Logo

यस्तो छ प्रधानमन्त्री देउवाको पाँच दिने भ्रमण कार्यतालिका



काठमाडौं ५ भदौ । पाँच दिने भारत भ्रमणका क्रममा प्रधानमन्त्री शेरबहादुर देउवा बुधबार नयाँदिल्ली आउँदैछन्। भदौ ७ देखि ११ गते अर्थात् बुधबारदेखि आइतबारसम्मको भ्रमणका क्रममा देउवाको उच्च राजनीतिक भेटघाटको कार्यक्रम साढे चार घण्टाको तय भएको छ।
उच्च तथा महत्वपूर्ण राजनीतिक भेटघाटमा प्रधानमन्त्री देउवाको कार्य तालिका तालिका विहिबार विहान नौ बजेदेखि सुरु भएर साँझ ७ बजेसम्म रहनेछ। जसमा उच्च राजनीतिक भेटघाटको जम्मा समय साढे ४ घण्टा रहेको छ। भ्रमणको सबैभन्दा महत्वपूर्ण भेटघाट वान टु वान मिटिंङलाई मानिन्छ। प्रधानमन्त्री देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच ११.३० देखि १२ बजेसम्म हैदराबाद हाउसमा वान टु वान भेटवार्ता हुनेछ।

मोदीसँगको भेटवार्तापछि दुई मुलुकका भ्रमणदलका अधिकारीबीच छलफल पश्चात केही संम्झौता पत्रमा हस्ताक्षर साटासाट हुने कार्यक्रम छ। त्यस पश्चात प्रेस वक्तव्य जारी गरिने कार्यक्रम छ। हैदरावाद हाउसमा प्रधानमन्त्री मोदीले आयोजना गरेको बैंकेट लन्च कार्यक्रममा प्रधानमन्त्री देउवा सहभागी हुने कार्यक्रम रहेको छ।

प्रधानमन्त्री मोदीसँग भेटनु अघि बिहीबार नै प्रधानमन्त्री देउवालाई विदेश मन्त्री सुष्मा स्वराजले बिहान ९.३० बजे भेटने कार्यक्रम छ। उच्च राजनीतिक भ्रमण क्रममा दिइने विशेष सम्मान अनुरुप प्रधानमन्त्री देउवालाई बिहान ९ बजे राष्ट्रपति भवनमा गार्ड अफ अनर दिने कार्यक्रम छ। त्यस लगत्तै ९.३० बजे महात्मा गान्धीको समाधिस्थलमा श्रद्धान्जली तथा त्यहाँ रहेको भिजिटर्स बुकमा हस्ताक्षरको कार्यक्रम छ।

दिउँसो ३ बजेदेखि ३.३० बजेसम्म गृहमन्त्री राजनाथ सिंह, वित्त मन्त्री अरुण जेटलीले प्रधानमन्त्री देउवासँग भेटने कार्यक्रम छ। प्रधानमन्त्री देउवा ४.१५ बजे नवनिर्वाचित उपराष्ट्रपति बैकैया नायडु र ५ बजे नवनिर्वाचित राष्ट्रपति रामनाथ कोबिंदसँगको भेटघाटपछि प्रधानमन्त्री देउवाको सो दिनको औपचारिक भेटघाट सकिनेछ।

पहिलो दिन (बुधबार)
भारत भ्रमणका क्रममा पहिलो दिन बुधबार देउवालाई साँझ भारतीय विद्युत मन्त्री पियुस गोयलले भेट गर्ने कार्यक्रम छ। सोही साँझ प्रधानमन्त्री देउवाको भारतस्थित नेपाली दूतावासका लागि दुई घण्टाको समय छुटयाएका छन्।

दोस्रो दिन

दूतावासमा देउवाले एक कार्यक्रमका बीच भारतमा रहेका प्रवासी नेपालीलाई सम्बोधन तथा छलफल गर्ने कार्यक्रम छ। सोही समयमा भारतमा रहेका प्रवासी नेपालीको तर्फबाट राजनीतिक दलका भातृसंस्थाले प्रधानमन्त्री देउवालाई ज्ञापनपत्र बुझाउने कार्यक्रम छ।

त्यसै गरी भारतमा रहेको नेपालीहरुको व्यवासायिक छाता संगठन एभरेष्ट चेम्बर अफ कमर्शका पदाधिकारीहरुले भारतमा रहेका व्यवसायीलाई नेपालमा लगानीको वातावरण बनाइदिने आशय सहितको ज्ञापनपत्र बुझाउने तयारी गरिरहेका छन्। साँझ ७ बजेपछि दूतावासले प्रधानमन्त्रीको सम्मानमा आयोजना गर्ने रात्रीभोजमा सहभागी हुने कार्यक्रम छ। रात्री भोजमा भारतका उच्च राजनीतिज्ञ, कूटनीतिक नियोग प्रमुख, प्रशासनिक विज्ञ, नेपालका पूर्व राजदूतहरु, विश्लेषक, लेखक, पत्रकारको सहभागिता हुने कार्यक्रम छ।

तेश्रो दिन (शुक्रबार)
भारतीय जनता पार्टी निकट थिंक ट्यांकहरुको गैर सरकारी संस्था इण्डिया फाउन्डेसनले आयोजना गर्ने एक कार्यक्रमलाई प्रधानमन्त्री देउवाले शुक्रबार १० बजे सम्बोधन गर्ने कार्यक्रम छ। कार्यक्रममा सहभागी भएपछि प्रधानमन्त्री देउवा ११.३० बजे विशेष विमानबाट हैदराबाद जाने कार्यक्रम छ। त्यहाँ प्रधानमन्त्री देउवाले हैदराबादको सूचना प्रविधि पार्क (हाइटेक सिटी)को अवलोकन गर्ने कार्यक्रम छ।

चौथो दिन (शनिबार)
भ्रमणको चौथो दिन प्रधानमन्त्री देउवा तिरुपति मन्दिर दर्शन गर्न जाने कार्यक्रम छ। उनी आन्ध्र प्रदेशको चित्तौर जिल्लामा रहेको तिरुपति मन्दिरका लागि शनिबार बिहान १० बजे विशेष विमानबाट जाने कार्यक्रम छ। १२.१५ बजे बजे मन्दिर दर्शनको कार्यक्रम छ। सो कार्यक्रम सकाएर २ बजे प्रधानमन्त्री देउवा ऐतिहासिक तथा धार्मिक महत्व बोकेको बिहारको गयाका लागि प्रस्थान गर्नेछन्। गयामा विहारका मुख्यमन्त्री नितिश कुमारले प्रधानमन्त्रीलाई स्वागत गर्ने बारे टुंगो भने लागिसकेको छैन।

पाँचौ दिन (आइतबार)
आइतबार गयाबाट दिल्ली टान्जिट हुँदै प्रधानमन्त्री देउवा साँझ ६ बजे नेपाल एयरलायन्सको उडानबाट काठमाडौं फर्किने कार्यक्रम छ।
प्रधानमन्त्री देउवा पत्नी आरजु देउवासँगै भारत भ्रमणमा आउँदैछन्। प्रधानमन्त्री देउवालाई राष्ट्रपति भवनमा बस्ने व्यवस्था मिलाइएको छ। प्रधानमन्त्री देउवाको भारत भ्रमणको औपचारिक जानकारी दुबै मुलुकले सोमबार जारी गर्दैैछन्। भ्रमणको अन्तिम तयारीमा रहेको दिल्लीस्थित नेपाली दूतावासका प्रवक्ता हरि ओडारीले भ्रमण मुख्य रुपमा विकासका एजेण्डामा केन्द्रित रहने बताए।

प्रधानमन्त्रीका लागि नेपाल एयरलायन्स दुई घण्टा ढिलो

नेपाल एयरलाइन्सको १० बजेको उडानबाट दिल्ली आउन लागेका प्रधानमन्त्री देउवा नयाँ दिल्लीस्थित इन्दिरागान्धी अन्तराष्ट्रिय विमानस्थलमा ११.४० बजे अवतरण गर्ने कार्यक्रम छ। प्रधानमन्त्रीको भ्रमणका लागि बुधबार नेपाल एयरलायन्सको नियमित ८ बजेको उडान दुई घण्टापछि सारिएको छ। मुलुकको कार्यप्रमुखको भ्रमण भएको हुँदा नियमित उडानको समयतालिका केही फेरबदल गरिएको एयरलायन्स श्रोतले जनाएको छ।



प्रतिक्रिया दिनुहोस्

Screenshot