Logo

सदा परिवारलाई उपराष्ट्रपतिका छोरा पुनद्धारा आर्थिक सहयोग हस्तान्त्रण



राजविराज, १ भदौ । बाढीले बगाएर सप्तरीमा मृत्यु भएका कमलु सदाका परिवारलाई उपराष्ट्रपति पुत्र दिपेश पुनले आर्थिक सहयोग गर्नुभएको छ । उहाँले किरिया खर्चबापत रु २० हजार नगद र खाद्यान्न राहत सहयोग गर्नु भएको हो ।

बालक कमलु सदाको मृत्यु भएपछि गाड्नका लागि खाली जमिन नभएकाले उनको परिवारले कोशी नदीमा शव बगाएका थिए ।

पैसा नभएर मर्कामा परेका रामको परिवारलाई आफ्नो व्यक्तिगततर्फबाट रु २० हजार सहयोग गरेको पुनले बताउनुभयो । साथै पीडित परिवारलाई उहाँले दाल, चामल, नून, तेललगायतका खाद्यान्न सहयोग गर्नुभयो ।

त्यसैगरी मृतक बालकका परिवारलाई नेपाल तरुण दलले पनि किरिया खर्चबापत रु २५ हजार प्रदान गरेको छ ।
तरुण दल केन्द्रीय सभापति जितजङ बस्नेतले पठाएको सो रकम एक कार्यक्रमबीच तरुण दलका जिल्ला सभापति अर्जुनकुमार यादवले मृतकका बुबा फुदन सदा र आमा विमली सदालाई प्रदान गरेको बताइएको छ ।

बाढीबाट सप्तरीमा ६ जनाको मृत्यु

यसैगरी एक हप्ता अगाडि वर्षासँगै आएको बाढीका कारण सप्तरीमा हालसम्म छजनाको मृत्यु भएको छ ।

सप्तरीमा बाढीबाट मृत्यु हुनेहरुमा राजविराज नगरपालिका–१५ देउरी भरुवाका डोमी यादव, तिलाठी कोइलाडी गाउँपालिका वडा नं ६ साविकको कोइलाडी निवासी पाँच वर्षीय कमलु सदा, शम्भुनाथ नगरपालिकाका सदा थरका ११ वर्षीय एक बालक, डाक्नेश्वरी नगरपालिका वडा नं ८ गम्हरिया प्रवाहा निवासी ६५ वर्षीय नथुनी राम बेल्ही चपेना गाउँपालिका–४ का ३२ वर्षीय कमला मुखिया र सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–३ स्थित महुली खोलामा भैँसी चराएर घर फर्किंदै गरेको स्थानीयवासी ५५ वर्षीय महेन्द्र रामको मृत्यु भएको छ ।

घरदेखि उत्तरतर्फको पलारबाट भैँसी चराएर घर आउने क्रममा सो खोलामा लडेपछि उनको डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय भारदहले जनाएको छ ।

यस्तै कमलु सदाको बाढीको पानीमा उपचारको अभावमा मृत्यु भएको परिवारजनले बताएका छन् । मृतक सदाको अन्तिम संस्कारगर्ने ठाउँ नपाएपछि उनको काकाले कोशीको पानीमै बगाएको थियो ।

यसअघि गत बिहीबार खाँडो खोलामा सेना र प्रहरीसँग तटबन्ध रोकथाम गर्ने क्रममा माटोको ढिस्कोले पुरिएर राजविराज नगरपालिका १५ देउरी भरुवा गाउँका ५५ वर्षीय डोमी यादव बेपत्ता भएका थिए । यादवको शव हालसम्म फेला नपरेको प्रहरीको भनाइ छ । रासस



प्रतिक्रिया दिनुहोस्