विराटनगर, ५ भदौ । विराटनगरस्थित ‘म्याक्स’ इन्टरनेशनल तथा ट्रमा सेन्टरले ६२० बाढीपीडितको उपचार गरी एक लाख भन्दा बढीको औषधि वितरण गरेको छ ।
विराटनगर–१२ स्थित बखरीका २५४ जना बाढीपीडित बिरामीको उपचार गरी ५३ हजार मूल्य बराबरको औषधि निःशुल्क रुपमा उपलब्ध गराइएको सो अस्पतालका निर्देशक जीतेन्द्र यादवले जानकारी गराउनुभयो ।
त्यसैगरी, जहदा गाउँपालिका–१ को बुधनगरमा आइतबार ३६६ बाढीपीडितको उपचार गरिएको र रु ७८ हजार मूल्य बराबरको औषधि वितरण गरिएको छ । बाढीपीडितमा रुघाखोकीलगायतका समस्या बढी देखिएको चिकित्सक टोलीले जनाएको छ ।
सो उपचारमा वरिष्ठ चिकित्सक डा किरण यादव, हाडजोर्नीका विशेषज्ञ डा सञ्जय साह, डा विजय भर्गिस, प्रसूतिरोग विशेषज्ञ अशोक मेहता, मेडिकल अधिकृतद्वय रुचिका बमसहित १५ जनाको टोली उपचारमा संलग्न थिए ।
यसैबीच सो अस्पतालले बाढीपीडितका लागि बहिरङ सेवा निःशुल्क गरिएको र अन्य सेवामा ५० प्रतिशत छुटको व्यवस्था गरिएको निर्देशक यादवले जानकारी गराउनुभयो । रासस