Logo

प्रधानमन्त्रीसँग निर्वाचन आयोगका पदाधिकारीको छलफल



काठमाडौँ, ३२ साउन । प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचन आयोगसँग प्रदेशसभा तथा प्रतिनिधिसभा दुबै निर्वाचन एकैपटक गर्न सकिन्छ कि सकिँदैन भनी चासो व्यक्त गर्नुभएको छ ।

निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त डा अयोधिप्रसाद यादव र निर्वाचन आयुक्त नरेन्द्र दाहाल, ईश्वरीप्रसाद पौड्याल र सुधीरकुमार शाहलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बोलाएर त्यस विषयमा प्रधानमन्त्रीले जानकारी माग्नुभएको हो ।

सो अवसरमा प्रधानमन्त्री देउवालाई आयोगका तर्फबाट निर्वाचनको लागि समय कम हुँदै गएको, व्यवस्थापन गर्नको लागि आवश्यक पर्ने ऐन तथा निर्वाचन क्षेत्र निर्धारण आयोगको प्रतिवेदन प्राप्त भई नसकेको अवस्थामा दुईवटै निर्वाचन सञ्चालन गर्न कठिनाइ हुनेबारे जानकारी गराइएको निर्वाचन आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिनुभयो ।

व्यस्थापकीय हिसाबले मंसिरको पहिलो हप्तामा प्रतिनिधिसभाको निर्वाचन गर्न सम्भव रहेकाबारे प्रधानमन्त्री समक्ष कुरा राखिएको जनाउँदै आयोगले प्रदेशसभा तथा प्रतिनिधिसभाको निर्वाचन एकैपटक सञ्चालन गर्न व्यवस्थापकीय हिसाबले कति सम्भव हुन्छ भन्नेबारे आयोगमा थप छलफल गरेर मात्र जानकारी दिनसक्ने बताएको थियो ।

सो अवसरमा प्रधानमन्त्रीबाट मुख्य तीन दलका शीर्ष नेतासँग आजै छलफल गरी निर्वाचनको मिति सम्बन्धमा उचित निर्णय लिइने बताउनुभएको निर्वाचन आयोगले जानकारी दिएको छ ।

सो अवसरमा उपप्रधान तथा संघीय मामिला तथा स्थानीय विकासमन्त्री विजयकुमार गच्छदार, मुख्यसचिव राजेन्द्रकिशोर क्षेत्री, प्रधानमन्त्री कार्यालयका सचिव केदारबहादुर अधिकारी तथा निर्वाचन आयोगका सचिव महेश्वर न्यौपाने सहभागी हुनुहुुन्थ्यो । रासस



प्रतिक्रिया दिनुहोस्