Logo

चुरे क्षेत्रको संरक्षण गर्नुपर्छ: सचिव ज्ञवाली



काठमाडौँ, १० भदौ । नेकपा एमालेका सचिव प्रदीप ज्ञवालीले तराई क्षेत्रको सुरक्षाका लागि चुरे क्षेत्रको संरक्षण गर्नुपर्ने आवश्यकता औल्याउनुभएको छ ।

सुलक्षणकीर्ति विहारद्वारा सर्लाहीका बाढी प्रभावितलाई राहत उपलब्ध गराउन आज यहाँ आयोजित कार्यक्रममा उहाँले चुरेको विनाशले जलवायु परिवर्तनमा असर पार्ने तथा वर्षा र बाढी पहिरोको जोखिम बढ्ने खतरा देखिएको बताउनुभयो ।

सचिव ज्ञवालीले डुबानका कारण मृत्यु भएको बालकको अन्त्येष्टि गर्न नसकेर बगाउनुपर्ने अवस्थाप्रति दुःख व्यक्त गर्दै “भारतले एकतर्फी बाँध बाँधेका कारण नेपालमा वर्षायाममा बाढीको समस्या हुने गरेको छ,” भन्नुभयो ।

सरकारले कूटनीतिक माध्यमबाट दुवै मुलुकको समन्वयमा वैज्ञानिक ढङ्गबाट बाँध लगाउनका लागि आवश्यक वातावरण मिलाउनुपर्नेमा उहाँले जोड दिनुभयो ।

सोही पार्टीका सचिवालय सचिव कृष्णगोपाल श्रेष्ठले पीडितलाई सहयोग गर्ने उद्देश्यले विहारले उपलब्ध गराएको सहयोगको सराहना गर्नुभयो ।

विहारका प्रमुख डा अनुजाले त्यस क्षेत्रका प्रभावितले दुःख पाइरहेको समाचार टेलिभिजनमा हेरेपछि स्वदेश तथा विदेशमार्फत सहयोग जुटाएको जानकारी दिँदै बुद्धको शिक्षामा दुःख पाएका पीडितलाई प्राथमिकतामा राखेर सहयोग गर्ने सन्देश रहेको र त्यसलाई व्यवहारमा उतार्न राहत संकलन गरी वितरणका लागि व्यवस्था मिलाइएको बताउनुभयो ।

विभिन्न खाद्य तथा लत्ता सामग्री गरी करिब रु पाँच लाख बराबरको सो राहत सामग्री स्थानीय प्रशासनसँग समन्वय गरी वितरण गरिने जनाइएको छ । रासस



प्रतिक्रिया दिनुहोस्