Logo

अझै गाउँमा मुखियाकै शासन



काठमाडौं ३ भदौ । मुस्ताङ जिल्ला समन्वय समितिको प्रमुखमा २४ वर्षीया छिरिङ ल्हामो निर्वाचित भइन् । सदरमुकाम जोमसोम रहेको घरपझोङ गाउँपालिकाको अध्यक्षमा आसबहादुर थकाली निर्वाचित भए । स्थानीय तह निर्वाचन सकिएको तीन महिनापछि साउन अन्तिम साता मुखियाको निर्वाचनसमेत भयो । जोमसोममा दुईवटा टोल छन् । सरकारी कार्यालय रहेको टोलमा रामप्रसाद थकाली र एयरपोर्ट टोलमा सुरेन्द्र थकाली मुखिया छानिएका छन् ।

न्याय-निसाफको नियमन गर्न यहाँ सरकारका वैधानिक अंग जिल्ला अदालत, जिल्ला प्रशासन, जिल्ला प्रहरी कार्यालय छन् । विकास निर्माणको काम गर्न दर्जनौं सरकारी निकाय, गैरसरकारी संस्था छन् । स्थानीयस्तरको एजेन्डामा काम गर्न जनप्रतिनिधिसमेत आइसकेका छन् । यति हुँदा पनि यहाँ अधिकांश काम भने मुखियाले नै गर्छन् । जोमसोम बजारमा त मुखिया कार्यालय नै छ ।

जोमसोममा मात्र होइन, मुस्ताङका पाँचै गाउँपालिकामा जनप्रतिनिधि आइसकेका हुन् । दालमे गाउँपालिकामा राजु विष्ट, लोमान्थाङमा सुवर्णकुमार विष्ट, बाह्रगाउँ मुक्ति क्षेत्रमा धारा गुरुङ, थासाङमा शेरबहादुर थकाली र घरपझोङमा आसबहादुर थकाली निर्वाचित भएका छन् । २५ वटै वडामा पनि जनप्रतिनिधि छन् । तर, २५ वडाका करिब ५० गाउँमा ५० जनै मुखिया चुनिएका छन् ।

वडाध्यक्ष त सरकारको मात्र काम गर्ने हुन् । गाउँको सबै काम हामी नै गर्छौं । मुखियाकहाँ नआई कोही प्रहरी वा अध्यक्षकहाँ गयो भने हामी निर्णय उल्टाइदिन्छौं । कर्मा छोक्ले, कागबेनी गाउँका पुराना मुखिया

मुस्ताङमा मुखियाको रजाइँ सयौं वर्षदेखिको हो । त्यसैले सरकारी कार्यालय र निर्वाचित जनप्रतिनिधि पनि उनीहरूको अस्तित्व सहज रूपमा स्वीकार गर्छन् । उनीहरू मुखियालाई ‘अगुवा’ वा ‘सहयोगी’का रूप लिन्छन् । त्यसैले मुखिया पनि आफूसँग समन्वय नगरी गरिएको काम उल्टाइदिने हैसियत राख्छन् ।

Thaku-Gurung

कागबेनी गाउँका मुखिया ठाकु गुरुङ

‘वडाध्यक्ष त सरकारको काम गर्ने हुन् । गाउँको सबै काम हामी नै गर्छौं’, कागबेनी गाउँका पुराना मुखिया कर्मा छोक्ले भन्छन्, ‘मुखियाकहाँ नआई कोही प्रहरी वा अध्यक्षकहाँ गयो भने हामी निर्णय उल्टाइदिन्छौं ।’

सरकारी निकायभन्दा मुखियामा गाउँलेको आस्था बढी रहेको उनको दाबी छ । ‘पहिला हामीकहाँ आउँछन् । हामी कचहरी राखेर समाधान गर्छौं । मिलेन भने हामीभन्दा माथि सात सदस्यीय समिति हुन्छ । उनीहरूले मिलाउँछन् । नमिल्ने भन्ने हुँदैन’, उनी भन्छन्, ‘वडाध्यक्ष र गाउँपालिकाका अध्यक्षको त खासै काम हुँदैन ।’

मुखियाले एउटा गाउँ हेर्छन् । जनप्रतिनिधिले धेरै गाउँ हेर्नुपर्र्छ । रीतिथितिको काममा मुखिया नै अगाडि हुन्छन् । उनीहरूले नै चलाउँछन् ।-धारा गुरुङ, अध्यक्ष, बाह्रगाउँ मुक्ति क्षेत्र गाउँपालिकाका

मुखियाले गाउँलेलाई खेती रोप्ने, भित्र्याउने समयसमेत निर्धारण गरिदिन्छन् । ‘निर्धारित समयभन्दा छिटो सक्न पाइँदैन, ढिलो पनि गर्न पाइँदैन’, जनशान्ति मावि कागबेनीका शिक्षक नारायण पौडेल सुनाउँछन् ।

मुखिया चुन्ने विधि

कागबेनी बजारमा बर्सेनि २० देखि ६० वर्ष उमेर समूहका आदिवासीमध्ये तीनजना मुखिया चुनिन्छन् । गोलाप्रथा गरेर नयाँ मुखिया चुन्ने परम्परा रहेको शिक्षक नारायण पौडेल बताउँछन् । तीनै जना मुखियाले चार-चार महिना प्रमुखको जिम्मेवारी सम्हाल्छन् । बाँकी दुईजनाले सघाउने पौडेलको भनाइ छ । जोमसोममा भने मुखियाको कार्यकाल दुई वर्षको हुने स्थानीय पत्रकार सुन्दरकुमार थकाली सुनाउँछन् । मुखिया गाउँबाहिर जाँदा विश्वासपात्रलाई वारेस बनाउँछन् ।

मुखियाको कार्यभार

मुखियालाई बेवास्ता गरी काम गर्ने हिम्मत सरकारी निकायले गरेका छैनन् । सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मण खड्का भन्छन्, ‘मुस्ताङमा मुखियालाई बाइपास गरेर सरकारी नियम पूर्णरूपमा लागू गराउन गाह्रो छ ।’

गाउँपालिका अध्यक्ष, वडाध्यक्षले पनि मुखियासँग समन्वय गरेर काम गर्नुपर्ने व्यवस्था यहाँ छ । ‘साँधसीमा, वन पैदावर, नदी, सार्वजनिक सम्पदाको विवाद सुल्झाउने, मेलापात, बिहेवारी, प्रकृति पूजाको दिन तोक्ने हाम्रो काम हो’, कागबेनीका मुखिया ठाकुर गुरुङ भन्छन्, ‘गोठ, खर्क मिलाउने, वस्तुभाउले बाली खाएको झगडा, घरायसी झगडा मिलाउने, गाउँघर, बाटो सरसफाइको घोषणा गर्ने सबै हामीले नै मिलाउने हो ।’ जघन्य मानवीय अपराधबाहेकका सबै काम मुखियाले नै मिलाउने गर्छन् ।

समस्या लिएर भेट्न जाँदा मुखियालाई खादा ओढाई एक बोतल रक्सी दिने चलन छ । मुखियाले सुरुमा वादी र प्रतिवादी दुवैसँग बराबर रकम असुल्छन् । ‘उजुरी गर्न आउने र प्रतिवादीसँग छलफल गर्नुभन्दा अघि नै केस हेरी एक सयदेखि तीन हजार रुपैयाँसम्म लिन्छौं’, कर्मा छोक्ले भन्छन्, ‘छलफलपछि जो निर्दोष ठहरिन्छ, उसलाई खादा लगाएर पैसा पनि फिर्ता हुन्छ । जसको गल्ती ठहरिन्छ उसलाई माफी पनि मगाइन्छ, दोष हेरी थप जरिवाना पनि हुन्छ ।’

कचहरी प्रायः राति हुन्छ । ठूलै विषयको कचहरी गर्नुपरे दिउँसो पनि गरिन्छ । मुखियाले मात्र विवाद मिलाउन नसके सातजना सल्लाहकारलाई बोलाएर सहजीकरण गर्न लगाइन्छ ।
मुखियाले कचहरी बोलाउने घरलाई स्थानीय भाषामा ‘नेचाङघर’ भनिन्छ । प्रत्येक गाउँमा नेचाङघर हुन्छ । सबैलाई पायक पर्ने ठाउँमा सुविधासम्पन्न नेचाङघर बनाइएको हुन्छ ।

मुखिया र जनप्रतिनिधिको भेद

बाह्रघर मुक्ति क्षेत्र गाउँपालिका-४ का अध्यक्ष तेन्जिङ नाम्ग्यालले मुखिया र जनप्रतिनिधिमा केही भेद पाएका छन् । विवाद मिलाउने काम, खेती थाल्ने दिन हेर्ने, सरसफाइको गुहार गर्नेलगायत काम मुखियाले गर्ने अनि सरकारी बजेटबाट विकास निर्माणको काम आफूले गर्ने उनको बुझाइ छ । ‘हामी विकासको काम गर्छौं, मुखियाले पहिलेदेखि गर्दै आएको काम गर्छन्’, उनी भन्छन् ।

मुखियाको कार्यक्षेत्र साँघुरो, निर्वाचित जनप्रतिनिधिको कार्यक्षेत्र फराकिलो हुने गाउँपालिका अध्यक्ष धारा गुरुङको बुझाइ छ । ‘मुखियाले एउटा गाउँ हेर्छन्, जनप्रतिनिधिले धेरै गाउँ हेर्नुपर्र्छ’, उनी भन्छन्, ‘रीतिथितिको काममा मुखिया नै अगाडि हुन्छन् । उनीहरूले नै चलाउँछन् ।’ मुखिया र जनप्रतिनिधिमा कुनै मनमुटाव नरहेको उनी सुनाउँछन् ।

०५४ सालअघि जनप्रतिनिधि हुँदा सरकारले मुखिया प्रथा अन्त्य गर्न पत्राचार गरेको थियो । ३१ वर्षदेखि पढाउँदै आएका शिक्षक नारायण पौडेल सम्झन्छन्, ‘मुखिया हटाउन दबाब आयो । तर, मुखियाले चुनौती दिए । जनताले पनि टेरेनन् ।’

राज्यले औपचारिक रूपमा मुखिया नचिनेको सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मण खड्का बताउँछन् । ‘मुखियाहरू सहयोगी भूमिकामै छन्’, उनी भन्छन् ‘मुस्ताङमा मुखिया नभएको गाउँ नै छैन । यस्तो ठाउँमा सरकारी नियम मात्र पूर्णरूपमा लगाउँछु भन्न अलि गाह्रो छ । ऐन-कानुनको भाषामा भन्दा मुखियालाई राज्यले चिनेको हुँदैन ।’ अन्नपूर्णपोष्टबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot