Logo

जनसेवाका पर्याय डा. गोविन्द केसी



 

काठमाडौं १० भदौ । डा. गोविन्द केसीले टिकट काटेको माइक्रोबस उनलाई लिन बिहीबार बिहानै त्रिवि शिक्षण अस्पताल महाराजगन्ज आयो । त्यति बेला पेट दुखेर अस्पतालभित्र उनकै उपचार भइरहेको थियो ।  बनेपा–बर्दिबास हुँदै पूर्व जाने रुटको यात्रुवाहक माइक्रोबसले उनलाई करिब एक घण्टा कुर्‍यो । उनी जान उठेर आए । तर, अस्पतालका अन्य चिकित्सकले रोक्दै भने, ‘यो अवस्थामा मधेसको गर्मीमा नजानुहोस्, तपाईंकै लागि जोखिमपूर्ण छ ।’ उनले मानेनन् । सप्तरीको दलित बस्तीमा गएर बाढी प्रभावितलाई लागेको रोगब्याधीको उपचार गरेरै छाड्ने अडान राखे । अन्तत: चिकित्सकले सल्लाह दिए, ‘त्यसो भए जहाज चढेर विराटनगर हुँदै जानुहोस् । लामो घुम्ती बाटो गाडीमा नहिँड्नुहोस् ।’ त्यतिचाहिँ उनले स्विकारे । उनको टोली माइक्रोबसबाट यता आयो, उनी जहाजबाट ।

बिहीबार बेलुकीपख सप्तरी आइपुगेका उनी शुक्रबार बिहान ९ बजेदेखि स्वास्थ्य शिविरमा सहभागी भए । साथमा सहयोगी चिकित्सकहरू नभएका होइनन् । तैपनि मुख्य रूपमा उनी नै खटे । आमरण अनशन स्थगनको ९ दिन आराम गरेपछि डा. केसी सप्तरीमा स्वास्थ्य शिविर चलाउन आइपुगेका हुन् । २३ दिन अनशन बसेपछि बाढीपहिरोका कारण भएको असामान्य अवस्थालाई ध्यान दिँदै उनले
आफ्ना माग पूरा नभए पनि अनशन स्थगन गरेका थिए । तिनै बाढीपीडितको उपचारार्थ आफ्नै स्वास्थ्य जोखिममा पार्दै उनी यहाँको दलित बस्ती आइपुगेका हुन् ।  कान्तिपुरले लेखेको छ । 


बायाँ हातमा केनुला लगाएकै अवस्थामा उनले यहाँको बस्तीमा शुक्रबार उपचार सेवा दिए । दिनभरिमा कम्तीमा ५ सय जनाले सेवा लिए । पेटको माथिल्लो भागमा दुखेकाले डा. केसी बिहीबार ५ घण्टा शिक्षण अस्पतालमा भर्ना भएर दिउँसो विराटनगरतर्फ उडेका थिए । बिरामी जाँच्दा पसिनैपसिना भए पनि यी त्यागी चिकित्सकको अनुहारमा भने अनौठो स्नेह झल्किन्थ्यो । बिहान ९ बजे सुरु भएको उनको स्वास्थ्य परीक्षण साँझ ५ बजे मात्र रोकियो । त्यसबीच उनले सहकर्मीको अनुरोधमा २ पटक क्यान जुस पिए । ठोस खाना केही खाएनन् ।
स्वास्थ्य शिविर यस्तो गाउँमा राखिएको थियो, जहाँ पौडा र बान्द्रा खोलाको बाढी हरेकको घरमा पसेको थियो । स्थिति विस्तारै सामान्य हुन थाले पनि यहाँका बासिन्दा रोगब्याधीले थलिन थालेका छन् । शिविरमा ज्वरो, रूघाखोकी, छालाका समस्या, पेट, फोक्सोलगायत विभिन्न रोगका पीडित सेवा लिन आइपुगेका थिए । तिनलाई सेवा दिँदादिँदै डा. केसी बेला–बेला आफ्नै स्वास्थ्य पनि असहज महसुस गर्थे । त्यतिबेला सहकर्मी र विद्यार्थीले उनलाई आराम गर्न भन्थे । उनी भने बिरामी जाँच्न अग्रसर भइहाल्थे । बिहीबार राति कञ्चनरूपमा बास बसेकै ठाउँमा उनलाई स्लाइन चढाउनुपरेको थियो । पेटको दुखाइका लागि औषधिसमेत दिइएको थियो । शुक्रबार बिहान उठ्दा भने उनी फुर्तिलो देखिन्थे ।

डोम, चमार (राम), सदा, सरदारलगायतको बाहुल्य रहेको यो बस्तीको जनसंख्या करिब साढे ४ हजार छ । ‘डाक्टर साबको नाम पहिल्यैदेखि सुनेको थिएँ, आज भेट्न र उपचार लिन पाएँ,’ स्थानीय ७४ वर्षीय भोला चौधरीले भने, ‘भगवानै आएजस्तो लाग्यो ।’ बाढीमा भाग्ने क्रममा लडेर उनको खुट्टामा चोट लागेको थियो । उक्त घाउ निको हुनुको साटो झन्झन् बढ्दै गएको थियो । डा. केसीले उपचार गरे र उनलाई औषधि दिए ।

डा. केसीको टोलीमा उनीबाहेक ३ चिकित्सक छन्, डा. श्रृष्टि उपाध्याय, डा. कश्यप श्रेष्ठ र एमबीबीएसका विद्यार्थी नारायण कँडेल । डा. केसीले अझै पनि हातमा लगाएको केनुलाको सहयोगमा नसाबाट औषधि लिइरहेका छन् । खाने औषधिले काम नगरेका कारण नसाबाट लिनुपरेको हो । शनिबार कञ्चनरूपकै बैरहवामा उनको स्वास्थ्य शिविर र राहत वितरण कार्यक्रम छ । केसीले आफ्नै खर्चमा राहत सामग्री र औषधि किनेर ल्याएका हुन् । उनले बालबालिका र वृद्धवृद्धाका लागि लुगाफाटा, खाद्यान्न, साबुन, टुथपेस्टलगायत सरसामान पनि किनेर ल्याएका छन् । ती सामान पनि शिविरबाटै वितरण गरेका छन् ।

बिहीबार साँझ कञ्चनरूपमै पनि उनले करिब ३० हजार रुपैयाँको लुगाफाटा किने । काठमाडौंबाटै १ लाख रुपैयाँभन्दा बढीको राहत सामग्री र औषधि ल्याएका थिए । उनी कञ्चनपुरको सामान्य एन्जेला होटलमा बसेका छन् । उनले बिहान र बेलुका जाउलो खाए । ६२ वर्षीय केसी आफ्ना लागि भने खासै खर्च गर्न नरुचाउने उनका निकटवर्तीहरू बताउँछन् । ‘कन्जुस्याइँ गरेर पैसा जोगाउनुहुन्छ र यस्तैमा खर्च गर्नुहुन्छ,’ टोलीका कँडेलले भने । खर्च बढी हुन्छ भनेरै उनले राजधानीबाट सार्वजनिक माइक्रोबसमा टिकट काटेर आउन चाहेका थिए । ‘जहाजमा जाँदा धेरै खर्च लाग्छ भनेर उहाँले टिकट काट्नुभएको थियो’, उनले भने, ‘बाध्य भएर प्लेनमा आउनुभयो ।’



प्रतिक्रिया दिनुहोस्