Logo

राणाले दावी गरेका नौ नेता थापकै पक्षमा



काठमाडौं, ९ भदौ । पशुपति शम्सेर राणा नेतृत्वको राप्रपा प्रजातान्त्रिकले दल दर्ताका लागि निर्वाचन आयोगमा हस्ताक्षर बुझाएका दुई सांसदसहित ९ केन्द्रीय सदस्यले आफूहरु कमल थापा नेतृत्वको राप्रपामै रहेको बताएका छन् ।

राप्रपाले शुक्रबार ९ जनालाई उपस्थित गराएर पत्रकार सम्मेलनमार्फत सो कुरा स्पष्ट पारेको हो ।

संसदीय दलको कार्यालय, सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सांसद राजेश्वरीदेवी साह र लिलादेवी श्रेष्ठका साथै केन्द्रीय सदस्य प्रहृलादप्रसाद साह, विन्दा गिरी, सविना साह, रेणु साह, निरञ्जन थापा, दिलविकास राजभण्डारी र डा.भीमसेन गुरुङ उपस्थित थिए ।

पत्रकार सम्मेलनमा रापप्रपा अध्यक्ष कमल थापाले ४० प्रतिशत नपुग्दा नपुग्दै एकलौटी र हचुवाको भरमा निर्वाचन आयोगले दल दर्ता गरेको आरोप लगाए ।

उनले राप्रपा प्रजातान्त्रिकको दल दर्ता गर्दा संविधान र सर्वोच्चको आदेशको पालना नभएको दावी गर्दै त्यसविरुद्ध आइतबार सर्वोच्च जाने बताए ।
पत्रकार सम्मेलनमा उपस्थित नेताहरुले भने आफूहरु पार्टी विभाजनको पक्षमा छैनौं भन्दाभन्दै विभाजनको बिल्ला भिराउने काम भएको गुनासो गरे ।



प्रतिक्रिया दिनुहोस्