Logo

सिन्धुलीबाट महोत्तरीलाई ६ लाखको राहत सामग्री प्रदान



गौशाला, ४ भदौ । जिल्ला दैवी प्रकोप उद्धार समिति सिन्धुलीले महोत्तरी जिल्लाका बाढीपीडितका लागि रु छ लाख मूल्य बराबरको राहत सामग्री प्रदान गरेको छ ।

सिन्धुली उद्योग वाणिज्य संघको अगुवाइमा जिल्लाका राजनीतिक दल, विभिन्न संघसंस्था, उद्योगी व्यापारी एवं रेडक्रस सिन्धुलीको सहयोगमा शनिबार जिल्ला दैवी प्रकोप उद्धार समिति सिन्धुलीले महोत्तरीका बाढीपीडितका लागि रु छ लाख मूल्य बराबरको राहत सामग्री प्रदान गरेको जिल्ला प्रशासन कार्यालय महोत्तरीले जनाएको छ ।

जिल्ला दैवी प्रकोप उद्धार समिति सिन्धुलीका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी ताराबहादुर कार्की, सिन्धुली उद्योग वाणिज्य संघका अध्यक्ष दिवेश श्रेष्ठ, रेडक्रस सभापति अशोक श्रेष्ठ, माओवादी केन्द्रका नेता राजन दाहाल, काँग्रेस नेता मानिक ढकाल, एमाले नेता प्रदीप कट्वाल र महिला नेत्री गंगा दाहालसहितको टोलीले महोत्तरीको सदरमुकाम जलेश्वरमा आएर जिल्ला दैवी प्रकोप उद्धार समितिलाई सो राहत हस्तान्तरण गर्नुभएको हो ।

उहाँहरुले महोत्तरीका बाढीपीडितका लागि चामल ३०० बोरा, दाल ३० बोरा, नून १० बोरा, चिउरा तीन बोरा, भुजा दुई बोरा, तेल ३० कार्टुन, चाउचाउ १८ कार्टुन, प्लाष्टिकको बाल्टिन ३०० वटा, थाल २६ थान, डाडु दुई थान, सुकुल तीन थान, अन्य लत्ताकपडा र जुत्ताचप्पल हस्तान्तरण गर्नुभयो ।

त्यस्तै रेडक्रस सिन्धुलीले थप १०५ थान त्रिपाल र स्थानीय बासिन्दाले केही राहत सामग्री संकलन गरेर एक लाख मूल्य बराबरको सरसामान पनि महोत्तरी पठाएका छन् ।

जिल्ला दैवी प्रकोप उद्धार समिति महोत्तरीका तर्फबाट प्रवक्ता एवं सहायक प्रमुख जिल्ला अधिकारी हेमबहादुर कार्कीले सो राहत प्राप्त गर्नुभएको छ । रासस



प्रतिक्रिया दिनुहोस्