Logo

सांसद नै ठगिन्छन् ट्याक्सी चालकबाट अरूको हालत के होला ?



 

काठमाडौं ६ भदौ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनलको पार्किङमा आइपुगेका सांसद रामअयोधी यादवलाई ट्याक्सीचालकले सोध्यो, ‘कहाँ से आया ? ‘ उनले पनि चालकको मनोविज्ञान बुझेर भनिदिए, ‘बिहार से आया हुँ, मिलन चोक जाना है ।’

तीकुर्तामा ठाँटिएका उनले चालकलाई ट्याक्सीको मिटर चलाउन भने तर उसले जाम हुनेलगायत समस्या देखाएर चलाएन । उनी चुपचाप बसे । अन्नपूर्ण पोष्ट दैनिकले समाचार छापेको छ ।

चालकले विमानस्थलबाट दरबारमार्ग, माइतीघर मण्डला हुँदै बानेश्वरभित्रको मिलन चोक पुर्‍यायो । सांसद यादवले भाडा कति भयो भनेर हिन्दीमै सोधे । चालकले नौ सय माग्यो । ‘ए भाइ, म बिहारी होइन । नेपाली सांसद हुँ, ट्राफिकको डीआईजी सर्वेन्द्र खनाललाई फोन गरेर भन्छु अनि तिर्नुपरेको सबै तिरौंला’, उनले नेपालीमा भने । चालक अबचाहिँ डरायो र भन्यो, ‘होइन हजुर, त्यसो नगरौं । ३ सय दिए पुग्छ ।’

सांसद यादवले यस्तो व्यथा संसद्को विकास समिति बैठकमा सोमबार सुनाएका हुन् । ‘ट्याक्सी सेवामा गुणस्तरीयता, प्रभावकारिता एवं उपभोक्ता ठगी नियन्त्रणका लागि भएका प्रयास’ शीर्षकको बैठकमा सांसदहरूले राजधानीमा ट्याक्सी चढ्दाका तीता अनुभव पोखे ।

सांसद तुलसा राना मगरले हालै अनामनगर, हनुमानस्थानबाट अन्य ३ सांसदसहित शान्तिनगर जान खोज्दा ट्याक्सी चालक मानेनन् । नियमतः यात्रुले भनिसकेपछि चालकले उपत्यकाभित्र बाटो पुग्ने जुनसुकै ठाउँ जानैपर्छ । पहिलोले नमानेपछि मगर दोस्रो ट्याक्सीतिर गइन् । तर दोस्रो चालकले पनि मानेन ।

तीन महिनाभित्र प्रिन्टेड बिल देऊ : समिति

विकास समितिले राति तथा अस्पताल, एयरपोर्टलगायत महत्वपूर्ण स्थानमा मोलमोलाइ र ठगी बढी भएको पाइएकाले तीन महिनाभित्रै सार्वजनिक ट्याक्सीमा बिल प्रिन्टिङ सिस्टम लागू गर्न सरोकारवालालाई निर्देशन दिएको छ । समितिले सातवटै प्रदेशमा भेहिकल फिटनेस सेन्टर निर्माण गरी एक महिनाभित्रै सञ्चालन गर्न पनि निर्देशन दिएको छ ।

काठमाडौं उपत्यकाभित्र बिग्रिएका ट्राफिक लाइट मर्मतसम्भार गर्न र ट्राफिक लाइट नभएका ठाउँमा एक महिनाभित्रै जडान गरिसक्न समितिले सडक विभागको समन्वयमा ट्राफिक महाशाखालाई निर्देश गरेको छ ।



प्रतिक्रिया दिनुहोस्