Logo

विधान संशोधनका लागि एक्काइस समूह गठन



काठमाडौँ, ९ भदौ । नेकपा ९माओवादी केन्द्र० को भ्रातृ संगठन ९अनेरास्ववियु क्रान्तिकारी० को २१औँं राष्ट्रिय सम्मेलनअन्तर्गत विधान संशोधनका लागि विभिन्न २१ समूह गठन गरी छलफल शुरु गरिएको छ ।

यही भदौ ७ गतेदेखि शुरु भएको सम्मेलनमा देश तथा विदेशबाट सहभागी प्रतिनिधिका धारणा लिनका लागि ती समिति गठन भएको उपाध्यक्ष मदन अर्यालले जानकारी दिनुभयो ।

कीर्तिपुरस्थित स्मृति भवनमा भइरहेको बन्दसत्रमा अहिलेको विधानलाई राम्रोसँग अध्ययन गरी समितिले मुलुकको संरचनाअनुसार अबको संगठन समायोजन, समाजवादी शिक्षा कार्यान्वयन, मुलुकको प्राकृतिक स्रोत तथा साधनमा आधारित व्यावसायिक शिक्षालगायत विषयमा सुझाव दिने छ ।

संगठनको नेतृत्वका लागि उमेरको हदबन्दी लगाउनका लागि सहभागी प्रतिनिधिबाट सुझाव आएको बताइएको छ । ‘राष्ट्रियता र समाजवादी शिक्षाको पक्षमा हाम्रो अभियान, सुदृढ संगठन निर्माणका लागि एकताको २१औँ राष्ट्रिय सम्मेलन’ भन्ने नाराका साथ गरिएको सम्मेलनमा सुझावसहित विधान परिमार्जन भएपछि अनुमोदन गरिनेछ । सम्मेलनमा दुई हजार ७६ प्रतिनिधि सहभागी छन् ।

यही भदौ ११ गते सम्पन्न हुने उक्त सम्मेलनले सकेसम्म सर्वसम्मत तथा नभए चुनावबाट नयाँ नेतृत्व छनौट गर्ने विद्यार्थी नेता माधव पाण्डेले जानकारी दिनुभयो ।

आजको बैठकले पुरानो कार्य समिति विघटन तथा अध्यक्ष मण्डल गठन गर्नेछ । संगठनका पूर्वअध्यक्ष रमेश मल्लको नेतृत्वमा निर्वाचन समिति गठन भइसकेको छ । रासस



प्रतिक्रिया दिनुहोस्