Logo

देउवाको भ्रमणले विश्वास बढ्योः भारतीय नेताहरु



ऋषि धमला, नयाँ दिल्ली, ९ भदौं । भारतका सत्तारुढ र विपक्षी दलहरुले नेपालका प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणले दुई देशबीच विश्वासको बातावरण बनाउन सफल भएको भन्दै भ्रमण फलदायी भएको टिप्पणी गरेका छन ।

पत्रकार ऋषि धमलासँग विशेष कुराकानी गर्दै गृहमन्त्री राजनाथ सिंहले नेपालका प्रधानमन्त्री देउवाको भ्रमणले दुई देशबीच विश्वासको बातावरण बनाएको भन्दै भ्रमण सफल भएको निष्कर्स आफूहरुले निकालेको बताए ।

उनले नेपालको लोकतन्त्रलाई संस्थागत गर्ने उद्देश्यसहित हुन लागेका निर्वाचन तोकिएकै समयमा सफलता पूर्वक सम्पन्न होस भन्ने भारतको चाहना रहेको सुनाउँदै निर्वाचन सफलता पूर्वक सम्पन्न गराउन नेपाल सरकारले चाहेको सबै खाले सहयोग गर्न भारत तयार रहेको बताए ।

सत्तारुढ भारतीय जनता पार्टीका बरिष्ठ नेता मुरलीमोहन जोसीले नेपालका प्रधानमन्त्रीको जारी भ्रमणले नेपाल र भारत सम्बन्धमा नयाँ आयाम थपेको भन्दै भ्रमणले दुई देशबीच विश्वासको बातावरण बनाउँदै सुखद सन्देश दिएको बताए ।

उनले नेपालको आर्थिक विकाससहित स्थायीत्वको लागि भारतको सक्दो सहयोग रहने विश्वास ब्यक्त गर्दै नेपालमा आएको बाढी डुबानबाट भारत चिन्तित रहेकोले यसको दिर्घकालिन समाधानको लागि भारतको सहयोग सधै रहने प्रतिबद्धता ब्यक्त गरे ।

यातायात मन्त्री नितिन गडगडीले नेपालको सडक विस्तार र रेलमार्ग निर्माणमा भारतको सहयोग रहने बताउँदै पूर्वाधार विकासमा भारत सहयोग गर्न तयार रहेको बताए ।

उनले भने– नेपालीले रेल चढन पाउनु पर्छ । काठमाडौसम्म दिल्लीबाट रेल पुगोस भन्ने हामी चाहन्छौ । हुलाकी राजमार्ग पनि बेलैमा निर्माण सम्पन्न हुन्छ ।
कांग्रेस आईका नेता गुलाम अली नवाजले नेपालका प्रधानमन्त्रीको भारत भ्रमणले सम्बन्धमा सकारात्मक बातावरण बनाएको भन्दै आफूहरु नेपालको संविधान कार्यान्वयन भएर तोकिएकै मितिमा सबै निर्वाचन सम्पन्न भएर लोकतन्त्र समृद्ध होस भन्ने चाहना ब्यक्त गरे ।

उनले नेपाली जनताको बाढी र डुबानको समस्या समाधान हुनु पर्ने भन्दै त्यसकोलागि सहयोग गर्न आफूहरु सकारात्मक रहेको प्रतिक्रिया दिए ।

कांग्रेस आईका विदेश विभाग प्रमुख करण सिंहले चार पटक प्रधानमन्त्री भईसकेका शेरबहादुर देउवा अनुभवी, परिपक्व राजनीतिज्ञका साथ भारतको पुरानो मित्र भएको भन्दै देउवाले नेपालको राजनीतिक स्थायीत्व, विकास र समृद्धीको यात्रालाई अगाडि बढाउने विश्वास ब्यक्त गरे ।

उनले भ्रमणले दुई मुलुकबीचको विश्वासको बातावरण बनाउन सफल भएको भन्दै भारतले नेपालका अरु प्रधानमन्त्री भन्दा पनि देउवाबाट धेरै आशा गरेको बताए ।

राष्ट्रबादी का्रगेसका नेता डीपी त्रिपाठीले अनुभवी नेता देउवालाई सबैले विश्वास गर्ने भएकोले उनको नेतृत्वमा दुई देशबिचको सम्बन्ध र नेपालको लोकतन्त्र दुबै संस्थागत हुने विश्वास ब्यक्त गरे ।

भारतीय कम्यूनिष्ट पार्टीका माक्र्सबादीका महासचिव सीताराम ऐचुरीले नेपालका प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमण सफल भएको भन्दै यसले सम्बन्धमा रहेको दुरी घटाएको टिप्पणी गरे ।

उनले नेपालको विकास र समृद्धिमा भारतको ध्यान हुनु पर्ने भन्दै नेपालमा गणतन्त्र संस्थागत हुनु पर्ने भावना ब्यक्त गरे ।

जनता दल यूनाईटेडका उपमहासचिव केसी त्यागीले देउवाको भारत भ्रमण सफल भएको भन्दै बाढी नेपाल र विहारको साझा समस्या भएकोले त्यसलाई मिलेर दिर्घकालिन रुपमा समाधान गर्न संयूक्त संयन्त्र बनाईने बताए ।

उनले भने– बाढी नेपाल र विहारको साझा समस्या हो । देउवाजी विहार जादै हुुनु हुन्छ त्यहाँ उहाँको भब्य स्वागत हुन्छ । मुख्य मन्त्री नितिसकुमारजीसँग यो विषयमा उहाहरुबीच कुराकानी हुन्छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot