Logo

चौथोपटक परीक्षा सरेपछि अस्थायी शिक्षक आक्रोशित



काठमाडौं ८ भदौ ।

कहिले कहिले तोकियो परीक्षा ?
-पहिलोपटक : १४ असार
-दोस्रोपटक : ३ भदौ
-तेस्रोपटक : १० भदौ
-चौथोपटक : अनिश्चितकालका लागि स्थगित

शिक्षक सेवा आयोगले अस्थायी शिक्षकका लागि तय गरेको परीक्षाको मिति चौथोपटक सारेको छ । पछिल्लोपटक १० भदौका लागि तय गरिएको परीक्षा पनि अनिश्चितकालका लागि स्थगित भएपछि गाउँ–गाउँबाट परीक्षा केन्द्रमा आएका शिक्षकहरू आक्रोशित भएका छन् । ५ भदौमा अविरल वर्षाका कारण असहज अवस्था सिर्जना भएको र सम्पूर्ण ध्यान राहतमा केन्द्रित भएकाले प्रधानमन्त्री कार्यालयबाट परीक्षा स्थगित गर्न आग्रह आएको भन्दै शिक्षक सेवा आयोगले मंगलबार अर्को सूचना जारी नहुन्जेलका लागि स्थगित गरेको हो ।

केही अस्थायी शिक्षक परीक्षाको तयारी साथ केन्द्रमा पुगिसकेका थिए । उनीहरु आयोगले परीक्षा स्थगित गरेपछि निराश भएका छन् । बिदा लिएर परीक्षा दिन आएका शिक्षकहरू आक्रोशित छन् । केही शिक्षकहरू भने परीक्षा सार्नुपर्ने, थप सुविधा दिनुपर्नेलगायतका माग राख्दै आन्दोलनमा उत्रेका छन् । उनीहरूले धर्नालगायतका कार्यक्रम गर्दै आएका छन् ।

शिक्षा ऐनको आठांँ संशोधनले केही अस्थायी शिक्षकलाई आन्तरिक विज्ञापनबाट स्थायी गर्ने र परीक्षामा अनुत्तीर्णलाई बिदाइ गर्ने व्यवस्था गरेको थियो । शिक्षकको आन्दोलनपछि परीक्षामा अनुत्तीर्ण भएका अस्थायी शिक्षकलाई समेत सुविधा दिने सम्झौता गरेको छ । त्यही सम्झौताअनुसार शिक्षा ऐन २०२८ को नवौँ संशोधनको तयारी गरेको छ । देशभरमा २६ हजार अस्थायी शिक्षक रहेको र अहिले १५ हजारको हारहारीले परीक्षाको तयारी गरेको बताइएको छ । नयाँपत्रिकाबाट

परीक्षाले तनाव दियो, विद्यार्थीको पढाइ प्रभावित
सरिता घिमिरे, अस्थाथी शिक्षक
राम्रो तयारी गरेकी थिएँ । ललितपुरको बागमती गाउँपालिकाबाट काठमाडौंको नेपाल आदर्श मावि परीक्षा केन्द्रमा आइसकेपछि पुनः परीक्षा स्थगित भएको खबरले दुःखी बनाएको छ । परीक्षाका नाममा विद्यालयमा पटक–पटक बिदा लिनुपर्ने र परीक्षा नहुने समस्याले विद्यार्थीको पढाइमा समेत असर पारिरहेको छ । पटक–पटक गाउँबाट आउँदा समयका साथै खर्चसमेत धेरै हुन्छ । तीन–चार महिनासम्म पनि परीक्षा नहुँदा मनमा अस्थिरता र अन्योल बढाएको छ ।

अस्थायी शिक्षकका लागि सबैभन्दा दुःखद : शिक्षक महासंघ
नेपाल शिक्षक महासंघका महासचिव तिलक कुँवरले अस्थायी शिक्षकको परीक्षा सर्नु दुःखद भएको बताएका छन् । अनिश्चितकालका लागि परीक्षा सर्नु अस्थायीलाई स्थायी नगर्ने षड्यन्त्र भएको उनको दाबी छ । अस्थायी शिक्षक संघर्ष समितिलाई अघि सारेर षड्यन्त्र भएको उनले बताए । ‘परीक्षा सर्नु अस्थायीलाई स्थायी नगराउने षड्यन्त्र हो, गोल्डेन हेन्डसेकसमेत नदिने गरी षड्यन्त्र भएको छ,’ कुँवरले भने । शिक्षा ऐन नवौंँ संशोधनका लागि विधेयक संसद्मा प्रस्तुत भए पनि छिटै पास गर्ने सम्भावनासमेत नभएको उनको भनाइ छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot