पाल्पा, ४ भदौ । प्राचीन समयदेखि प्रयोगमा रहेको कुडुले घुमाउरो घर अहिले लोपोन्मुख हुँदैं गएको छ । जाडो याममा तातो र गर्मीमा शीतल हुने सो घर पछिल्ला समय कच्चा पदार्थको अभाव र छानो हाल्न झण्झट हुने भएपछि लोप हुन लागेको हो ।
“पूर्वखोला– २, जल्पास्थित साकेनी, ढोलीमारा, साठ्ठीघरेमा अहिले कुडुले घर देख्न पाइँदैन”, स्थानीय बासिन्दा भीमिसारा आलेले बताउनुभयो । पहिले जल्पामा २५ भन्दा बढी कुडुले घर देखिए पनि अहिले एक दुई वटा मात्र देखिन्छ । ’
जल्पाका भीमबहादुर सारुले आफ्नो कुडुले घर केही समयअघि भत्केपछि निर्माण नगरिएको बताउनुभयो । उहाँको कुडुले घरमा ६ जनाको परिवार बस्थ्यो ।
कुडुले घरमा बस्दा सामूहिक भावना बढी हुन्छ । खरले छाएको कुडुले घरमा भित्र फराकिलो हुन्छ, एकै ठाउँमा सुत्न, बस्न र खाना पकाउन समेत मिल्ने हुन्छ । घुमाउरो घर भएकाले छाउन भने निकै समस्या हुन्छ ।
खर र डाँडाभाटा बढी लाग्ने, उज्यालो कम, झ्याल नहुने र धुवाँ बढी हुने गरेकाले पनि मानिसमा कुडुले घरप्रतिको आकर्षण कम हँुदै गएको सारुको भनाइ छ । पहिला पातीमा माटाले लिपेर घुमाउरो बनाउने चलन रहेकामा अहिले ढुंगा माटाले पर्खाल उठाउने चलन रहेको सारु बताउनुहुन्छ ।
ग्रामीण क्षेत्रमा यसको महत्व कम भए पनि शहरी क्षेत्रमा भने बढेको छ । होटल तथा रिसोर्टमा कुडुले घरका नमुना देख्न पाइन थालेको छ ।
मेला तथा महोत्सवमा समेत कुडुले घरका झल्को पाइन्छ । निस्दी, पूर्वखोला, बगनासकाली र माथागढी गाउँपालिका तथा रामपुर नगरपालिकामा प्रशस्त देखिने कुडुले घर अहिले देखिन छाडेको स्थानीयवासीको भनाइ छ । रासस