भृकुटीमण्डपमा शुरु भएको २१औँ नेपाल ‘अन्तर्राष्ट्रिय पुस्तक प्रदर्शनी’ उद्घाटन गर्दै उहाँले सामाजिक तथा व्यावहारिक परिवर्तन गर्नेखालका पुस्तक प्रकाशन गर्नुपर्नेमा जोड दिनुभएको हो ।

पूर्व प्रधानमन्त्रीसमेत रहनुभएका वरिष्ठ नेता नेपालले भन्नुभयो, “हामी अहिले गफाडी भएका छौँ । कुराले आकाश पताल जोड्छौ तर व्यवहारमा हामी केही गर्न सक्दैनौँ । त्यसैले व्यावहारिक कुरा सिकाउने पुस्तक प्रकाशन गर्नुपर्छ ।”

अहिले युवामा पठन संस्कृतिमा विकास भएको उल्लेख गर्दै उहाँले पठन संस्कृतिलाई राज्यले प्रोत्साहन गर्नुपर्ने धारणा व्यक्त गर्नुभयोे । राज्यले पुस्तकमाथि अनावश्यक कर नलगाई सर्वसुलभरुपमा प्रकाशन गर्न सहयोग पु¥याउनुपर्ने वरिष्ठ नेता नेपालले जोड दिनुभयो ।

महासंघका महासचिव नवनिधि पन्तले पठन संस्कृतिको विकासका लागि प्रदर्शनी आयोजना गरिएको जानकारी दिनुभयो । उहाँले पछिल्लो समय पठन संस्कृतिका विकास भएकाले प्रदर्शनीले थप सहयोग पु¥याउने धारणा व्यक्त गर्नुभयो । साउन ३२ गतेसम्म चल्ने प्रदर्शनीमा ६० वटा कक्ष राखिएको छ । रासस



प्रतिक्रिया दिनुहोस्