Logo

गैरपत्रकार खारेज गर्ने अभियान शुरु गर्छु: अध्यक्ष आचार्य



भक्तपुर, ८ भदौ । नेपाल पत्रकार महासङ्घका नवनिर्वाचित अध्यक्ष गोविन्द आचार्यले गैरपत्रकार खारेज गर्ने अभियान सञ्चालन गर्ने बताउनुभएको छ ।

रफत सञ्चार क्बलले महासङ्घका पदाधिकारीको सम्मानमा आज यहाँ आयोजना गरेको कार्यक्रममा उहाँले अबदेखि महासङ्घको सदस्यता वितरण एवं नवीकरणमा सार्वजनिक सुनुवाइमार्फत पत्रकार भएको पुष्टि गरेर मात्र सदस्यता वितरण गर्नेमा जोड दिनुभयो ।

अध्यक्ष आचार्यले भन्नुभयो, “पत्रकारिता पेशालाई नै शुद्धीकरण गर्न अबदेखि सार्वजनिकरुपमा सुनुवाइ गरेर मात्र महासङ्घको सदस्यता प्रदान गर्नेछौँ, यस अभियानबाटै अब गैरपत्रकार पाखा लाग्नेछन् ।” उहाँले अझै पनि पत्रकारको पेशागत र भौतिक सुरक्षा नभएको भन्दै पत्रकारको पेशागत सुरक्षालाई महासङ्घले पहिलो मुद्दा बनाउने बताउनुभयो ।

महासङ्घका उपाध्यक्ष दिलीप थापामगरले महासङ्घलाई कुनै पार्टी र व्यक्तिको घर होइन पवित्र मन्दिर बनाउने बताउँदै पत्रकारको हकहित र सुरक्षाका लागि निरन्तर संघर्ष गर्ने र प्रेस स्वतन्त्रता पहिलो मुद्दा बनाउने दाबी गर्नुभयो ।

महासङ्घका महासचिव रमेश विष्टले महासङ्घले पत्रकार र सञ्चारमाध्यम दुवै पक्षलाई सक्षम बनाएर अगाडि बढाउने बताउनुभयो । उहाँले साना लगानीका सञ्चारमाध्यमलाई सक्षम बनाएर अगाडि बढ्न सहयोग गर्ने उल्लेख गर्नुभयो ।

कार्यक्रममा नेपाल पत्रकार महासङ्घ भक्तपुर शाखा अध्यक्ष पुष्कराराज बुढाथोकी, रफत सञ्चार क्लबका अध्यक्ष सुशीलबन्धु थापाले महासङ्घले गैरपत्रकार प्रवेश गर्ने ढोका बन्द गर्दै श्रमजीवी पत्रकारको हकहितमा लागनुपर्नेमा जोड दिनुभयो । रासस



प्रतिक्रिया दिनुहोस्