Logo

गोकर्णेश्वरको महत्व अभिवृद्धि गराउने विशेष योजना



काठमाडौँ, ५ भदौ । भाद्र कृष्ण औँशी अर्थात् बाबुको मुख हेर्ने दिन आज बिहानैदेखि उपत्यकाको उत्तरपूर्वी भेगस्थित गोकर्णेश्वर महादेव मन्दिरमा भक्तजनको भीड लागेको छ ।

बाबु हुनेले घरमै राम्रो खान लाउन दिई खुशी बनाउने गर्छन् । बाबु दिवंगत भएका भक्तजनले भने रत्नपार्कबाट ११ किमीको दूरीमा रहेको गोकर्णेश्वर महादेव मन्दिरमा आई सम्झना गर्ने चलन छ ।

गोकर्णेश्वर महादेव मन्दिरमा आज लाखौँ भक्तजनको भीड लाग्ने गरे पनि प्रचारप्रसारकै अभावमा अरु बेला भने सुनसान हुने गरेको छ ।
शास्त्रीयरुपमा वर्णन गरिएको उत्तरगया यही भए पनि त्यसलाई बुझाउन नसक्दा ओझेलमा परेको गोकर्णेश्वर मन्दिर क्षेत्र प्रबन्ध समितिका अध्यक्ष दीपक रिसालले बताउनुभयो ।

“गोकर्णेश्वरको महत्व बुझाउन प्रत्येक महिनाको अन्तिम सोमबार गंगा आरती शुरु गरिएको छ, पौराणिक महत्वका आधारमा यो मन्दिरलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न मन्दिरको छाना पित्तलको राख्ने तयारीमा छौँ, पशुपति आउने सबै भक्तजनलाई गोकर्णेश्वर उत्तरगयाको दर्शन गराउने गरी विशेष योजना बनाउँदै छौँ”, गोकर्णेश्वर नगरपालिकाका प्रमुख सल्लाहकारसमेत रहनुभएका उहाँले भन्नुभयो ।

यस वर्ष स्थानीयवासीको समिति भएकाले पनि पार्किङलगायत विषयमा केही राम्रो व्यवस्था भएको पाइएको अर्घाखाँचीबाट आउनुभएकी रमा भुसालले बताउनुभयो ।

भाद्रकृष्ण औँशीका दिनमा गोकर्णेश्वरमा आई तर्पण, सिदा दान र पिण्ड दान गर्नाले घर, मामाघर र ससुरालीतर्फका सात÷सात गरी २१ पुस्ताका पितृहरु तर्छन् अर्थात् मुक्ति पाउँछन् भन्ने धार्मिक विश्वास छ ।

यही धार्मिक विश्वासका कारण हरेक वर्ष भाद्र कृष्ण औँशीको अघिल्लो दिन बिहानैदेखि वैदिक सनातन हिन्दू र बौद्ध धर्मावलम्बीको समेत गोकर्णेश्वर मन्दिर परिसरमा भीड लाग्ने गर्छ ।

गोकर्णमा लाग्ने भीडका कारण यो पर्वका दिन बिहानैदेखि सुन्दरीजल–जोरपाटी र वाग्मतीको करिडोर भएर गुड्ने सवारीसाधन निषेध गरिने गरेको महानगरीय प्रहरी वृत्त बौद्धले जनाएको छ ।

सत्ययुगमा ब्रह्माले नै गोकर्णेश्वरको स्थापना गरेकाले यस ठाउँमा आई पितृलाई तर्पण, सिदा दान र पीण्ड दान गर्नाले अगति परेका पितृ पनि तर्छन् भन्ने धार्मिक विश्वास छ ।

यसैकारण यस दिन मन्दिरमा भक्तजनको भीड बढ्ने गरेको मन्दिरका पुजारी जगदीश भट्टले बताउनुभयो । आज बिहान ३ बजेदेखि नै मन्दिरको ढोका खोलिएको उहाँले जानकारी गराउनुभयो ।

बौद्ध धर्मावलम्बीले गोकर्णेश्वर महादेवलाई बौद्धका १२ तीर्थमध्ये पुण्य तीर्थ बोधिसत्वका रुपमा मानी पूजाआजा गर्ने गरेका छन् । बौद्ध धर्मावलम्बीले यस दिन गोकर्णमा पितृ उद्धारका लागि १००८ दीप दान गर्छन् ।

भगवान् विष्णुको दायाँ पाउ रहेको गोकर्णेश्वर धार्मिक क्षेत्र पितृ उद्धारका हिसाबले महत्वपूर्ण भए पनि नेपाल सरकारले ध्यान नदिँदा ओझेलमा परेको गोकर्णेश्वर उत्तरगया तीर्थस्थलको विकास एवं प्रचारप्रसारमा वर्षौंदेखि लागिपर्दै आउनुभएका प्रा डा ऋषिराम पोख्रेलले बताउनुभयो ।

“भारतमा भगवान् विष्णुको बायाँ पाउ छ, जसलाई प्रचारप्रसार गरी भारतीयले उत्तरगया उतै पर्छ भनी भ्रम छरेका छन्, हामी भएको कुरा पनि प्रचार गर्न नसक्दा बोल्नेको पिठो बिक्ने र नबोल्नेको चामल पनि नबिक्ने अवस्थामा पुगेका छौँ”, उहाँले भन्नुभयो ।

भगवान् विष्णुको दायाँ पाउ रहेको स्थानमा प्रथम राणा प्रधानमन्त्री जंगबहादुर राणाले विसं १९११ मा आमा रक्षाकुमारीको नाममा गदाधर नारायणको मन्दिर निर्माण गरिदिएपछि यो स्थल केही व्यवस्थित भयो ।

यस स्थानमा भगवान् विष्णुले असुर नाम गरेका राक्षसलाई पाउले किचेर मारेकाले पनि पवित्र मानिएको हो । यस ठाउँमा अहिले विष्णुपादुका बनाइएको छ । विष्णुपादुकामा श्राद्ध गरे पितृ तर्छन् भन्ने धार्मिक विश्वास छ ।

जंगबहादुरपछिका सरकार एवं सरकार प्रमुखको यसतर्फ ध्यान जान नसक्दा यो क्षेत्र अझै ओझेलमा परेको स्थानीयवासी त्रिलोचन पौडेलले गुनासो गर्नुभयो ।

मणिचूड, शिवपुरी, नागार्जुन, चन्द्रागिरि, फुलचोकी, चाँगु र नगरकोट गरी सातवटा पर्वतले घेरिएको स्थल उत्तरगया भनी हिन्दू ग्रन्थहरुमा वर्णन गरिएको छ ।
त्यो पवित्र उत्तरगया तीर्थ गोकर्णेश्वर नै भएकामा शास्त्रीय द्विविधा नरहेको गोकर्णेश्वरका विषयमा खोज गरिरहनुभएका गोविन्दप्रसाद घिमिरे ‘वेदमणि’ बताउनुहुन्छ ।

“गोकर्णेश्वरको धार्मिक ऐतिहासिक पौराणिक र पुरातात्विक महत्वलाई प्रचारप्रसार गर्न सके विश्वका धार्मिक पर्यटक यस क्षेत्रको भ्रमणमा आउनेछन्, गोकर्णेश्वरको महत्व पशुपतिनाथसँग पनि जोडिएको छ, पशुपतिमा श्रीयन्त्रको पूजा हुन्छ, गोकर्णेश्वरमा बालयन्त्रको, बालयन्त्रको पूजा नगरी श्रीयन्त्रको पूजा गर्दा फल पाइँदैन भन्ने शास्त्रीय मान्यता छ”, उहाँले भन्नुभयो ।

यसैले यस क्षेत्रको महत्वका विषयमा प्रचार गर्न सके धार्मिक पर्यटनका माध्यमबाट गोकर्णेश्वर क्षेत्र मात्र नभई नेपालकै अर्थतन्त्रमा सकारात्मक योगदान पुग्ने भएकाले पनि यसतर्फ छिटोभन्दा छिटो सरकारको ध्यान जानुपर्ने स्थानीय रामलाल श्रेष्ठले माग गर्नुभयो ।

भारतमा भएको गया दक्षिणगया र भरतखण्डको उत्तरतर्फ रहेको सात पर्वतले घेरिएको नेपालको राजधानी काठमाडौँमा रहेको गया उत्तरगया भएको शास्त्रीयरुपमा प्रमाणित भए पनि सरकारको बेवास्ताका कारण विश्वका पर्यटकको आँखामा यो स्थल ओझेलमा परेको गोकर्णेश्वरका विषयमा खोज अनुसन्धानरत ‘वेदमणि’ बताउनुहुन्छ ।

धार्मिकरुपमा महत्वपूर्ण गोकर्णेश्वर मन्दिरको अहिलेको स्वरुप लिच्छविकाल अगाडि नै निर्माण भएको विश्वास गरिन्छ । प्यागोडाशैलीको तीनतले यो मन्दिरको संरचनाका कारण मानदेवको समयअघि नै गोकर्णेश्वरको मन्दिर निर्माण भइसकेको मानिन्छ । तैपनि अहिलेसम्म प्रामाणिक तथ्य फेला नपरेको पुरातत्व विभागका अधिकृत भीष्म बाँस्कोटाले बताउनुभयो ।

“यसको प्रामाणिक तथ्यको खोजी जारी छ, यसका लागि गोकर्णको पुरानो दरबार क्षेत्रमा थप उत्खनन गरिनुपर्छ, उपत्यकाको प्रथम बस्ती नै गोकर्णमाथिको हो, दहका रुपमा रहेको उपत्यकाका चार ठाउँमा पानी निकासका लागि काटिएपछि पहिले गोकर्णभन्दा माथिको भागमै बस्ती बसेको तथ्य छ”,गोकर्णेश्वरका बारेमा स्नातकोत्तर तहमा शोध गर्नुभएका उहाँले भन्नुभयो ।

स्वयम्भू पुराणमा गोकर्ण, पशुपति, चोभार र कटुवाल दह गरी चार ठाउँमा मञ्जुश्रीले खड्गले काटी उपत्यकामा बस्ती बसाएको उल्लेख छ । हिन्दू ग्रन्थमा भने यी चार स्थानमा भगवान् श्रीकृष्णले जादुमय खड्गले काटेपछि काठमाडौँ उपत्यकामा बस्ती विकास भएको वर्णन छ ।

धार्मिक महत्व भएर पनि ओझेलमा परेकाले गोकर्णमा विभागका तर्फबाट यसै वर्षदेखि ऐतिहासिकस्थलको निर्माण कार्य शुरु गरिएको विभागले जनाएको छ । मन्दिर क्षेत्रका बोगटीपाटी, पञ्चमुखी हनुमानलगायत ऐतिहासिक संरचना पुनःनिर्माण भइरहेको छ । रासस



प्रतिक्रिया दिनुहोस्